धरान :आङबुहाङ वंश परिवार बिच पछिल्लो समय उत्पन्न विवादका विषयमा आपसी छलफलबाट सामान्यीकरण गरिएको छ । 
आङबुहाङ वंश प्रतिष्ठान मोरङको आयोजनामा सोमबार चाँगे माविको सभा हलमा भएको छलफलले वंश, इतिहास र अस्तित्वसँग सम्बन्धित सवालहरूलाई समाधान गरिएको प्रतिष्ठानका तदर्थ समिति संयोजक खगेन्द्र आङबुहाङले बताएकाका छन् ।
छलफलमा संयोजक आङबुहाङले राजा थिन्दोलुङ खो ‘याहाङ’ पछिका १३औँ पुस्ता नामाहाङका सन्ततिका रूपमा आङबुहाङ वंशको गौरवशाली इतिहास, पुर्खाहरूको वीरता र योगदानमार्फत प्राप्त ऐतिहासिक विरासतलाई अविच्छिन्न रूपमा जोगाइराख्नु सबै वंश दाजुभाइहरूको साझा दायित्व रहेको बताए।
समय क्रमसँगै विभिन्न भूगोलमा छरिएका आङबुहाङ वंश परिवार बिच एकता बनाउनु अपरिहार्य रहेको उल्लेख गरे। तर लामो समयदेखि विश्वास गरिएका केही अग्रजहरूको असन्तुलित कदमका कारण वंश परिवारमा असमझदारी सिर्जना भएको बताए।
वंशावली तथा इतिहास लेखन कार्य तथ्य र प्रमाणको आधारमा हुनुपर्नेमा जोड दिनु पर्ने अप्रमाणित विषयहरूमा छलफल, परामर्श र सहमति मार्फत निष्कर्ष निकाल्नुपर्ने कुरामा सबैको सहमति कायम भएको उनले बताए ।
प्रतिष्ठानले भदौ २८ गते धरानमा बहुसङ्ख्यक वंश दाजुभाइलाई बहिष्कार गर्दै भएको अवैधानिक भेलालाई अनुमोदन गर्न पुस २३ गते गरिएको कथित साधारण सभाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका थियो। 
संयोजक आङबुहाङका अनुसार, थिन्दोलुङ खो ‘याहाङ’ वंशज सङ्घ, केन्द्रीय समितिले समेत उक्त अराजक कदमलाई मान्यता नदिएको स्पष्ट भइसकेको अवस्थामा, वंशभित्र सिर्जित विवाद, असमझदारी र अन्योलताका विषयमा खुला छलफल गर्नु आवश्यक ठानी यो कार्यक्रम आयोजना गरिएको हो।