धरान : बुढासुब्बा गोल्ड कप २६ औँ संस्करणको उद्घाटन कार्यक्रममा खेलाडीहरू अटिजम भएका बालबालिकाहरूसँग रङ्गशाला प्रवेश गरेका थिए । 
फिफा धुनमा उनीहरूको प्रवेश सामान्य बालबालिका भन्दा फरक थिएन । अटिजम भएका बालबालिकालाई माया गरे, समाजमा घुलमिल गराए उनीहरू सामान्य बालबालिका भन्दा फरक होइनन्  भन्ने सन्देश मैदान प्रवेशको दृश्यले दिएको थियो ।
धरान फुटबल क्लबले सोही सामाजिक सन्देश दिन यसपालीको उद्घाटन समारोहमा अटिजम भएका २२ जना बालबालिकालाई सहभागी गराएको अध्यक्ष प्रताप तामाङले बताए । यसलाई गोल्ड कपको मैदानबाट दर्शकले लैजाने ‘धरानमा अटिजम भएका बालबालिकाहरू पनि छन्’ भन्ने थप सन्देश मानिएको छ । धरानमा अटिजम भएका बालबालिकाको सरकारी स्कुल छैन । धरान १ टेलिकम नजिक गैरसरकारी स्पेसल एजुकेसन सेन्टर सञ्चालनमा छ । यसका सञ्चालिका सरस्वती मगरका अनुसार धरानमा सयको हाराहारीमा अटिजम भएका बालबालिका भएको अनुमान गरिएको छ ।
स्थायी मञ्च बनाउने प्रतिबद्धता
गोल्ड कप उद्घाटन गर्दै उपमहानगरपालिका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले धरान रङ्गशालामा औपचारिक कार्यक्रमका लागि नगरपालिकाले स्थायी मञ्च निर्माण  गर्ने प्रतिबद्धता जनाएका छन् । 
उनले भने ‘प्रत्येक वर्ष अस्थायी मञ्च निर्माणमा हुने खर्च कम गर्न स्थायी संरचना निर्माण गर्ने योजना बनाइएको र त्यसका लागि बजेटसमेत विनियोजन भइसकेको छ ।’
कावा प्रमुख बेघाले बुढासुब्बा गोल्ड कप नेपाली खेलकुदकै ऐतिहासिक भएको बताउँदै उपमहानगरपालिकाको क्षमता र बजेटले भ्याएसम्म खेलकुद क्षेत्रमा लगानी गर्दै आएको र अब पनि बुढासुब्बा गोल्ड कपमा सहकार्य निरन्तर जारी रहने प्रतिबद्धता पनि प्रकट गरे ।
एन्फा मानार्थ उपाध्यक्ष, कोशी प्रदेश फुटबल सङ्घ अध्यक्ष किशोर राईले खेलकुद केवल मनोरञ्जनका लागि मात्र सीमित हुनु नहुने भन्दै खेलाडीको जीवनमा स्थायी रोजगारी र पूर्ण व्यावसायिकताको आधार बन्नुपर्ने बताए ।
देशको राजनीतिक अवस्था जस्तोसुकै भए पनि स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहका सरकारले खेलकुद क्षेत्रमा बजेट विनियोजन गरी अभिभावकत्व लिनुपर्ने उनको भनाई छ । उनले भने ‘ठुला कर्पोरेट हाउस र निजी लगानीकर्तालाई खेलकुदसँग जोड्न सरकारले पुलको भूमिका खेल्नु पर्ने नीति र कार्यक्रम बनाउनु जरुरी छ ।’
यसपाली धरान उपमहानगरपालिकाले गोल्ड कपको पुरस्कार राशि ४५ लाख रुपैयाँको उपलब्ध गराएकोमा उनले धन्यवाद दिए । आगामी १० वर्षभित्र नेपाली फुटबल टोली र खेलाडीहरूले विश्व स्तरमा प्रतिस्पर्धा गर्ने लक्ष्य पूरा गर्नुपर्ने उनको भनाई छ ।