इटहरी : ९९ वर्ष पुगेका बलधोज विष्ट अझै पनि तगडा छन् । पूर्व पश्चिम राजमार्गबाट ५ सय मिटरको उत्तरमा बस्छन् उनी । उनका छोरा,नाती सबै मजदुरी गर्छन् ।

पछिल्लो समय कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनको कारण कसैले पनि मजदुरी गर्न पाएका छैनन् । आम्दानी कुनै श्रोत छैन । खोलामा बालुवा बिक्री गर्ने नाति अहिले घरमै थन्कीएर बसेका छन् ।

स्थानीय सरकार राहत वितरण अभियानमा लागेको छ । केही दिन अगाडी उनको घरै अगाडीबाट दुई गाडी राहत लगियो । तर उनको घरमा राहत छिरेन । घरमा चामल दाल सकिँदै गएको छ ।

आम्दानीका सम्पूर्ण श्रोत बन्द भए पनि उनको वृद्ध भत्ता भने बन्द भएको छैन । उनी र उनकी श्रीमतीको वृद्ध भत्ताले सङ्कटको बेला ठुलो राहत मिलेको छ । वृद्ध भत्ता बचत गरेर राखेकोले अहिले खान पाएको बलध्वज बताउँछन् ।lockdown--Tension-2

राहत कत्तिको आएको भन्दा उनी आक्रोशित हुन्छन् । ‘केको दिन्थ्यो हामीलाई, दिन्छ के त हेपेर । हामीलाई टेरेन ।

’केही समयको मौनता पछि उनी फेरी भन्छन्, ‘भोट माग्ने बेला घर बनाइदिन्छु भन्थे । ढाँटेर मरे । यस्तो बुढो भाको मान्छे लाई किन ढाँट्नु ? पहिलो भत्ता लिने ठाउँ पनि नजिक थियो । अहिले टाढा बनाइदियो । त्यो एमालेलाई भोट हालेको थिए अब त हाले पो । भोट माग्न त आओस् न अनि जान्या छ ।’

बलध्वज बाजे मात्रै हैनन् लकडाउनको समयमा धेरै गरिबहरू आक्रोशित छन् । जनप्रतिनिधिले वास्ता नगरेकोमा दुखित छन् उनीहरू । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मरीक टोलमा त्यस्तै असन्तुष्टिको स्वर सुनिन्छ । सोही टोलको पूर्वपट्टि बाट बग्ने गछीया खोला नै उनीहरूको गुजाराको मुख्य श्रोत थियो ।

पछिल्लो समयको लकडाउनले गर्दा गाडी बन्द छ । खोलामा चालेको बालुवा कुन दिन बगेर जाने हो ठेगान छैन । सडक बाटो बन्द छ त्यो सँगै उनीहरूको गाँस पनि बन्द हुने अवस्थामाछ । पहिलो चरणको राहत वितरण भइसकेको र दोस्रो चरणको राहत बाढ्ने प्रक्रियामा स्थानीय सरकार लागी परेको छ । तर बलध्वज लगायत मरीक टोलवासी राहतको पर्खाइमै बसेका छन् ।

‘हामी त सौताका छोरा हुम् की ! किन हो छुट्टाउन पर्ने ? घरमा चामलको गेडो छैन बालुवा खाने कुरा आएन ।,’ स्थानीय बिन्द्रमान राईले भने । बिन्द्रामानको कुरा सकिन नपाउँदै छेवैमा तास हेरिरहेका सबैले एकै स्वरमा राहतमा विभेद भएको बताए । एकघरमा ३ देखी ५ जनाको परिवार छ । आफू खान नपाए पनि छोराछोरीलाई खुवाउन पाए आनन्द हुने बताउँछन् बिन्द्रमान ।

अर्का युवा मनोज परियारले थपे, ‘के गर्नु सर बिजोग छ । बालबच्चा बिरामी हुन्छन् । औषधी किन्ने पैसा छैन । कसैसँग ऋण गरौँ भने यो बेला कसले देला । ठुला साहुकोमा जान पाइँदैन । डाक्टरले पौष्टिक खुवाउनु भनेको छ । घरमा चामल छैन के खुवाउने होला सर !’

५ दिन अगाडी स्थानीय युवा रोशन लिम्बुले केही राहत दिएका थिए । उनले दिएको ५ केजी चामलले केही दिन राहत भएको मिना तामाङ बताउँछिन् । ‘अब फेरी आउँछ त भन्दैछन् तर के गर्नु चुलो बल्नै छाडिसक्यो ।,’ उनले भनिन्, ‘अस्तीपनि नेताहरू आका थिए । तर चोरेर ल्याएको जस्तो कसैले देख्ला कि जस्तै गरेर फनक्क फर्काएर लगे ।’

‘बालुवा बेचेर दुखसुख खाइएकै थियो ।, उनले थप सुनाइन् , ‘अब त्यही बालुवा खाने बेला भएको छ । के हैजा आयो यो आपतको बेला ।’ अब केही दिन पनि यसै गरी बित्यो भने खानै नपाएर मरिन्छ होला भनेर चिन्तित छन् उनी ।

lockdown-Khola-1

उनीहरूको खेतीपाती भनेकै गछीया खोला हो । असार देखी खोलामा बालुवा निकाल्न पाइँदैन । त्यसैले आधा पेट खाएरै भए पनि धमाधम बालुवा चालिरहेका छन् उनीहरू । लकडाउन खुले देखी त्यही मौकामा बालुवा बेचेर जोहो गर्ने धुनमा छन् उनीहरू ।