ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स प्रेमीले बेच्न भारत पुर्याएपछि... शीर्षकको समाचार छापिएको छ । चोखो माया गरेको प्रेमीले बेच्ला भनेर कसले कल्पना गरेको हुन्छ ? यस्तै नसोचेको घटना व्यहोर्नु पर्यो मोरङको धनपालथान गाउँपालिकाकी १७ वर्षीया एक किशोरीले । मन र मुटु दिएको प्रेमी २२ वर्षीय सञ्जय मण्डलले आफ्नो भिनाजुसँग मिलेर विवाहको बहाना बनाई भारतमा पुर्याएर बेच्न खोजेको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका ६ कदमाहाका ३८ वर्षीय जगतनारायण मण्डललाई पक्राउ गरेको छ । सञ्जय हाल फरार छन् । पक्राउ परेका जगतनारायण सञ्जयका भिनाजु हुन् । जगत पक्राउ परेपनि सञ्जय फरार भएकोले उनको खोजी कार्य तीब्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।

आजको ब्लाष्टमा स्वर्गपुरी सहकारीद्वारा खाता अपचलन शीर्षकको समाचार पनि छ । झापाको दमक ६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था लि.का बचतकर्ताहरुले लामो समयदेखि बचत रकम फिता पाउन सकेका छैनन् । बचतकर्ताले रकम फिर्ता त पाएनन् नै । अझ आर्थिक अनियमितता र बचतकर्ताको खाता नै अपचलन गरेको समेत तथ्य फेला परेको छ । केही महिनाअघि विवादमा आएको सहकारी हो स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था लि. दमक । दमक बजारमा कार्यालय रहेको सो सहकारीमा कतिजना शेयर सदस्य छन् भन्ने स्पष्ट तथ्यांकसमेत छैन भने सञ्चालक समिति पनि छैन । यहाँ कार्यरत कर्मचारीले बचतकर्ताको रकम हिनामिना गर्ने र खाताको दुरुपयोगसमेत गरेको प्रमाण फेला परेको छ । बचतकर्ता दिपु चापागाईले बचत गरेर राखेको रकम उनले थाहै नपाई सहकारीका व्यवस्थापक सोगनप्रसाद राजवंशीले पटक पटक निकालेको पाइएको छ । २०७५ साल असार १३ गते जम्मा भएको १ लाख ६५ हजार सोही दिन संस्थाका व्यवस्थापक राजवंशीले निकालेको पाइएको छ । त्यति मात्र होइन, व्यवस्थापक राजवंशीले पटक पटक गरी १९ पटक चापागाईलाई जानकारी नै नगराई पैसा निकालेर खाताको अपचलन गरेका छन् । आफ्नो खाता अपचलन भएपछि चापागाई आक्रोसित भएका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा किमाथांकामा खाद्यान्न अभाव शीर्षकको समाचार छापिएको छ । किमाथांका नाका चिनले बन्द गरिदिएपछि किमाथांका र आसपासका गाउँमा खाद्यान्न अभाव देखिएको छ । कोरोना भाइरसको महामारी तिब्बतको चाँगा र देन्दाङमा नदेखिए पनि चीनले सुरक्षा सर्तकता अपनाएको छ । त्यसैले किमाथांकामा खाद्यान्न अभाव भएको हो । किमाथांका तिब्बती बजार चाँगाको भरमा छ । किमाथांकाका निमा भोटका अनुसार नाका बन्द भएपछि समस्या भएको छ । उनले भने, ‘हामी चागाँबजारमा छौं, त्यहाँबाट खाद्यान्न आएन भने हाहाकार मच्चिन्छ, सदरमुकामबाट खाद्यान्न ल्याउन सक्ने सम्भावना छैन ।’सदरमुकाम खाँदबारीबाट सेनाको हेलिकप्टरबाट ल्याएको खाद्यान्नले १० देखि १५ दिनसम्म मात्रै धान्ने पनि उनले बताए । किमाथांकामा ४ सय ३०, छिमेकी गाउँ छुमसुरमा ८४, रिदाकमा ४ सय ४१ र थुदाममा ४२ जना बसोबास गरिरहेका छन् । उनीहरुमध्ये किमाथांकाका लागि मात्रै खाद्यान्न लगिएको हो । बाँकी गाउँमा पैदलमार्गबाट खाद्यान्न पठाइने निमाले बताए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा फुटबल रेफ्रि लाइसेन्स अनिवार्य शीर्षकको समाचार छापिएको छ । नेपाली फुटबल खेललाई पूर्ण व्यवसायिक बनाउन अखिल नेपाल फुटबल संघले फुटबल खेल आयोजनाका लागि नयाँ नियम लागू गर्ने भएको छ । अब विद्यालय तह देखि गोल्डकप सम्मका फुटबल प्रतियोगितामा एन्फाको लाइसेन्स प्राप्त रेफ्रीले मात्र निर्णायकको भूमिका गर्न पाउने छन् । एन्फाको जानकारी बिना जथाभावी आयोजना गरिने फुटबल प्रतियोगिताहरुमा एन्फाबाट लाइसेन्स प्राप्त रेफ्र जान पाउने छैन । नेपाली फुटबलको खस्कदो अवस्थालाई माथि उठाउन खेलाडि र रेफ्रीलाई पूर्णत व्यवसायिक बनाउन एन्फाले नयाँ अभियान सुरु गरेको एन्फा केन्द्रिय तथा प्रवक्ता किरण राईले बताएका छन् ।