इटहरी : सुनसरी क्षेत्र नम्बर ४ प्रत्येक निर्वाचनमा चर्चित मानिन्छ । बिपी कोइराला, सुजता कोइराला देखि उपेन्द्र यादवले समेत चुनाव लडेको क्षेत्र भएकाले प्रत्येक चुनावी माहौल चर्चामा आउने गरेको छ । यसपटक नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका जगदीश प्रसाद कुसियैत र रास्वपाका दीपककुमार साहबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

सुनसरी ४ मा यसअघि बलियो प्रभाव राख्दै आएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सविता यादवलाई उम्मेदवार बनाएको छ । यसअघि नेकपा एमाले सँग गठबन्धन गरेको जसपा यस पटक एकल मैदानमा उत्रिएको हो । विगतमा दुई पटक लगातार विजयी भएका काँग्रेसका कार्कीपनि यस पटक गठबन्धन बिना मैदानमा छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनमा झिनो मतान्तरले विजयी कार्कीलाई एकल अस्तित्व जोगाउन चुनौती पर्ने देखिएको छ ।

उता एमालेलाई पनि जसपा बिनाको मैदान भारिपर्ने देखिएको छ । २०७९ को निर्वाचनमा पैसा लिएर मत विक्री गरेको आरोप खेपिरहेका कुसियैतलाई आफ्नै मतदाता जोगाउनुपर्ने चुनौती छ । केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति र कुसियैतको शैलीले एमालेको मतमा पहिरो जाने सङ्केत देखाएको छ । लामो समयदेखि एमालेमा मतदान गरिरहेका निष्ठावान् कार्यकर्ता रुष्ट छन् । जेनजी आन्दोलनपछि एमाले कार्यकर्तामा आएको विचलनले कुसियैतलाई चुनावी सङ्कटमा पार्न सक्ने आँकलन गरिएको छ ।

एमालेको रुष्ट मत आकर्षित गर्न सक्ने अवस्थामा छैनन् काँग्रेसका कार्की । उनलाई आफ्नै मत जोगाउनुपर्ने चुनौती छ । आफूले दुई कार्यकालमा गरेका कामको फेहरिस्त तयार पारेर कार्यकर्तालाई बुझाउन गाउँ छिरेका छन् उनी । उनले काम गरेको विषयमा मतदाता जानकार भएपनि मत परिवर्तन गर्ने मुडले उनी झस्किएका छन् । स्थानीय काँग्रेसका नेता तथा जनप्रतिनिधिको व्यवहारले मतदातामा काँग्रेसप्रति मत आकर्षित गराउन समस्या पर्ने देखिन्छ।  

सुनसरी ४ मा कोशी र भोक्राह नरसिंह गाउँपालिका सहित वराहक्षेत्र नगरपालिकाका ५, इनरुवा नगरपालिकाका ३, रामधुनी नगरपालिको १, हरिनगर गाउँपालिकाका ७ वटा वडा पर्छन् । एक लाख ११ हजार ४८१ मतदाता रहेको सुनसरी ४ मा मुख्यतः कृषि, कोशी र लालपुर्जाको समस्या छ । 

समयमा मलबिउ नपाएको देखि कोशी कटानले विस्थापित भएका नागरिकको छुट्टै पिडा छ । लामो समयदेखिका यी समस्या स्थानीय नागरिकले उम्मेदवार सँग सुनाउने गरेका छन् । यस पटक मत बदल्ने बताएका स्थानीयले रास्वपालाई विकल्पको रूपमा देखेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने हल्लाले नागरिकमा बलियो छाप परेको छ । 

के गरे कार्कीले 

विकास निर्माणले पछाडि परेको सो क्षेत्रमा कार्की आफूले गरेका काम बुझाउनै समस्या परेको छ । कार्कीकै पहलमा भएका कामको फेहरिस्त बोकेर कार्यकर्ताहरू मतदाताको घरमा पुगेका छन् । सुनसरीको इटहरी र धरान सडक खण्डमा सञ्चार मन्त्री भएको बखत नेपाल टेलिकमको नेटवर्क विस्तार गरेका थिए ।

वराहक्षेत्र नगरपालिकामा पर्ने कोशी टप्पु क्षेत्र (श्रीलङ्का टापु)मा बिजुली, विद्यालय र स्वास्थ्य चौकीको आधारभूत सुविधा समेत थिएन । कार्कीले २०७४ मा निर्वाचित भए पश्चात् बिजुलीको सुविधा पुग्यो । जसले चोरी डकैती र वन्यजन्तु आक्रमण कम भयो । हात्तीको आक्रमणबाट बचाउन प्रकाशपुर र हरिपुरमा विद्युतीय तारबारको काम सम्पन्न भइसकेको छ ।

कार्कीकै पहलमा रामधुनी मन्दिरदेखि मधुवनसम्मको बाटो कालोपत्रे भयो । रामधुनीकै बैठारदेखि वराहक्षेत्रको ठाकुरबारी जोड्ने सडक पनि उनैले कालोपत्रे गराइदिए । कोशी गाउँपालिकाको जमुवादेखि हरिपुर जोड्ने सडक पनि कालोपत्रेको योजना ल्याएका उनले साना ठुला दर्जनौँ सडक कालोपत्रेका आयोजना सम्पन्न गराए । तथापि उनलाई चुनावी अभियान सकसपूर्ण नै छ ।

लौकहीमा कोशी गाउँपालिकाकै सबैभन्दा बढी क्षमता भएको टाउन हल (सभा हल) निर्माण सम्पन्न भएको छ । आफूले प्रतिबद्धता गरेका अधिकांश योजनाहरू पुरा गरेको कार्कीले दाबी गरेका छन् । यस बिचमा १० अर्बका आयोजना सुनसरी ४ मा ल्याएको उनको भनाइ छ ।

सप्तकोसी बहुमुखी क्याम्पसमा १ करोड ५० लाखभन्दा बढीको सहयोग देखि ५० शैय्याको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । इनरुवामा पनि सभा हलको लागि ३ करोड बजेट विनियोजन गराएका छन् ।

संसदमा समेत सुनसरी ४ को विषयमा धेरै पटक आवाज उठाएका नेता हुन् कार्की । संसदमा सरकारको ध्यानाकर्षण गराउँदा नभएर सम्बन्धित निकायमा पहल गर्ने नेताको रूपमा चिनिन्छन् उनी । पहिलो पटक २०७४ मा निर्वाचन लड्दा टुरिस्ट उम्मेदवारको आरोप खेपेका उनी २०७९ मा ११२ मतान्तरले विजयी भए । जसले कार्कीलाई यसपालिको निर्वाचनमा थप दबाब महसुस गराएको छ ।