धरान : रोटरी क्लब अफ धरान र रोटरी क्लब अफ फुटहिलको संयुक्त आयोजनामा गत शनिवार धरान उपमहानगरपालिका २० मा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडाध्यक्ष पदम लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्वास्थ्य शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ चिकित्सकहरूले नाक कान घाँटी, हाड जोर्नी, छाला तथा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए। शिविरबाट उक्त क्षेत्रका २५० भन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन्।

शिविरमा उपचारसँगै आवश्यक औषधिहरू पनि निःशुल्क रूपमा वितरण गरिएको रोटरी क्लब अफ धरानका अध्यक्ष  रोटरियन फिरोज श्रेष्ठले जानकारी दिए। उनका अनुसार शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो।