धरान : सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवानका सुनसरी १ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार राजकुमार लिम्बू प्रिन्सले १२ बुँदे स्थानीय प्रतिबद्धता पत्र आज शनिवार सार्वजनिक गरेका छन् ।
सुनसरी १ का उम्मेदवारहरूमा सबै भन्दा कान्छा प्रिन्सले आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरू सम्बोधन गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरे । उनको प्रतिबद्धता पत्रमा सुशासन, पारदर्शिता, विकास र रोजगारीको एजेन्डा प्रमुख छन् ।
उनले विगत २० वर्षदेखि पहिचान, अस्तित्व, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा आवाज बुलन्द गर्दै आएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई दाप सहितको खुकुरीमा मतदान गरेर परिवर्तनको पक्षलाई विजयी गराउन आग्रह गरेका छन् । 
उम्मेदवार लिम्बुले आफ्नै देशमै केही गर्नुपर्छ भनेर विदेश नगएको बताउँदै केही गर्न राजनीतिमा प्रवेश गरेको बताए । उनले भने ‘धरानलाई पूर्वकै सुन्दर, विकसित तथा पर्यटकीय केन्द्र बनाउने लक्ष्य लिएर चुनावमा उम्मेदवार भएका छु ।’
उनले २२ वर्षकै उमेरमा व्यवसाय पनि सुरु गरेका छन् । धरानमै लुकुवा फेमिली रिसोर्ट सञ्चालनमा ल्याएर उनले सयौँ स्थानीय वासीलाई रोजगारी दिएको उनले दाबी गरे । लिम्बूले विगत २५ वर्षदेखि सबै भूगोल, समुदाय र स्थानीय आवश्यकतालाई नजिकबाट बुझेको दाबी गरे ।
उम्मेदवार लिम्बुका प्रतिविद्धताहरूमा जेन्जी आन्दोलनलाई सम्मान गर्दै सन्तुलित प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गर्न पहल गर्ने उल्लेख छ । सुनसरी १ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीमा उद्योग स्थापनाबाट रोजगारी सिर्जना गर्ने योजना अघि बढाउने प्रतिबद्धता छ ।
सेउती–सर्दु खोलामा करिडोर निर्माण गर्ने,शिक्षा र स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धि गर्ने, सङ्घीय सह–अस्तित्व, १०ं प्लस १ प्रदेश अवधारणा सङ्घीय संसदमा उठाउने प्रतिबद्धता प्रकट गरिएको छ । 
धरान र आसपासका वडामा सडक सञ्जाल विस्तार र पूर्वाधार विकास गर्ने । पर्यटन प्रवर्द्धन, रात्रिकालीन पर्यटन र होटेल व्यवसाय सुदृढीकरण गर्ने, सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन,फुसे–तम्मर सुरुङ मार्ग निर्माणमार्फत यातायात, विद्युत् र खानेपानी समस्या समाधान गर्ने श्रमिक अधिकार संरक्षण र पारिश्रमिक सुधार गर्दे २५ सय पुर्‍याउने प्रतिबद्धता जनाइएको छ ।