धरान : चुनावका बेला पार्टी तथा उम्मेदवारहरूले विकास, निर्माणका वाचाले भरिएको घोषणापत्र, प्रतिबद्धता पत्र निकाल्छन्, चुनाव सकिए पछि त्यसको कार्यान्वयनको लेखाजोखा पार्टी, उम्मेदवारले मात्र होइन सरोकारवाला मतदाताले पनि गर्दैनन् ।
त्यस्तो विकासे विषयहरू सरोकारवालासँग अग्रिम प्रत्यक्ष छलफलबाट तयार नगरिएको हुनाले त्यसको स्वामित्व लिने सरोकारवाला पनि हुन्न । त्यसैले चुनावका प्रतिबद्धता पत्रहरूमा मतदाताहरू बिच गम्भीर बहस छलफल भएको पाइन्न ।
यस्तो अवस्थामा धरानमा नेपाली कम्युनिस्ट पार्टीले भने आफ्नो उम्मेदवारको स्थानीय प्रतिबद्धता पत्र तयार गर्न विभिन्न विषयमा सम्बन्धित सरोकारवालाहरूलाई निम्ने गरेर छलफल गरी सुझाव लिने चलनको सुरुआत गरेको छ । 
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुनसरी १ बाट नेकपाको उम्मेदवार मनोज भट्टराई मैदानमा छन् । पार्टीको घोषणापत्र बाहेक उम्मेदवारको स्थानीय प्रतिबद्धता पत्र तयार गर्न पार्टीले सम्बन्धित विषय विज्ञहरूलाई निमन्त्रणा गरिएको हो ।
सुनसरी उद्योग वाणिज्य सङ्घ हलमा शनिवार आयोजित छलफलमा निर्वाचन परिचाल समिति संयोजक संविधान सभा सदस्य किरण राईले निर्वाचन हुने नहुने आशङ्का विद्यमान रहेता पनि दलहरू इमान्दारीता पूर्वक चुनावको तयारीमा लागेको बताए । 
सुनसरी १ को प्रतिनिधि सभा सदस्यको चुनाव धरान र यस क्षेत्रको विकासको कुरा मात्र नभएर भविष्य निर्माणको पनि विषय भएकाले विविध विषयका विज्ञहरूसँग छलफल जरुरी ठानिएको उनको भनाई थियो । उनीहरूको अनुभवी सुझावको आधारमा पार्टीले आफ्नो उम्मेदवारको लागि स्थानीय प्रतिबद्धता पत्र निर्माण गर्ने उनले बताए ।
कार्यक्रममा बुद्धिजीवी, प्राध्यापक, व्यवसायी, साहित्यकार, पत्रकार, पर्यटन विज्ञ, खेलाडी लगायत क्षेत्रका दुई दर्जन बढी अगुवाहरू सहभागी थिए । अधिकांश सहभागीले छलफलमा सुझावका लागि लामै सूचि प्रस्तुत गरे ।
प्रमुख रूपमा धरानको पर्यटनका बारेमा धेरैले ध्यानाकर्षण गराए । पर्यटन व्यवसायी वासुदेव बरालले दुर्गम क्षेत्रमा पर्यटक बसाइ बढाउन पूर्वाधार विस्तार र अनुदान आवश्यक रहेको बताए । उनले भने ‘कोशी नदी र सहायक नदीहरूको पर्यटन उपयोग बढाउन निजी व्यवसायलाई जग्गा भाडामा लिन अनुमति दिने नीति बनाउने प्रतिबद्धता आवश्यक छ ।’
यसै गरी धार्मिक पर्यटन योजना, खानेपानीको दीर्घकालीन योजना, धरानको उच्च शैक्षिक केन्द्रहरूको सबलीकरण, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान नगर अस्पताल, धरान–तमोर सुरुङ मार्ग, खेलकुद पूर्वाधार लगायतका विषयमा सुझावहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राजनीतिक,सामाजिक तथा विकास सम्बन्धी विषयमा गम्भीर छलफल हुँदै पार्टीको आगामी कार्यदिशा र रणनीतिबारे सुझाव सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
पार्टीको सङ्गठन विस्तार, जनसम्बन्ध सुदृढीकरण तथा स्थानीय तहमा प्रभावकारी राजनीतिक भूमिकाका पनि प्राप्त सुझावहरू उपयोगी भएको पार्टीले जनाएको छ ।