धरान : नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुजेन्द्र तामाङको स्थानीय चुनावी प्रतिबद्धताका १७ सूत्रीय सूचि सार्वजनिक गरिएको छ ।
‘धरान-तमोर सुरुङ मार्ग’ धरान सहित धरानको विकास, समृद्धिका लागि कबुल गरिएका प्रतिविद्धताको प्राथमिकतामा रहेको छ । धरानलाई पहाडी जिल्लाहरूका लागि सबै भन्दा छोटो सडक सञ्जालबाट तराइसँग जोड्ने केन्द्र बनाउन बहु उपयोगी सुरुङ मार्ग जरुरी भएको तामाङको प्रतिबद्धतापत्रले जोड दिएको छ ।
पूर्व जनप्रतिनिधिको गल्ती दोहोर्याउदिन
नेपाली काँग्रेस क्षेत्र १ निर्वाचन परिचालन मूल समिति द्वारा आज मङ्गलवार आयोजित पत्रकार भेटघाट, उम्मेदवार परिचय घोषणा सभामा तामाङको प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।
सभामा उम्मेदवार तामाङले जेन-जी आन्दोलनपछिको राजनीतिक संवैधानिक सङ्कटको समाधान निर्वाचनमा आधारित जनादेश नै भएको बताए । उनले भने, “जनताको आदेशबिनाको कुनै पनि विकल्प दीर्घकालीन हुँदैन, जिम्मेवार, जबाफदेही र लोकतान्त्रिक नेतृत्व अबको आवश्यकता हो ।’
तामाङले ‘काँग्रेस परिवर्तन भैसकेको छ’ अब गुट र अन्तर्घात छैन काँग्रेस परिवर्तन सँगै पार्टीले ६६ प्रतिशत युवा उम्मेदवार सहित निर्वाचनमा होमिएको रणनीति सार्वजनिक गरेको बताए । उनले भने ‘पार्टीको रणनीति अनुरूप २०औँ वर्ष देखी राजनीतिमा लागेर देशकालागि केही गर्न युवा नेतृत्व आएको हुँ।’
उनले चुनाव प्रचारको सुरुवात भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राख्ने वचन सहित वराहक्षेत्र मन्दिरमा शपथ लिएर गरेको बताउँदै भने, 'म एक रुपैयाँ पनि भ्रष्टाचार गर्नेछैन, गल्ती गर्नेछैन, पूर्व जनप्रतिनिधिको गल्ती दोहोर्याउदिन।'
धरान-तमोर सुरुङ मार्ग
उनको चुनावी एजेन्डामा धरान-तमोर सुरुङ मार्ग परियोजना प्रमुख छ । तामाङले धरान-तमोर सुरुङ मार्गलाई क्षेत्रको समग्र विकाससँग जोडिएको बहुउद्देश्यीय परियोजनाको रूपमा प्रस्तुत गर्दै यस विषयमा पार्टी सभापति गगनकुमार थापासँग समेत जोडतोडका साथ कुरा उठाइसकेको जानकारी दिए ।
यो परियोजनाले यातायातलाई सहज बनाउनुका साथै धरान र आसपासका क्षेत्रको दीर्घकालीन खानेपानी समस्या र ऊर्जा सङ्कट समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
तामाङले भने, 'यदि सुरुङ मार्ग निर्माण भयो भने यसले धरानलाई मात्र होइन, आसपासका पालिका समेतमा खानेपानीको पहुँच दिलाउन सक्छ ।' विद्युत् उत्पादन र उपभोगको सम्भावना बढ्नेछ र धरानको राजमार्गमा देखिँदै आएको समस्या पनि समाधान तर्फ जाने उनको भनाई छ ।
काँग्रेसको ६६ प्रतिशत नयाँ युवा
तामाङले पार्टीको ६६ प्रतिशत युवा र नयाँ अनुहार उम्मेदवार बनाउने रणनीतिको उल्लेख गर्दै भने ‘ती उम्मेदवारहरू राजनीतिक प्रतिबद्धता र सामाजिक अनुभवबाट खारिएका व्यक्तिहरू हुन ।’
यसै लहरमा आफ्नो उम्मेदवारी भएको उल्लेख गरे । काँग्रेससँगको आफ्नो राजनीतिक यात्रा आन्दोलनपछि सुनसरी क्षेत्र नम्बर १ का २७ वटै वडामा सञ्चालन गरिएको ‘मिसन रुट सशक्तीकरण’ कार्यक्रमको नेतृत्व आफूले गरेको जानकारी दिए ।
मुलुक पछिल्लो समय राजनीतिक अस्थिरता र संवैधानिक अन्योलको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यसको एक मात्र लोकतान्त्रिक निकास निष्पक्ष र समयमै हुने निर्वाचन भएको उनले बताए । तामाङले भने 'जनताको आदेशबिनाको कुनै पनि विकल्प दीर्घकालीन हुँदैन ।'
शक्ति केन्दीकरण लोकतन्त्रमा खतरा
उम्मेदवार तामाङले केही नयाँ राजनीतिक दलहरूले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको प्रस्तावप्रति असहमति जनाउँदै यस्तो प्रणालीले नेपालको बहुजातीय, बहुसांस्कृतिक र विविध समाजमा निरङ्कुशता र दमनको खतरा बढाउन सक्ने चेतावनी दिए । उनले भने 'शक्ति केन्द्री करण लोकतन्त्रका लागि घातक हुन्छ ।'
उनले नेपाली काँग्रेसले गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा अघि सारेको उल्लेख गर्दै थापालाई अनुभवी, सक्षम र प्रतिबद्ध नेता भएको बताए । दैनिक घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका तामाङले विकास, सुशासन र नागरिक सम्मान नै आफ्नो मुख्य प्रतिबद्धता भएको बताएका छन् ।
उनका अनुसार सुनसरी क्षेत्र १ मा पर्ने वराहक्षेत्र नगरपालिकाका १, २, ३, ४, ५ र ६ वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।