धरान :आदिवासी किरात सुनुवार जातिको भाषा र लिपि कोइच ब्रेटेकमा लेखिएको पहिलो प्रकाशित पुस्तक आज आइतबार आयोजित विमोचन समारोहमा सार्वजनिक गरिएको छ ।
सुनुवार दिवसको अवसरमा धरान–११ स्थित सुनुवार सांस्कृतिक भवनमा आयोजित कार्यक्रम बिच धरान उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघा सहित अतिथिहरूले पुस्तक विमोचन गरेका हुन ।
सुनुवार भाषाका साहित्यकार शङ्कर सुनुवारको लघुकथा सङ्ग्रह ‘म’ विमोचन गरिएको हो । ‘म’ सुनुवार लिपि र भाषामा लेखिएको पहिलो पुस्तक भएको बताइएको छ । पुस्तकमा लघुकथाहरू सुनुवार लिपि कोइच ब्रेटेकमा लेखिएका छन् र नेपाली भाषामा त्यसको अनुवाद गरिएको छ ।
कुल ८७ पृष्ठको पुस्तकमा ६१ वटा लघुकथाहरू छन् । कथाहरूको परिवेश भने आम नेपाली समाजमा हुने घट्नाहरु पाइन्छन् । सामाजिक विकृति, विसङ्गति, नैतिक मूल्य मान्यताका कुराहरूमा लघुकथाको विषय समेटिएका छन् ।
साहित्यकार शङ्कर सुनुवारले यसअघि फुटकर कथा, कविता साहित्य यस अघि धरानका स्थानीय पत्रपत्रिकामा प्रकाशित गर्दै आएका थिए । पुस्तकको रूपमा र सुनुवार भाषा र लिपि कोइच ब्रेटेकमा समेत लेखिएका लघुकथाहरूको सङ्ग्रह भने यो पहिलो हो ।
सुनुवार लिपि कोइच ब्रेटेकको उत्पत्ति तथा इतिहास बारे धेरै जानकारी नभए पनि नेपालमा लिपिको संरक्षण र संवर्द्धन स्वर्गीय कर्ण सुनुवार (जेटिज सुनुवार)बाट भएको लेखक शङ्कर सुनुवारले बताए ।
उनले भने ‘भने तर कोइच ब्रेटक लिपिको पहिलो वर्णमाला भने सिक्किममा प्रकाशित भयो र त्यहाँको सरकारले सुनुवार लिपि र भाषालाई मान्यता समेत दिएको ।’ शङ्कर सुनुवारका अनुसार नेपालमा संवर्द्धन गरिएको लिपि डा.लालबहादुर रापचतले सिक्किम पुर्याएको मानिन्छ ।
विमोचनको अवसरमा पिण्डेश्वर विद्यापीठका प्राडा.खेमराज खनालले पुस्तकमा संग्रहित लघुकथाहरूको समालोचना गरेका थिए । आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष हेमराज याक्खाले सुनुवार भाषा, लिपिमा पुस्तक प्रकाशित हुनु ऐतिहासिक कार्य भएको बताए ।
वरिष्ठ पत्रकार हर्ष सुब्बाले पुस्तकमा संग्रहित कथाहरू कोइच ब्रेटक लिपिमा प्रकाशित हुनु ऐतिहासिक भएको बताउँदै मातृभाषा लेखक साहित्यकारले कथा साहित्यमा परिवेशमा सुनुवार समुदाय, समाजको भाषिक, परम्परा, संस्कृति, लोककथालाई लेखनको विषय बनाउनु पर्ने कुरामा जोड दिए ।
देवान समाजको केन्द्रीय उपाध्यक्ष गणेश देवानले सुनुवार दिवसको शुभकामना दिएका थिए । पत्रकार जमुना श्रेष्ठले साहित्यकार शङ्कर सुनुवारको साहित्यिक व्यक्तित्वका बारेमा प्रकाश परेकी थिइन् । सुनुवार समाज धरानका अध्यक्ष गोपाल सुनुवारको सभापतित्वमा भएको समारोहको सञ्चालन सचिव सागर सुनुवारले गरेका थिए ।
समारोहमा सुनुवार दिवसको अवसरमा केक काटेर जन्मोत्सव मनाइएको थियो । सोही अवसरमा ३ दिने सुनुवार दिवसमा भएको खेलकुद लगायतका प्रतियोगीताहरुका विजेता युवा सहभागीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।