विरही काइँला
इटालीको राजधानी रोम सहरको मध्य भागमा अवस्थित कोलोसियममा प्रवेश गर्नका लागि एक जनाको प्रवेश शुल्क १८ युरो लाग्दो रहेछ । हरेक दिन बिहान ९ बजेदेखि बेलुकी ६।१६ सम्म खुला रहने टिकट घरको अगाडि पर्यटकहरू लामो लाइनमा उभिएका थिए ।
हामी पनि थपिन पुगेर टिकट किन्यौ । एउटै टिकटमा कोलोसियम र रोमन फोरम अनि प्यालाटिन हिलको पुरातात्त्विक क्षेत्र घुम्न सकिने रहेछ । निर्देशित भ्रमण तालिका अनुसार कोलोसियम घुम्नलाई अधिकतम समय १ देखि २ घण्टा रहेछ ।
रोमन फोरम र प्यालाटिन हिलको पुरातात्त्विक क्षेत्रको समय सीमा तोकिएको छैन । तर प्राचीन रोमको
राजनीति, धार्मिक, वाणिज्य अनि सामाजिक जीवनको चहल पहलको केन्द्रबिन्दु रोमन फोरम घुम्नलाई कम्तीमा ३(४ घण्टा समय लाग्दो रहेछ ।
रोमन साम्राज्यको इतिहासमा रुचि राख्नेहरूको लागि एक बहुमूल्य स्रोत यो ठाउँ पनि हो । युनेस्कोको विश्व सम्पदा स्थल कोलोसियमलाई रोमन साम्राज्यको सबैभन्दा ठुलो वास्तुकला उपलब्धिहरूमध्ये एक मानिन्छ । यो रोममा सबैभन्दा धेरै भ्रमण गरिएको पर्यटकीय आकर्षणहरू मध्येका एक हो ।
कोलोसियम मूलपुरमा संगमरमरले ढाकिएको थिएछ, तर शताब्दियौं दौडान यसको धेरैजसो भागबाट संगमरमर हटाएर अन्य भवनहरूमा प्रयोग गरिएको छ । यद्यपि केही सङ्गमरमरहरू कोलोसियमको माथिल्लो तलोमा अझै देखिन्छ ।
ढुङ्गा र कङ्क्रिटबाट बनेको कोलोसियमलाई निर्माण गर्दा प्रयोग गरिएको ट्राभर्टाइन ढुङ्गा यहाँदेखि लगभग २० माइल टाढा टिभिलीको खननबाट ल्याइएको थिएछ । कोलोसियमलाई फन्को मारेर सिरानको तलोमा उक्लिँदा छेपारी पल्टिएला जस्तो भएपछि एक छिन विश्राम गरयौं ।
ठाउँ ठाउँमा पिउने पानी, शौचालयको बन्दोबस्त गरिएको छ । सङ्ग्रहालयमा पुराना भाँडा बर्तन, मूर्तिहरू राखिएका छन् । प्रायजसो मूर्तिको टाउको थिएन । कोलोसियमलाई अङ्ग्रेजीमा फ्लेभियन एम्फिथिएटर भनिन्छ । यो नाम यसलाई निर्माण गर्ने फ्लेभियन राजवंशका सम्राटहरुसित जोडिएको छ ।
फ्लेभियन वंशका सम्राट् भेस्पासियनले ७२ इस्वीमा कोलोसियम बनाउन सुरु गरे । यद्यपि निर्माण पुरा हुनुभन्दा पहिले नै भेस्पासियनको ७९ इस्वीमा निधन भयो । अण्डाकार आकारको गोलो कोलोसियम वा फ्लेभियन एम्फिथिएटरलाई उनका छोरा सम्राट् टाइटसले चौथो तल्ला थपे ।
टाइटसका कान्छा भाइ डोमिसियनले हाइपोजियम भनिने बालकनी र भूमिगत सुरुङहरू थपेर अन्तिम तह पुरा भएपछि ८० इस्वीमा उद्घाटन खेलहरू आयोजन गरियो । लगातार सय दिन सम्म चलेको कार्यक्रममा ग्लेडिएटरको लडाइँ, जानवारहरुको शिकार अतिरिक्त नौमाचियास भनिने रोमीहरुको मनोरञ्जनको लागि समुन्द्री लडाइँहरू प्रदर्शन गरिएको थियो ।
कोलोसियम यति शानदार रूपमा निर्माण गरिएको थियो कि मानिसहरू वार्षिक खेलहरू अघि र पछि १५ मिनेटभित्र परिसरमा प्रवेश गर्न र बाहिर निस्कन सक्थे । त्यहाँ ७६ प्रवेशद्वारहरू बनाइएका थिए,जसमध्ये ७२ वटा सर्वसाधारण प्रयोग गर्थे । तीन वटा प्रवेशद्वारहरूमा पहिलो तहको प्रवेशद्वार राजा,उनको परिवार र परिषद् सदस्यहरूका लागि सम्राट्को बाकसमा लैजान्थ्यो ।
यो रङ्गशालाको सबैभन्दा नजिकको आसन हो । पहिलो तह सजाउन डोरिक स्तम्भहरू प्रयोग गरिएको थियो र केही आसनहरूमा त्यहाँ बस्ने मानिसहरूको नाम कुँदिएका थिए । यद्यपि, समयसँगै सुन्दर हातले कुँदिएका नक्कासीहरू विघटित भएका छन् ।
कोलोसियमको दोस्रो तह प्राचीन रोमको धनी वर्गको लागि आरक्षित थिए र तेस्रो तह त्यो हो जहाँबाट सबै जनताले वार्षिक खेलहरू हेर्न सक्थे ।तेस्रो तहले कोलोसियमको भित्री भागको शानदार दृश्य प्रदान गर्दछ । कोलोसियममा बस्ने ठाउँहरू क्यान भास सिलिङले ढाकिएको हुन्थे । कार्यक्रमको समय दर्शकहरूलाई चर्को घामबाट जोगाउनका लागि यो प्रयोग गरिन्थ्यो ।
वास्तुकला र इन्जिनियरिङ कौशलताको कारण विश्व प्रसिद्ध कोलोसियम वा फ्लेभियन एम्फिथिएटरको लमाइ लगभग १८८ मिटर ९६१६ फिट अनि चौडाइ १५६ मिटर ९५११ फिट छ । यसको उचाइ ४८ मिटर ९१५७ फिट छ । कोलोसियममा ५० हजार देखि ८० हजार दर्शकहरू अटाउँथे ।
भवनको सतह क्षेत्रफल ६ एकड छ । कोरिडोरहरूको माथि एरिया फ्लोरमा ८३ मिटर लामो र ४८ मिटर चौडाको काठबाट बनाइएको गोलो आकारको मञ्च समयसँगै काठहरू मक्किएर सड्यो र यो हरायो । कोलोसियम प्रयोग हुन बन्द भएपछि मञ्चको भुईँ भत्किएर भूमिगत भाग ढुङ्गाले भरिएर खण्डहर बन्यो ।
अहिले पर्यटकहरूलाई एरिया फ्लोर वा गोलो मञ्चको बारेमा जानकारी गराउन त्यसैको एक कुनामा एरिया फ्लोर आंशिक रूपमा पुन निर्माण गरिएको रहेछ ।
रोम साम्राज्यको समय एरिया फ्लोर वा गोलो मञ्चमा दर्शकहरूको मनोरञ्जनका लागि ग्लेडिएटरले आफ्नो प्राणको बाजी लगाएर खुनी लडाइँमा भाग लिने गर्दथे । प्रदर्शनमा मृत्युदण्ड पाएका कैदीहरूले जङ्गली जनावरहरूसित लाप्पा खेल्दथे । ग्लेडिएटरहरूले एक अर्काको विरुद्ध लडाइँ लड्नु पर्दथ्यो ।
कोलोसियममा सबैभन्दा लोकप्रिय ग्लेडिएटरको लडाइँ थियो । ग्लेडिएटरहरू धेरैजसो गम्भीर अपराधी थिए,जसले आफ्नो मृत्युदण्डलाई रङ्गशालामा जीवन विताउनु बाध्य थिए । केही इच्छुक सहभागीहरू १५ मिनटको प्रसिद्धिको लागि मैदानमा उत्रन्थे । प्रदर्शनमा भागलिनेहरुलाई कठोर तालिम दिइन्थ्यो ।
यस्तो प्रदर्शनमा ५ लाखभन्दा बढी जनावरहरू र १० लाखभन्दा बढी मानिसहरूले ज्यान गुमाए । कोलोसियम मुनि असङ्ख्य कोठाहरू र भूमिगत मार्गहरू थिए । यहाँ पिँजडामा जानवारहरु र ग्लेडिएटरहरुलाई राखिन्थे । तिनीहरू माथिको रङ्गशालामा आफ्नो भाग्य भेट्न पर्खेर बस्थे ।
विशेष प्रभावहरूको लागि रङ्गशालामा ३६ वटा पासो ढोकाहरू बनाइएका थिए । पासो ढोकाहरू र लिफ्टहरू रङ्गशालाको भुईँमा उठाइन्थ्यो र तिनीहरूको प्रतिदन्दी रङ्गशालामा प्रवेश गरेपछि जानवारहरु छोडिन्थे । यसरी नै ग्लेडिएटरहरु लडाइँको लागि मञ्चमा प्रवेश गर्ने ग्लेडिएटर ढोका भुईँमा अवस्थित थियो । त्यति बेला ग्लेडिएटर ढोका जनताको लागि खुला थिएन ।
तर आज त्यही ढोकाबाट भित्र पस्न सकिने रहेछ । हामीले पनि ग्लेडिएटर ढोका भएर कोलोसियममा प्रवेश गरेका थियौँ । कोलोसियम समयको परीक्षामा खरो उत्रिएको छ । रोम साम्राज्यको पतनपछि यसलाई चिहान र किल्ला जस्ता अन्य उद्देश्यका लागि प्रयोग गरियो ।
चार वटा ठुलो भूकम्पले हल्लाएको यो प्राचीन स्थल सन १३४९ को भूकम्पले ठुलो क्षति पुरायो । कोलोसियम नरम तलछटमा बनाइएको थियो त्यसैले भूकम्पको समयमा जमिन बढी हल्लियो र दक्षिणी पर्खाल ढल्यो । भूकम्प तोडफोड र आगलागीको कारण दुई तिहाइ भाग समयसँगै नष्ट हुँदा कोलोसियम खण्डहर बनियो ।
सुरुका ७६ प्रवेश द्वारहरूमा अहिले धेरै बन्द भएका छन् । सन् १८०० को दशकमा कोलोसियमको पुनर्स्थापन लागि एक परियोजना चालु भयो । त्यसपछि कोलोसियम रोमको सबैभन्दा लोकप्रिय पर्यटन स्थल बन्यो । यहाँ लाखौँ पर्यटकहरू आउन थाले। आज कोलोसियम रोमको समृद्धिको इतिहास र सांस्कृतिक धरोहरको रूपमा खडा छ ।



























































