ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा विवाहित महिला बेचबिखनमा बढी पीडित शीर्षकको समाचार छापिएको छ । विवाहित नेपाली महिलाहरु बेचबिखनमा बढी पर्ने गरेको पाइएको छ । नाकामा निगरानी, सचेतना अभियानले नेपाली चेलीबेटी बेचबिखनमा कमी आए पनि विवाहित महिलाहरु राजीखुशीले जाने गरेका कारण संख्या बढेको देखिन्छ । समस्यामा रहेका विवाहिता महिलालाई वैदेशिक रोजगारको बहानामा राजीखुशी बनाएर लाने गरेकाले नियन्त्रण चुनौतिपूर्ण बनेको जानकारहरु बताउँछन् । बहानामा फस्ने महिलालाई दलालले भारतलगायतका देशमा बिक्री गरिरहेको माइती नेपाल विराटनगर शाखाले जनाएको छ । वैदेशिक रोजगारमा राजीखुशी जाने विवाहिताहरु ब्ढी भारतमा बेचिने गरेको माइती नेपाल विराटनगर शाखा प्रमुख विनोद पोख्रेल बताउँछन् । वैदेशिक रोजगारको बहानामा दलालहरुले नेपाली चेलीहरु भारतको पटना र दिल्लीमा बिक्री भइरहेको पोखरेलले बताए । नाकाबाट जाने महिलाहरु राजीखुशी जाने भएकाले सबैको उद्दारमा कठिनाई भएको उनको अनुभव छ ।

यसैगरी आजकै ब्लाष्टमा किमाथांकामा खाद्यान्न अभाव शीर्षकको समाचार पनि छापिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयत्न गरिरहेको चीन सरकारले नेपालसँग जोडिएका नाकाहरु बन्द गर्दा संखुवासभाको किमाथांकामा खाद्यान्न अभाव भएको छ । किमाथांकाबाट तीन दिनदेखि तिब्बतर्फको आवतजावत बन्द गरिएको छ । खाद्यान्न लगायत अधिकांश उपभोग्य वस्तु चीन तर्फबाट आपूर्ति गर्दै आएको किमाथांका र आसपासका नेपालीहरुलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुको अभाव शुरु भएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । केशीदिन नाका बन्द भए ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा पनि खाद्यान्न अभाव शुरु हुने मन्त्री कार्कीले बताए । उत्तरी सिमानाका बस्तीहरुमा खाद्यान्न अभाव शुरु भएको सुचनासँगै प्रदेश सरकारले खाद्यान्न आपूर्तिको प्रबन्ध मिलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । किमाथांकाका लागि संखुसभाको खादबारीबाट खाद्यान्न पठाउन शुरु गरेको मन्त्री कार्कीले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा मोरङ सुनसरी औद्योगिक करिडोरमा रोजगारीको अवसर शीर्षकको समाचार छापिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा मोरङ सुनसरी औद्योगिक करिडोरको उद्योगमा एक हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ । तालिमसहितको रोजगारी दिने सम्झौतापत्र मंगलबार आदान प्रदान सम्पन्न भएको हो । ग्रामिण उद्यम तथा विप्रशन आयोजनाका प्रबन्धक सरोजप्रसाद गुरागाई र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समतिका कार्यबाहक अध्यक्ष एवं प्रदेश सांसद लिलम बस्नेतले सम्झौतापत्र आदान प्रदान गरेका हुन् । आयोजना अन्तर्गत र्कास्थलमै तालिम प्राप्त गरेका त्यस्ता जनशक्तिालाई सुनसरी मोरङका विभिन्न ६ उद्योगले रोजगारी दिने समझदारी पत्रमा हस्ताक्षर भएको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए । उद्योगहरुलाई आवश्यक दक्ष कामदारको अभाव टार्नका लागि पहिलो चरणमा यस्तो सम्झौता गरिएको उनले जानकारी दिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा हात्तीपाइलेको उच्च जोखिममा धनकुटा शीर्षकको समाचार छापिएको छ । धनकुटामा ९ वर्ष अघिदेखि हात्तीपाइले रोगको औषधी खुवाउन थाले पनि अझै केही क्षेत्रहरु रोगको उच्च जोखिममा रहेको पाइएको छ । औषधी सेवन नगर्दा धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुर रोगको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय धनकुटाले सार्वजनिक गरेको एक तथ्यांकमा औषधी सेवन गर्नेको संख्या धेरै देखिएता पनि थोरै मात्राले औषधी खाएको सर्वेक्षणमा देखिएको जनाएको छ । औषधी सेवन नगरेका कारण धनकुटाको महालक्ष्मी नगरपालिक जितपुर हात्तिपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम औषधी सेवन अभियान २०७६ को अभियान अन्तर्गत पत्रकार संगको अन्तरक्रियामा जितपुरमा ७ जनामा रोगको जिवाणु भेटिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरगाईले बताए ।