धरान : गत फागुन १८ गते देखि धरानका विभिन्न बङ्गुर फर्महरूमा पालिएका बंंगुरहरुमा नयाँ पि.आर.आर.एस PRRS (porcine reproductive and respiratory syndrome) भाइरसको सङ्क्रमण देखा परेको छ ।

धरानको देवान कृषि फर्म, देउराली कृषि फर्म, मातृभूमि कृषि फर्म, सङ्गीता कृषि फर्म, पानबारी कृषि फर्म, दुर्गा कृषि फर्म, आरुबोटे कृषि फर्म र डिआरएस कृषि फर्मका बङ्गुरहरूमा PRRS को सङ्क्रमण देखा परेको धरान उपमहानगरपालिका पशु सेवा केन्द्र शाखाका प्रमुख महेन्द्र कुमार पैकराले जानकारी दिए ।

शाखाका डा. बर्खराज राईका अनुसार गएको फाल्गुण १८ गते धरानमा देवान कृषि फार्मको भाले बङ्गुरमा देखा परेको लक्षण खाना नखाने, धेरै सुत्ने, ज्वरो आउने आदी लक्षण देखा परेको उनले बताए । उनले भने 'यो लक्षण सँगै गर्भिणी बंंगुरहरुमा पनि बच्चा तुहिने, र जन्मेका बच्चाको पनि मृत्यु हुने गरेको लक्षणहरू देखा परेका थिए ।'

Bangur-2

धरानमा गत फागुन १८ गते देखि वैशाख १ गते सम्मको पशु सेवा शाखाको तथ्याङ्क अनुसार फर्म र अन्य बङ्गुर पालन किसानहरुकोमा २ सय ८१ बंंगुर मर्दा ४७ लाख ७४ हजार बढीको क्षति किसानलाई भएको छ। मर्ने बङ्गुर बढी गर्भिणी र साना पाठा रहेका छन् । राईले भने 'त्यस पछि पोथी बङ्गुरमा र भाले बङ्गुरको एन्टीबडी इलाइजा विधि परीक्षणबाट रगत पनि नमुना सङ्कलन गरी परीक्षण गरी बङ्गुरमा एक तहको भाइरस पुष्टि भएको हो ।'

सङ्कलित रगतको नमुना पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा र पशु विज्ञ केन्द्र इनरुवा  PRRS -ELISA  टेष्ट गर्दा भाइरसको पहिचान हुन नसके पछि पशु सेवा अन्वेषण केन्द्र काठमाण्डौले PRRS भाइरसको सङ्क्रमण पुष्टि गरेको हो ।

पुष्टि सँगै यो सङ्क्रमण १९९२ मा क्यारोलिनाबाट सुरुवात भएको र चिन, एसिया र अफ्रिकामा देखा परे थियो भने नेपालमा पहिलो पटक केही ठाउँका देखा परेको अन्वेषण केन्द्र काठमाण्डौले जनाएको छ ।

यो बङ्गुरहरूको केसमा मात्र घातक रोग हो । यो RNA को Arteriviridae  Arterivirus को परिवारले आरटेरी भाइरस बङ्गुरमा लगाउने पशु चिकित्सकहरूको भनाई छ ।

धरानका मृतक बङ्गुरको पोस्टमार्टम गरी रोगको अनुसन्धान गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा यो भाइरसले बङ्गुरहरूको फोक्सोमा र प्रजननमा मात्र असर पुर्‍याउने भएकाले यो प्रजनन सम्बन्धी रोगले मानिसलाई कुनै पनि असर नगर्ने, मानिसमा यस रोग नसर्ने र बिरामी बङ्गुरको मासुको बिक्री वितरणले पनि स्वास्थ्यमा असर नपुर्‍याउने डा. राईको भनाई छ। उनले भने 'रोग लाग्न साथ धरानमा धेरै बङ्गुरहरू मरे । तर, पहिलाको भन्दा धरानमा निकै सुधार आएको छ।'

Bangur-3

यस रोगको रोकथामको लागि पशु सेवा शाखा भेटनरी अस्पताल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ ले करिब दुई लाख बराबरको जैविक सुरक्षा सम्बन्धीका औषधि स्लाईन् तथा वैकल्पिक खोर धरानलाई प्रदान गरेको छ । भने फर्म सञ्चालकहरूलाई रोकथामका लागी गोष्ठी र सचेतनामूलक कार्यक्रम पशु शाखाले गर्दै आएको छ ।