नेपालले बिस्तारै विकासको गती लिइरहेको छ । विकास भन्ने वित्तिकै प्राकृतिक श्रोतहरुको उपयोगको कुरा आउछ । प्राकृतिक श्रोतको कसरी र कुन हदसम्म उपयोग गर्ने भन्ने विषयका कारण सधैँ विकास र संरक्षणवीच द्वन्द चलिरहन्छ । तर यो द्वन्द धेरै समय टिक्ने संभावना देखिदैन । कारण, विकास र प्रविधिले निम्त्याएको विश्वव्यपि विनाश ।
अब विकासमा मात्र केन्द्रित हुनेभन्दा बढी विकासलाई कसरी वातावरणीय हिसाबले दिगो बनाउन सकिन्छ भन्ने तिर विश्व उन्मुख हुन थालिसकेको छ । त्यसैले सन २०३० भित्र दिगो विकासका लक्ष्यहरु हासिल गर्न संयुक्त राष्ट्र संघका सम्पुर्ण पक्ष राष्ट्रहरु लागिपरेका छन् । नेपालको सन्दर्भमा हेर्दा दिगो विकास हासिल गर्न सबैभन्दा ठूलो भूमिका स्थानीय सरकारहरुको देखिन्छ । शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापारिक पूर्वाधारको केन्द्रको रुपमा स्थापित हुदै आगाडि बढिरहेको धरान उपमहानगरपालिकाले दिगो विकासका लक्ष्यहरु हाँसिल गरी सुखी र समृद्ध शहर बन्ने हो भने वातावरणका क्षेत्रमा धेरै कामहरु गर्नुपर्ने देखिन्छ ।
वर्तमान स्थिति
हुन त, वातावरणीय हिसाबले धरान नेपालका अन्य शहरहरु भन्दा तुलानात्मक रुपमा राम्रो देखिन्छ । यसो हुनुमा यहाँको ऐतिहासिक विकासक्रम, भू-उपयोग, साक्षरता, लगायतलाई जोड्न सकिन्छ । धरान उपमहानगरपालिकाको करिब ७०.२ प्रतिशत भू-भाग वन जंगल, 23.87 प्रतिशत खेती योग्य जमिन, ३.६९ प्रतिशत जलस्रोत तथा नदी, र 1.79 प्रतिशत बसोबास क्षेत्रले ढाकेको छ । शहरी हरियालीको अवस्था पनि सन्तोषजनक नै छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार धरान उप-महानगरपालिकाको साक्षरता दर ८३.९३ प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसत भन्दा धेरै माथि हो । शैक्षिक स्तरले कुनै पनि स्थानको स्वास्थ्य तथा वातावरणीय अवस्थामा सुधार गर्न तथा समुदायलाई परिवर्तनशील बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । यहाँ पनि यसको योगदान हुनसक्छ । तर यी सैदान्तिक कुराहरुलाई छोडेर वैज्ञानिक अनुसन्धानका तथ्यहरु हेर्ने हो भने फोहोरमैला व्यवस्थापन, प्रदुषण, पानीको संकट, प्राकृतिक विपद् र प्राकृतिक श्रोतहरुको अवैध दोहन यहाँका प्रमुख वातावरणीय समस्याहरु हुन् ।
धरान उप-महानगरपालिकाको वातावरण प्रदुषण गर्ने विभिन्न कारणहरु मध्ये उपमहानगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोरमैलाको उचित व्यवस्थापनको अभाव पनि एक प्रमुख कारण रहेको छ । दैनिक यस उपमहानगरपालिकाबाट करिब ३६.३८ टन ठोस फोहोरमैला निष्कासन हुने गर्दछ । जस मध्ये ५७ प्रतिशत फोहोर कुहिने र बाकी नकुहिने प्रकृतिका छन् । हाल फोहोर व्यवस्थापनका लागि सेउति खोला किनारको खाली भागमा फोहोर डम्पिङ गर्ने गरिएको छ । उचित ल्यान्डफिल साइटको अभावमा फोहोरको दिगो व्यवस्थापन हुन सकिरहेको छैन भने फोहोर जलाउने कार्यले वायु प्रदुषण बढाइरहेको छ ।
काठमाडौँ, लुम्बिनी लगायतका शहरहरुमा वायु प्रदुषणको अवस्था विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा करिब आठ गुणा बढी पाइएको छ । धरानको हकमा वायुको गुणस्तर के कस्तो छ ठ्याक्कै भन्न सकिदैन । किनकी यहाँ वायु प्रदुषण मापनको लागि आवश्यक उपकरण तथा मनिटरिङ स्टेसनको अभाव छ र वायु प्रदुषणको निरन्तर अनुगमन भईरहेको अवस्था छैन ।
धरान जस्ता शहरहरुमा बढ्दो जनसंख्याका कारण पानीका स्रोतहरुले अत्याधिक चाप व्यहोर्नु परिरहेको छ । दुई लाख भन्दा बढी जनसंख्या भएको धरानमा प्रति दिन तिन करोड लिटर पानीको माग रहेकोमा नेपाल खानेपानी संस्थानले १ लाख ५० हजार लिटर मात्र उपलब्ध गराइरहेको छ । धरानको खानेपानीको मुख्य स्रोत सर्दु खोलाले बर्खामा ६० प्रतिशत र हिउँदमा २५ प्रतिशत मागलाई मात्र धानेको छ । त्यसैले पछिल्लो समयमा भूमिगत पानीको दोहन तथा प्रयोग बढ्दो छ । ईभाईरोमेन्ट, डेभलोपमेन्ट एन्ड सस्टेनेबिलिटी जर्नलमा हालै प्रकाशित एक अनुसन्धानका अनुसार धरान उप-महानगरपालिकाका करिब ३५ हजार नागरिकहरुले पानीको संकट व्यहोर्नु परेको अवस्था छ । एक त धरानमा खानेपानीको अभाव छदै छ, त्यसमाथि पनि भएका पानीका मुहानहरुको गुणस्तर सन्तोषजनक देखिदैन ।
नारायण दत्त पन्तको अध्ययन टोलिले सन् २०१६ मा धरानका खानेपानीका स्रोत तथा भण्डारण ट्याङ्कीमा पानीको गुणस्तरको अध्ययन गरेको थियो । उक्त आध्ययन अनुसार पाँच मध्य तिनवटा पानीका स्रोतहरुमा र तिन मध्य प्रत्येक एक भण्डारण ट्याङ्किमा दिशामा पाइने फिकल कोलिफम नामक जीवाणु पाइएको थियो । यी सबै तथ्यले धरानमा खानेपानीको परिमाण र गुणस्तर दुबैका लागि धेरै काम गर्नुपर्ने देखाउदछ ।
धरान उपमहानगरपालिका यसको भौगोलिक अवस्थितिका कारण बहुप्रकोपीय जोखिम क्षेत्रमा पर्दछ । शिवालिकको फेदिमा पर्ने भएकाले यहाँको भूगोल कमजोर चट्टानले बनेको छ । धरानको उत्तरी भागमा मेन बाउन्ड्री थ्रष्ट पूर्व-पश्चिमतिर फैलिएको छ जुन भूकम्पिय दृष्टिकोणले एकदमै सक्रिय हुन्छ र यसले कुनै पनि बेला ठूलो भूकम्प निम्त्याउन सक्दछ । त्यसैले पुरा शहर नै भूकम्पीय जोखिममा पर्दछ । सेउती र सर्दु खोलाको थेग्रनमाथि बिस्तार भइरहेको यो शहरमा बाढीको जोखिम पनि उत्तिकै छ भने उत्तरपुर्वी भागमा पहिरोको समस्या देखिन्छ ।
अमेरिकाको भर्जिनिया टेकका अनुसन्धानकर्ताहरुले धरानमा गरेको एक अध्ययनले सेउती खोलाको पूर्वीतटीय क्षेत्र र सर्दु खोलाको दक्षिणपश्चिम क्षेत्रमा बहुप्रकोपीय (बाढी, पहिरो र भूकम्प) जोखिम उच्च रहेको र धरानको बिच र पश्चिम भागमा न्युन रहेको देखाउछ । आगलागी, हावाहुरी, चट्याङ्ग, शितलहर जस्ता प्रकोप पनि धरानका लागि नौला भने होइनन् ।
स्थानीय सरकारहरुले प्राकृतिक स्रोतहरुको परिचालन गरी राजस्व बृद्धि गर्ने रणनीति लिएसँगै नदीजन्य पदार्थहरुको उत्खनन् बढेको छ । धरान उपमहानगरपालिका भित्र पर्ने सर्दु, सेउती, सेहेरा, पटनाली र अधेरी खोलाबाट व्यवस्थित रुपमा नदीजन्य पदार्थहरुको उत्खनन् गर्ने हेतुले प्रारम्भिक वातावरणीय अध्ययन भइसकेको छ । तर पछिल्लो समयमा यस उपमहानगरपालिका भित्रका नदी नालाबाट ढुङ्गा, गिटीको अवैध उत्खनन्, चोरी तथा निकासी बढेको पाईएको छ । यस कार्यले नदीजन्य पद्धार्थको दिगो उपयोग तथा विपद् व्वस्थापनमा चुनौती थपेको छ । नदीजन्य पदार्थहरुको उत्खननको लागि साझा नीति, नियम तथा कार्यविधि नहुनुले यस कार्यलाई व्यवस्थित र वातावरण मैत्री बनाउन कठिनाई भईरहेको छ ।
भावी कार्यदिशा
सर्वप्रथम त विधिको शासन र वातवरणीय सु-शासनलाई चुस्त दुरुस्त राख्नकालागि स्थानीय स्तरमा केही नीती, नियम र योजना तर्जुमा गर्न जरुरी छ । सुरुवात एकिकृत वातावरण संरक्षण नीति र योजनाको निर्माणबाट गर्न सकिन्छ जसमा तत्कालीन, मध्यकालिन र दिर्घकालिन योजना समावेश गरिनु पर्छ भने संस्थागत विकास, क्षमता अभिवृद्धी, समन्वय, अनुगमन, अध्ययन-अनुसन्धान र जन-जागरणलाई प्रथमिकतामा राख्नुपर्छ । यी योजनाहरुको प्रभावकारी कार्यन्वनका लागि नेपालको वातावरण संरक्षण नीति २०७६ तथा संघिय वातावरण संरक्षण ऐन २०७६ लाई आधार मानेर धरान उप-महानगरपालिकाले तत्काल स्थानीय वातावरण संरक्षण तथा प्राकृतिक श्रोत व्यवस्थापन ऐन तथा अन्य आवश्यक नियमावली जारी गर्नुपर्छ ।
त्यसपछि धरान उपमहानगरपालिकामा वातावरणको क्षेत्रमा भइरहेका राम्रा कामहरुको गती बढाउने तथा केही नयाँ कामहरु गर्नुपर्ने देखिन्छ । हालको फोहोरमैला व्यवस्थापन चुनौती तथा ल्यान्डफिल साइटको अभावलाई सम्बोधन गर्न धरान उप-महानगरपालिकाले फोहोरलाई उर्जाको स्रोतको रुपमा प्रयोग गर्ने हेतुले भेन्चर वेस्टु इनर्जी प्रा. लि. तथा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान ६ स्थीत पानवारीमा फोहोरबाट उर्जा निकाल्ने आयोजना संचालनको तयारी गरेको छ । उक्त आयोजना संचालनमा आएपछि धरान उप-महानगरपालिकाबाट संकलित फोहोर डम्पिङ साइटमा नलगी आयोजना प्लान्टमा लगिने छ, जहाँ कुहिने र नकुहिने फोहोरलाई स्वचालीत रुपमा छुट्याई नकुहिने फोहोरहरुलाई पुन प्रयोगमा ल्याइनेछ भने कुहिने फोहोरबाट ग्याँस निकालिने छ । उक्त ग्यासलाई सवारी साधानमा प्रयोग गरी जीवाश्म इन्धनको विकल्पको रुपमा प्रवर्धन गर्ने लक्ष्य रहेको छ ।
नेपालमा फोहोर व्यवस्थापनकालागि गरिने खुला डम्पिङ र ल्यान्डफिलिङ जस्ता प्रचलित अभ्यासहरु भन्दा फरक यस नवीन अभ्यास नेपालका लागि उदाहरणीय काम हुनेछ । तर यो परियोजना विभिन्न प्राविधिक कारणले ढिलासुस्ति हुदै आएको छ । यस परियोजनालाई चाडो भन्दा चाडो संचालनमा ल्याउन जरुरी छ ।
कुनै पनि समस्याको सही समाधान पहिचान गर्नका लागि समस्याको वास्तविक अवस्था, त्यसको कारक र असर बुझ्न जरुरी हुन्छ । नेपालमा वायु प्रदुषण मापनका लागि २२ वटा मनिटरिङ स्टेसनहरु रहेका छन् जसमध्ये १२ वटा काठमाडौँमा छन् । वायु प्रदुषण मापन केन्द्रहरुलाई धरान लगायतका मोफसलका ठूला शहर तथा नयाँ नगरपालिकाहरुमा विस्तार गरी रियल टाइम वायु गुणस्तरको सुचना जनमानसले बुझने गरी प्रवाह गर्न जुरुरी छ । यसरी प्राप्त तथ्याङ्कको विश्लेषणका आधारमा वायु प्रदुषण नियन्त्रण तथा व्यवस्थापन योजना बनाई कार्यान्वयन गरियो भने यो निकै प्रभावकारी हुन्छ ।
धरानमा ट्याम्पुको संख्या अत्याधिक रुपमा बढ्दा तीनले लिने भाडादरमा भने कुनै परिवर्तन आएको छैन । तीनै ट्याम्पु हाल बजार क्षेत्रमा वायु तथा ध्वनी प्रदुषणका मुख्य कारक बनेका छन् । यस्ता साना सवारीलाई विस्थापित गर्न र स्वच्छ यातायातलाई प्रवर्धन गर्न उपमहानगरले विद्युतिय नगर बस संचालन गर्न अत्यन्त आवश्यक देखिएको छ ।
धरान भित्रका हरेक जसो घरमा रुख र विरुवा लगाएको पाईन्छ । त्ससैले शहरी हरियालिको अवस्था राम्रो छ । तर बजार क्षेत्र र मुख्य सडकमा भने खुल्ला जमिनको अभावले हरियाली कायम गर्न सकिरहेको छैन । अहिले भइरहेको सडक बिस्तारले यो अवसर भने दिएको छ । सडकहरुको बीच वा किनारामा हरित पेटिको विकास गर्नसके यसले सडक सौन्दर्य त बढाउछ नै प्रदुषण नियन्त्रणमा पनि टेवा पुर्याउछ । तर यत्तिले मात्र चाहि पुग्दैन । सडक सौन्दर्यका लागि सवैभन्दा ठूलो चुनौती सडक वत्ति तथा तार व्यवस्थापन हो । धरान उप-महानगरपालिकाले भानुचोक देखि छाताचोक सम्म गमलामा फुल रोपण गरेर हेरचाह गरिरहेको छ । तर यत्रतत्र छरिएका अव्यवस्थित तारहरुले गर्दा फूल कहाँ छ भनेर घोरिएर खोज्नु पर्ने अवस्था छ । यसको दिगो समाधान भनेको तारहरुलाई भूमिगत गर्नु नै हो । तर तत्काल अनावश्यक तारहरु हटाई बाँकीलाई समेटेर बन्डलिङ मात्र गर्ने हो भनेपनि सडक सौन्दर्यमा धेरै सुधार आउछ ।
खानेपानीको माग र आपूर्ति बीच बढिरहेको अन्तर घटाउन तथा पानीको दिगो व्यवस्थापन गर्नका लागि जलाधार संरक्षण, आकाशे पानी सङ्कलन, भूमिगत पानीको पुनर्भरण र पानीको दिगो उपयोगमा जोड दिन जरुरी छ । स्थानीय सरकारहरुले प्राकृतिक श्रोतहरुको उपयोग सँगसँगै दिगो व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ । खासगरी पछिल्लो समयमा नदीजन्य पद्धार्थहरुको अवैद उत्खनन् र मापदण्ड विपरित क्रसर उद्योग संचालन बढेको छ । यो समस्या धरानमा मात्र नभएर सम्पूर्ण देशभरी नै व्याप्त छ । यसको समाधानका लागि छरिएर रहेका विभिन्न ऐनका धारा, नियम र मापदण्डलाई एकत्रित गर्दै लक्षित कार्यविधीको निर्माण, ठेक्का प्रणालीमा सुधार, वातावरणीय क्षति समेतलाई समेटेर नदीजन्य पद्धार्थको दर रेट कायम, प्राकृतिक स्रोत परिचालन तथा व्यवस्थापनमा तीनै तहका सरकार र सरोकारवाला संस्थाहरुको अधिकार र दायित्वको बारेमा स्पस्टता, अनुगमन तथा सजायमा कडाई, र यस संग सम्बन्धित गुनासो सुन्ने र सम्बोधन गर्ने संयन्त्रको तत्काल आवश्यक छ । तर यी सबै काम गरे पनि सु-शासन कायम गर्न सकिएन भने समस्या ज्युँकात्युँ रहने निश्चित छ ।
अन्त्यमा, जनचेतना, जनसहभागिता, सार्वजानिक निर्माण कार्यमा सम्बन्धित निकाय एवं नागरिक समाज सँगको समन्वय, प्रभावकारी अनुगमन तथा नियमन, र नविन ज्ञान र प्रविधीको प्रयोगले वातावरणीय समस्यालाई अवसरको रुपमा परिणत गरी समृद्ध धरानको सपना साकार पार्न सकिन्छ । वातावरणीय सवालहरुलाई बिर्सेर संवृद्धिको यात्रा तय गर्ने हो भने गन्तव्यमा पुग्न सकिदैन ।
(लेखक धरान उपमहानगरपालिकाका नवनियुक्त वातावरणविद हुन्।)