इटहरी : सेतो सर्ट, कछाड र गम्छाले टाउको बेरेका एक वृद्ध साइकलमा घुमिरहेका थिए । १२ बजेको चर्को घाममा यताउति घुम्दै केही खोजिरहेका छन् उनी । सडकको छेउमा साइकल अड्याएर ‘कोरोना को अस्पताल कता हो ?’ भन्दै सोधे ।
पूर्वाञ्चल बिश्वबिद्यालयको गेट अगाडी उनी क्वारेन्टीन जाने बाटो खोजिरहेका थिए । त्यसै बेला उनको साइकल सडकको किनारामा लड्छ । साइकलमा झुन्ड्याएको झोलाबाट केही सामान भुइँमा छरिन्छ । सामान टिप्न खोज्दा उनको गोजीमा रहेको नागरिकता पनि झर्छ । नागरिकता गोजीमा हालेर उनी गेटतर्फ लम्किन खोज्छन् ।
मोरङ रतुवामाई नगरपालिका-३ का जबिर मिया पूर्वाञ्चल बिश्वबिद्यालयको क्वारेन्टीनमा रहेको छोरो भेट्न आएका रहेछन् । बाटोमा आउँदा धेरै समस्या हुने भएपछि नागरिकता सँगै बोकेर हिँडेको उनले सुनाए । ‘भन्छ इन्डियाको हो की कहाँको हो अनि नागरिकतै बोकेर हिडीरहेछु ।, उनले भने, ‘नागरिकता नबोक्दा भारतीय भनेर दुख दिन्छन् । अघि नि धेरै ठाउँमा नागरिकता देखाएर आइहालेछु ।’
मुस्लिमहरूलाई भारतीय भनेर शङ्का गर्ने गरेको उनको भनाई छ । त्यसैले कतै हिँड्दा नागरिकता अनिवार्य जस्तै भएको उनले बताए । बाटोमा प्रहरीले धेरै सोध्ने भएकोले अगाडीकै गोजीमा नागरिकता राखेर हिँडेको उनले सुनाए । ७ दिनदेखि क्वारेनटाइनमा रहेका छोरो भेट्न उनी बिहानै साइकलमा हिँडेका रहेछन् । ४ घण्टाको को यात्रा पछि आइपुगेको उनले बताए ।
त्यसपछि छोरा भेट्न क्वारेन्टीन तिर लाग्छन् उनी । क्वारेन्टीन पुग्नु अगावै नेपाली सेनाका एक जवानले उनलाई रोक्छन् । थप कुरा बुझ्न खोज्दा उनले छोरालाई खानेकुरा ल्याइदिएको जानकारी गराउँछन् । तर जवानले उनलाई सामान दिन नमिल्ने भन्दै फर्किन सल्लाह दिन्छन् । झोलामा रहेका चाउचाउ र भुजियाको पोको देखाउँदै यती दिएर फर्किने आग्रह गर्छन् । चाउचाउ निकाल्दा झोलाबाट अर्को पोको पनि झर्छ । पुरानो प्लास्टिकको झोलामा भुजा पोको पारेका रहेछन् ।
केही समय पनि पुनः जवानलाई छोराको सामान छाडेर जाने बताउँछन् । उता जवानले सुख्खा सामान खान नमिल्ने भन्दै फलफूल वा रसिला चिजहरू मात्र लिएर आउनुपर्ने प्रतिक्रिया दिन्छन् ।
मियाँ केही समय साइकलमै घोहीरीन्छन् । त्यहीँ बेला जवानले कतै फोन लगाउँछन् । फोन राखिसकेपछि छोरालाई मात्र भेट्ने हो भने टाढै बाट कुरा गर्नुभन्दै भित्र पठाउँछन् । केही समय छोरा सँग गफ गरेर फर्किए मियाँ ।
मलिन र निन्याउरो अनुहारमा उनी गेट बाहिर निस्किए ।
७ दिन देखी पूर्वाञ्चल विश्वविद्यालयको क्वारेन्टाईनमा रहेका दिलसाद आलम बाबुलाई भेटेर खुसी भए । उता बाबु जबिर मियाँ भने छोरालाई ल्याएको सामान दिन नपाएर दुखित थिए ।
भारतमा मजदुरी गर्ने दिलसाद सँगै आएका साथीमा कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टीनमा बसेका हुन् ।
।