इटहरी : बलात्कार अभियोगमा पक्राउ परेका कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबालाई सोमबार जिल्ला अदालत सुनसरीले सफाइ दियो । एक वर्ष अगाडी बलात्कारको मुद्दामा पक्राउ परेका गिरीलाई सोमबार एकपक्षीय बहसबाट नाटकीय रूपमा सफाइ दिएको हो ।
एकपक्षीय बहस अर्थात् गिरी पक्षबाटका वकिलहरूले मात्र गरेको बहसको आधारमा जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाको ‘बेन्च’ले सफाइ दिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय इजलास सुरु हुनु अगाडी दिएको पेसी हटाउन दिएको निवेदनलाई बेवास्ता गर्दै कोइरालाको इजलासले एकपक्षीय बहसको आधारमा अन्तिम आदेश दिएका थिए ।
सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न अनुरोध गर्दै पेस गरेको पत्र इजलासले दर्ता गर्नै मानेन । सरकारी वकिल कार्यालयको चलानी नम्बर १७९४ मिति २०७७/०८/२२ को पत्रमा सक्कल मिसिल तत्काल आफूहरू सँग नभएकोले पेसी सार्न अनुरोध गरिएको थियो ।
त्यसो त सङ्क्रमण महामारीको बेला वकिलहरूले सामान्य निवेदन दिँदा समेत सर्ने पेसी सरकारी वकिल कार्यालयले विशेष पहल गर्दा समेत अदालतले बेवास्ता गर्यो । जबकि मुलुकी फौजदारी कार्यविधि संहिताले मुद्दाको वादी र प्रतिवादीले तिन पटक सम्म आफ्नो मुद्दा सार्न पाउने अधिकार राख्ने सरकारी वकिल कार्यालयका प्रमुख गोकुल निरौला बताउँछन् ।
केही दिनअघि बलात्कार मुद्दामा नै थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वोच्चसम्म मुद्दा पुग्दा जिल्ला सरकारी वकिल कार्यालयबाट मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको थियो । अहिले सम्म त्यो मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा फिर्ता आएको छैन । तर सोही ब्यहोरा खुलाएर दिएको निवेदनलाई अदालतले भने दर्ता गर्न मानेन र एकल निर्णय सुनायो ।
आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा गत २०७६ मङ्सिर १६ गते गिरी पक्राउ परेका थिए । पक्राउ परेपछि आरोपित गिरीलाई जिल्ला अदालतले धरौटी खुलाएको थियो । पछि उच्च अदालतले जिल्लाको फैसला त्रुटिपूर्ण रहेको जनाउँदै पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
त्यसपछि आफूलाई छाड्नुपर्ने माग राख्दै गिरीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले केही साताअघि मात्र उनलाई थुनामै राख्ने आदेश गरेको थियो ।
प्रमाण हुँदाहुँदै छुटेका गिरी
प्रमाण हुँदाहुँदै गिरीलाई छोड्ने प्रक्रिया अन्तिम फैसलामा मात्र हैन थुनछेक बहसमा पनि भएको थियो । २०७६ पुस १४ थुनछेक बहसपछि गिरीलाई जिल्ला अदालतका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तिन लाख धरौटीमा छोडेको थियो । पछि सो निर्णयलाई उच्च र सर्वोच्च अदालतले नै उल्ट्याइ दिएको थियो ।
अदालतमा मुद्दा दायर भएदेखि नै जिल्ला अदालतमा वकालत गर्ने अधिकांश वकिलहरूले गिरीलाई अदालतले प्रथम दृष्टिमै दोषी करार गर्ने अनुमान गरेका थिए । पीडितले पहिलो प्रमाणको रूपमा सिद्धबाबाको नाम किटानीका साथ आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
प्रमाण ऐनले पहिलो प्रमाणको रूपमा जाहेरीलाई नै लिन्छ त्यसपछि अनुसन्धान हुने गर्दछ । जाहेरी दिएपछि घटनाको अनुसन्धानमा सिद्धबाबाले पीडितलाई साधनाका लागि आश्रममा बोलाएको म्यासेज दोस्रो प्रमाणको रूपमा देखिएको छ । जुन विषयलाई प्राविधिक परीक्षणबाट पनि पुष्टि गराइएको छ ।
मिसिलमा जाहेरी अनुसारको स्वास्थ्य रिपोर्टले बलात्कार गरेको देखिँदैन थियो । बलात्कार भएको लामो समयपछि मात्र जाहेरी दिएकोले स्वास्थ्य रिपोर्टबाट बलात्कार भएको प्रमाण पुर्याउन सक्ने अवस्थामा प्रहरी र सरकारी वकिलले सक्दैन थियो।
तर, गिरीले पीडित महिला सँग माफ मागेको अडियो सरकारी वकिलको ठुलो ठोस प्रमाण थियो । जुन फोन रेकर्डमा सिद्दबाबा भनिने कृष्णबहादुर गिरीले पीडित महिलासँग माफ मागेको आवाज थियो । जसलाई बिधिबिज्ञान प्रयोगशालाले समेत सो अडियो गिरीकै भएको औँल्याएको थियो ।
सिद्धबाबाले घटनापछि आफ्ना भक्त भोला बरालको फोनबाट एक घण्टा २० मिनेट पीडितसँग फोन गरेका थिए । किनकि सरकारी वकिल कार्यालयले पेस गरेको प्रमाणको लिस्टमा अडियो रेकर्ड पनि थियो ।
अडियो रेकर्डमा मात्र हैन सरकारी वकिल सँग दिएको बयानमा समेत गिरीले माफ मागेको अडियो आफ्नै भएको स्वीकारेका थिए । गिरीले अन्य अनुयायीहरूको आग्रहमा आफूले करणी नगरे पनि धर्म रक्षाका लागि माफ मागेको घुमाउरो रूपमा स्वीकार गरेका थिए ।
सरकारी वकिलको सवाल नम्बर २१ को मा रहेको फोन संवाद बारेको प्रश्नमा जबाफ दिँदै उनले माफी मागेको स्वीकार गरेका थिए । जसमा भनेका थिए,
'मलाई मेरा शिष्य भोला बराल लगायत सम्पूर्ण भक्तजनहरूले गुरुदेव हाम्रो यो धर्म र आस्थासँग जोडिएको कुरा हो । हाम्रो धर्म संस्कृति समेत लोप हुने अवस्थामा छ । तपाई आवाल ब्रह्मचारी मान्छे तपाईँको घरद्वार केही नभनी जगत् कल्याणका लागि आफ्नो सम्पूर्ण जीवनलाई आहुती दिएर निस्कनु भएको साधुलाई केही फरक पर्दैन, यिनी निकै जिद्दी छिन, गुरुदेव प्रति भक्तिभाव भए जस्तो देखिन्छ, हजुरले दिएको सल्लाह निजले मान्न सक्छिन्, यिनले १ वर्ष देखी एकोहोरो रूपमा हजुरलाई म्यासेज पनि गरेकी रहिछन्, हजुरबाट कुनै उत्तर आएनछ, एक पटक गुरुदेव हजुरले माफी मागी दिनु भनी पोखरा काठमाडौँ लगायत मेरा देशै भरिका साधकहरूले अनुरोध गरेका हुँदा किन यिनले बार-बार मलाई नै दोषी देखाएर यस्तो गरिरहेकी छिन, कतै आश्रममै मेरा कुनै शिष्यबाट केही गलत त भएको छैन ?
भएको भए यो आश्रमको पिठाधिस भएको नाताले त्यसको सम्पूर्ण जिम्मेवारीबाट म पछाडि हट्न मिल्दैन भनी यिनीसँग कुरा गर्नु पर्छ भनी मलाई मनमा समेत परेको र म आवाल ब्रह्मचारी परिब्राजाक त्रिदण्डी स्वामी, मैले लोक कल्याण बाहेक अरू केही जानेको छैन, लोक कल्याणको लागि नै म भक्त भागवत सेवामा संलग्न भएको, शास्त्रमा भनिएको छ “सनमान निरादर आदरही सवसन्त सुखी बिचरन्ति मही“ (रामायण) साधुका लागि सम्मान अपमानसँग कोही प्रयोजन हुँदैन जसरी लोक कल्याण हुन्छ त्यसैमा आफूलाई समर्पित गर्ने हाम्रो सिद्धान्त रहेको छ ।
भनिएको छ “सही दुख पर क्षिद्र दुरावारबन्दनिय जेही जग जस पावा“ अनुसार यदि मैले ती देवीलाई अनुरोध गर्दा धर्मको उपहास हुनबाट बच्न सक्छ भने मेरा सकल भक्तहरूको अनुरोधलाई हार्न नसकी बरु म विष पिउन तयार छु हिन्दु धर्म, संस्कार, परम्परालाई बचाउन उनी जे भन्छिन् सो समेतलाई जगतको भलाई र कल्याणका लागि गरौँ भन्ने आशयले उक्त अनुरोध गरिएको हो ।
मैले सो वार्तालापमा निज देवीलाई तिमी तुलसी जस्तै, गंगाजल जस्तै पवित्र छौ, तिमीलाई त्यस्तो घटना भएको होइन, तिमीलाई त्यस्तो भाव आएको हो । भक्तीमार्गमा साधकहरूमा अनेकौँ प्रकारका भावहरू आउन सक्छन् । त्यसैमा तिमीलाई कुनै भाव आएको हो। तिमी पवित्र छौ, आमा जस्ती छौ, तिम्रो गोडामा म बारम्बार वन्दना गर्दछु भनी धर्मलाई जोगाउन अति भावबिह्वल भई तिमीलाई त्यस्तो भाव मात्र आएको हो भन्दा उनी बार(बार मलाई नै दोषी देखाए पछि धर्म रक्षा र जगत् भलाईका लागि आफू निर्दोष हुँदा हुँदै पनि निज देवीसँग माफी मागी दिएको हुँ ।
यसरी आफ्नो धर्म सम्प्रदायको सिद्धान्त, आफूले आफ्नो जीवनभर पालना गरी आएको मूल्य, मान्यता र आचरणका विपरीत कथित आरोपका सन्दर्भबाट माफी शब्द प्रयोग गर्न पर्दा म अत्यन्त कारुणिक हुन पनि पुगेको थिएँ । निजले पुनः एक पछि अर्को षडयन्त्र रची फसाउने नियतले कानुन विपरीत झुक्याएर आवाज रेकर्ड गरेर मिडियामा सार्वजनिक गरी दिएको र प्रमाणमा लगाई पाउँ भनी मेरा विरुद्धमा निवेदनका साथमा अनुसन्धान मा पेस गरेको कुराले हामी निकै मर्माहित भएका छौँ । कानुन विपरीत कसैको टेलिफोन वार्तालापलाई अनाधिकृत रूपमा रेकर्ड गरी कसैको इज्जत आमद प्रति खेलबाड गर्ने सम्मको दुष्चरित्रलाई पर्दाफास गरी न्यायको यस मन्दिरबाट निसाफ पाउँछु भन्ने विश्वास समेत लिएका छौँ ।
सिद्धबाबाको बयान मात्र होइन, उनकै अनुयायी पोखराका भोला बरालले पनि बाबाले धर्मका लागि माफ मागेको बताएका छन्। गुरुबाट त्यस्तो कार्य नहुने भए पनि कल्पनामा डुबेकी साधिकाबाट गल्ती हुन गयो भनेर बाबजीले मेरै मोबाइलबाट फोन सम्पर्क गर्नुभएको हो भन्दै उनले घटना स्वीकारेका छन् ।
भोला बरालको बयान
...त्यसपछि ती महिलासँग कुरा गर्दा निजले मलाई स्वामी जी ले माफी माग्नु पर्छ भन्न थालिन् । पुनः मैले स्वामी जी लाई फोन गरी यीनलाई अरू कुनै साधकहरूबाट कुनै किसिमको अभद्र व्यवहार भएको पनि हुन सक्छ या त यिनी ठुले षड्यन्त्रमा छिन वा हजुरलाई भेट्न नपाएको रिसईवी साध्न खोजेकी छन् हजुरले सानो भएर झुकेर, नरम भएर कुरा गरी दिनु पर्ला भने पछि स्वामी जी कुरा गर्न तयार हुनु भयो ।
मलाई तपाईँको मोबाइलबाट फोन लगाउनुहोस् म कुरा गर्छ भनिन् । फोन लगाएर कुरा गर्दा आफ्नो श्रीमानको मोबाइल सँगै टाँसी राखी रेकर्ड समेत गरी विभिन्न टि.भि. च्यानलमा बजाउन समेत लगाईछन् । यसरी कसैको अनुमति बेगर सम्मानित अदालतमा विचाराधीन रहेको मुद्दामा प्रमाणमा लाग्ने गरी कुनै सञ्चार माध्यमबाट को दोषी को निर्दोषी छुट्याउने गरी मिडिया ट्रायल गर्दै मुलुकी फौजदारी संहिता २०७४ को २९७ बमोजिम कानुन विपरीत काम समेत गरेकी हुँदा म निज माथि कानुनी कारबाही समेत होस भनी माग गर्दछु, यसमा स्वामी जी को कुनै दोष छैन मैले त्यसरी स्वामी जी लाई कुरा गरी दिनुहोस् भनेर जुन अनुरोध गरेँ त्यस प्रति मलाई आत्मग्लानि भइरहेको छ।
निज महिला कपटी छली विभिन्न भेष रूप धारण गरी प्राणी मात्रको रक्षाको निमित्त हिन्दु धर्मको मर्मलाई नै गहिरो आघात पुग्ने गरी कपोकल्पित, निर्देशित,परिचालित, असम्भव मिथ्या आरोप लगाई हामी लाखौँ भक्तजनहरूको आस्थामा ठेस पुर्याउने र कानुनका विभिन्न छिद्रहरूमा खेली करणी जस्तो घिनौना लाञ्छना गुरुदेव आवाल ब्रह्मचारी त्रिदण्डी जगत् गुरुलाई लगाएकोमा म अत्यन्तै दुखी छु । यसमा मेरो स्वामी जी महाराजलाई निज महिलासँग कुरा गराउने जुन गल्ती भयो गुरुदेवको सट्टामा कानुनले मलाई कारबाही गरोस् म सहन भोग्न मन्जुर छु ।
यसरी सरकारी वकिलमा दिएको बयान भने अदालतमा पुग्दा गिरीले परिवर्तन गरे । सरकारी वकिलको बयानमा माफी मागेका सिद्धबाबाले अदालतमा भने आफूले गरेको बयान झुटो रहेको बताएका थिए। अदालतको सवाल नम्बर १९ को जवाफी बयानमा सिद्धबाबाले जाहेरवाला अर्थात् पीडितसँग फोनमा बोलेको र माफ मागेको झुट हो भनेका छन् ।
गिरीले सरकारी अधिकारी सँग दिएको बयानमा आरोप स्वीकार गरेका थिए । तर अदालतले सो बयानलाई फैसला गर्दा पनि ठुलो प्रमाणको नहेरेको देखिन्छ । जबकि प्रमाण ऐन २०३१ को दफा १८ अनुसार सरकारी अख्तियारवाला व्यक्ति अर्थात् सरकारी वकिलसमक्ष दिएको बयान प्रमाण हुने स्पष्ट छ।
प्रमाण ऐन भन्छ ‘कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानुनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ ।’
‘प्रमाण ऐनले स्पष्ट सिद्धबाबाको पहिलो बयान प्रमाण हुने बताएको छ, ‘नाम खुलाउन नचाहेका एक जिल्ला अदालतमा वकालत गर्दै आएका अधिवक्ता भन्छन्, ‘तर अदालतले दिएको आदेशमा भने कतै पनि त्यो विषयलाई मध्यनजर गरेको देखिँदैन।’
सुरुवाती बयानमा सिद्धबाबाले स्वीकार गरेको मात्र होइन, बिधिविज्ञान प्रयोगशालाको रिपोर्टले पनि त्यसो आवाज सिद्धबाबाकै हो भन्ने देखाएको छ। रिपोर्टमा ७६.९ प्रतिशत आवाज मिलेको अदालतले स्वीकारे पनि ठुलो प्रमाणको रूपमा लिएन ।
अनुसन्धानमा प्रहरीको झेल, सरकारी वकिलले 'सच्यायो'
बलात्कार मुद्दा दायर गर्ने बेला नै मुद्दालाई कमजोर बनाउन सुरु भएको थियो । सुनसरि प्रहरीले जाहेरी लिन आनाकानी भएको जनाउँदै पीडित महिला केन्द्रीय अनुसन्धान ब्युरो सीआइबिमा जाहेरी दर्ता गराएकी थिइन् ।
पीडित महिलाले गत पुसमा पत्रकार सम्मेलन गर्दै तत्कालीन अनुसन्धान अधिकृत डिएसपी विनोद शर्माले किटानी जाहेरी पर्नासाथ मिलापत्रका लागि दबाब दिएका जनाएकी थिइन् । दबाबमा नआएपछि शर्माले गिरीको पक्षमा हुनेगरि मात्र साक्षी कागज तयार पारेको आरोप पीडितले लगाएकी थिइन् ।
अनुसन्धान बलियो बनाउनुपर्ने प्रहरीले पीडितको दाबीलाई खण्डन गर्न बल पुग्ने यस्ता प्रमाण जुटाएर आरोप पत्र पेस गरेको थियो । सोधपुछका दौरान उभ्याइएका सबैजसोले पीडितलाई दोष दिएको देखाइएको थियो ।
प्रहरीको हिरासतको सट्टा गिरीलाई अस्पतालमा राखेको थियो ।
कुनै निश्चित बिरामी नदेखिएको गिरीले अनुसन्धान देखिनै हिरासतलाई छलेर अस्पतालको सुविधा सम्पन्न कोठामा बसेका थिए । पक्राउ पर्ने छनक पाएदेखि नै बिरामी भएको भन्दै अस्पताल बसेका गिरिलाई प्रहरीले आफ्नै हिरासतमा राखेर अनुसन्धान गरेन ।
खास के बिरामी भनेर यकिन हुन नसके पनि अस्पताल प्रशासनकै सहयोगमा उनी विराट नर्सिङ होमको सुविधा सम्पन्न आइसियु कक्षमा बसेका थिए । तत्कालीन अवस्थामा प्रहरीले १४ दिन अनुसन्धान गरिसकेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको थियो । तर प्रहरीले (मिसिल) बुझाए पनि अनुसन्धान अझै बाँकी रहेको भन्दै सरकारी वकिलमार्फत म्याद थप गरेर थप प्रमाण सङ्कलनमा लागेको थियो । जसले गर्दा मुद्दा स्थापित हुने प्रमाण सङ्कलन भएको देखिन्छ ।