इटहरी : जिल्ला बचत सङ्घको आयोजनामा “राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेड" दर्ता अभिलेखीकरण तालिम सम्पन्न भएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूको जिल्ला स्तरीय छाता सङ्घ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड सुनसरीले सहकारी ऐनमा भएको व्यवस्थाबमोजिम कार्यक्रम सम्पन्न गरेको हो ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्र लिमिटेडमा दर्ता गर्ने प्रयोजनका लागि अभिमुखीकरण प्रदान गरियो ।
सहकारी ऐन अनुसार प्राधिकरण र कर्जा सूचना केन्द्रमा अनिवार्य दर्ता हुने व्यवस्थालाई कार्यान्वयन गर्न बचत सङ्घले सहजीकरण गरेको हो । बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारीहरू प्राधिकरण तथा कर्जा सूचना केन्द्रमा दर्ता भई नसकेकोको अवस्थामा अभिलेखीकरण तालिम सम्पन्न गरेको जिल्ला बचत सङ्घका सचिव मिलन त्रितालले बताए । सुनसरी जिल्लाभरका ४४ सहकारीका सञ्चालक तथा कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको उनको भनाइ छ ।
जिल्ला बचत सङ्घका अध्यक्ष गोमा कुमारी गिरिले संस्थालाई समयानुकूल प्रविधि र कानुनमैत्री बनाइने बताइन् । प्रविधिमैत्री सिकाई, सदस्य संस्थाहरूको माग र आवश्यकता बमोजिम निरन्तर शिक्षा, तालिम, बहस र पैरवी गर्ने उनको भनाइ छ ।
सहकारीको मर्म र भावना अनुसार सहकारी सञ्चालन तथा व्यवस्थापनमा सदैव आफ्नो दायित्व पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
































































