धरान: गीत,संगीतको माध्यमबाट समाजको विकृति, विसंगतिविरुद्ध अभियान छेड्ने हिमायती साँस्कृतिक परिवारले आफ्नो तेस्रो बार्षिकोत्सव तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

सुनसरीको शंकरवेली सिमसारमा आयोजित कार्यक्रम हिमायतीका अध्यक्ष हर्क चुम्मेको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि संस्थाका संरक्षक एवं पुर्वमेयर मनोजकुमार मेन्याङ्बो थिए । प्रमुख अतिथि मेन्याङ्बोले पञ्चायतीकालमा हिमायतीले गाउँ,वस्तीमा सांगीतिक अभियानमार्फत पुर्वमा जागरण ल्याएको स्मरण गरे । उनले भने,‘त्यो बेला गीत,संगीतको माध्यमबाट दमन, अन्याय, अत्याचारविरुद्ध हिमायतीले सचेत गराउथ्यो, पञ्चायती व्यवस्था ढाल्न हिमायतीको ठुलो योगदान छ ।’

उनले अहिले अधिकार पाएपनि नेपालीहरुमा कर्तव्य र दायित्वबोध नभएकोप्रति चिन्ता पनि व्यक्त गरे । कर्तव्य र दायित्वप्रति सचेत नभएसम्म आफुले चाहेजस्तो देश र समाज निर्माण गर्न नसक्ने पुर्वमेयर मेन्याङबोले बताए । स्वागत मन्तव्यको क्रममा हिमायतीका सुरेश श्रेष्ठले गीत,संगीतको माध्यमबाट समाजको विकृति, विसंगतिविरुद्ध हिमायतीले अभियान छेडेको र अहिलेसम्म जारी रहेको बताए ।

himayati5

साधारणसभामा कोषाध्यक्ष गणेशकुमारी राईले तिहारमा ३ दिन देउसी खेलेर ९३ हजार ६ सय ४० रुपैया संकलन भएको र हालसम्म विभिन्न खर्च कटाएर ५३ हजार ६ सय ४० रुपैया बचत रहेको जानकारी दिइन् । यस्तै, सोही कार्यक्रममा हङकङ हिमायतीका किसोर श्रेष्ठले १० हजार र सरोज थापाले ५ हजार रुपैया पनि संस्थालाई प्रदान गरेका थिए । कार्यक्रममा कलाकारहरु सुरज मेवाहाङ राई, जीवन भटराई, जुनु खुलाल, माधव राई, पञ्चवीर लिम्बु, किसोर श्रेष्ठलगायतले पनि गीत प्रस्तुत गरेका थिए ।

हिमायतीको जन्म निरंकुश पञ्चायतीकालमा भएको थियो । त्यसबेला जनतालाई बोल्ने, लेख्ने छुट थिएन । राजनैतिक स्वतन्त्रता पनि थिएन । जनतामाथि राज्यको क्रुर दमन थियो । यस्तो बेला करिब ४० को दशकमा धरानका युवाहरुले हिमायती साँस्कृतिक परिवार गठन गरेर निरंकुशताविरुद्ध साँस्कृतिक, सांगीतिक अभियान छेडेका थिए । उनीहरु गाउँ वस्तीमा पुग्ने, र आफ्नो सांगीतिक अभियानमार्फत जनतामा निरंकुशता, दमन, अत्याचारविरुद्ध चेतना छर्थे, जागरुक बनाउथे ।

खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा..जस्ता लोकप्रिय जनवादी गीतहरु गाउदै वस्ती उठाउथे । पञ्चायती व्यवस्था ढल्नुमा हिमायतीको पनि ठुलो योगदान छ । प्रजातन्त्र स्थापनापछि भने यही हिमायती विस्तारै निष्क्रिय हुदै गएको थियो । तर, केही बर्षअघि पुराना हिमायतीकर्मीहरु संगठित भएर पुनः संस्था दर्ता गरे । त्यसपछि हिमायतीले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । हिमायतीको वृत्तचित्र तयार गरेर हङकङमा पनि प्रर्दशनी भइसकेको छ ।

himayati7 himayati2 himayati4 himayati1