धरान : लोक गायक सुरेश गन्धर्वको अहिले स्वास्थ्यमा निकै सुधार आएको छ ।

चर्चित गीत 'रिङ्केवुङ्को राँगो' बोलको गीतका गायक गन्धर्वले बिरामी अवस्थामा उपचारकोलागी नगद तथा अन्य सहयोग गर्ने सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

गन्धर्वले उपचारमा सुरु देखि नै लागिपर्ने रंगभुमी एकेडेमीका विष्णु मोक्तान, संचारकर्मी संजिता धमला, नवीन रम्तेल, इन्द्रेणी टिमका प्रबन्ध निर्देशक कृष्ण कडेंल र पब्लिक स्पिकरका विजेता तथा गायक रमेश प्रसाईँ लगायत सबैलाइ धन्यवाद दिए ।

उनले धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी, निःशुल्क उपचार गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठालाई पनि धन्यवाद व्यक्त गरेका छन्। 

गीतकार तथा समाजसेवी मिना सिंगक, नायिका रेखा लिम्बु, चलचित्र निर्देशक अरुण प्रधान, होप धरानका अध्यक्ष निश्चल पलिखे लगायतले उपचारमा अहोरात्र खटेर आफ्नो बाबुको पुनर्जन्म भएको छोरी तारा गन्धर्व बताउँछिन् ।

गन्धर्व उमेरले पाको तर गीत सधैँ जवान

सिके श्रेष्ठले रचना गरेको रिङकेवुङके राँगोलाई बोलको गीत कत्तिले पहिला सुनेर नृत्य गरेका हुन् पुनः त्यही गीत रमेशले गाउँदा पनि गन्धर्वकै शिर र स्वरको उच्च सम्मान छ ।

टिकटकमा हिट यो गीत अहिले पनि यो गीत युट्युबमा १२ मिलियन प्लस भ्युज छ । गन्धर्व उमेरले मात्र बुडा देखिन्छन् तर सारङ्गी देख्न साथ सकीनसकी उनी सारङ्गी रेटेर पुराना गीतहरू गुनगुनाउँछन् तसर्थ उनको गीतप्रतिको माया जवान देखिन्छ ।

६६ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका उनले थाहा पाउँदा देखिनै सारङ्गी बजाउने गर्दथे । सारङ्गी रेट्दै हिँडेको करिब ५२ वर्ष बढी भएको छ । जीवनमा उनले धेरै गीत गाएर नै धेरैको मन जिते ।

गन्धर्वलाई नयाँ पुस्ताहरूले कतिले चिन्दैनन् तर, पुराना पुस्ताका धेरै गन्धर्वका फ्यान छन् । नेपाली लोक संस्कृतिमा नयाँ आयाम थप्ने गन्धर्वले नेपाल भारतलाई गीत सङ्गीतमा जोड्ने काम पनि गरेका छन् । उनले गीतबाट कतीजनालाई हँसाए त कति जनालाई नचाए अनि उनले गाएका गीतले कुनै समय सञ्चारको पनि काम गरेको थियो ।

उनका गीत भिरपाखा र कुना काप्चामा मात्र सङ्गीतमय हैन हरेक चार्ड पर्वलाई रोचक अनि रोमाञ्चक बनाएका थिए । गन्धर्वका गीतले सयौँ गन्धर्वहरुले जीवन पनि चलाए । कयौँ संगीतप्रेमीहरु गायक पनि बने ।

उनको यो सुमधुर आवाज झुपडी देखि गगन चुम्ने महलहरूमा अझै गुज्जी रहेका छन्। राजनीतियज्ञहरुले उनलाई औधी रुचाएको एमालेका केन्द्रीय नेता मुरारी सुवेदी बताउँछन् ।

धेरैलाई गन्धर्व कहाँ बस्दै आएका छन् भन्ने थाहा छैन । उनी धरानको पुछार भनेर चिनिने धरान-८ बरगाछीमा लामो समय देखि धरानलाई कर्मथलो बनाएर एउटा जीर्ण घरमा भाडामा बस्दै आएका छन् ।

कलाकार देशका गहना भनिन्छ तर, शरीरमा तागत हुँदा सम्म आफ्नो मौलिक संस्कृतिलाई जोगाउन कम्मर कस्नेहरू उमेर ढल्किए सँगै थला पर्दा कतैबाट सोधी खोजी नभएको गन्धर्वको दुखेसो छ । मुटु रोग, युरिक एसिड (बाथ), सुगर (मधुमेह), प्रेसर र थाइराइड जस्ता रोगका कारण आर्थिक अभावले कमजोर भएका गन्धर्वलाई मङ्सिर ९ गते बिपीमा विष्णु मोक्तान र नेकपा नेता चोत्लुङ मेन्याङबो र सञ्चारकर्मी धमलाले उनलाई प्रतिष्ठानको ट्रपिकल वार्डमा उपचारका लागि भर्ना गराएका थिए ।

स्वास्थ्यमा सुधार आएकाले मङ्सिर १६ गते अस्पतालबाट घर फर्केका थिए । पुस ३ गते गन्धर्वको स्वास्थ्यमा समस्या देखिएपछि फेरि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा भर्ना भएका थिए । प्रतिष्ठानमा भर्ना भएको खबर सुनेर उनलाई देश विदेशका नेपालीहरूले सहयोग गर्दै आइरहेका छन् । अहिले सम्म ४ लाख २८ हजार २ सय ४५ आर्थिक सहयोग सङ्कलन भएको छ ।

गन्धर्वले कहिल्यै बिर्सँदैनन् :

उनले भने ‘म पहिला गीत गाउँदा बजार क्षेत्रमा त प्रहरीले टिकी खान दिँदैनथे।'

धरानमा पनि मैले त्यस्तो भोगाई नभोगेको हैन। काठमाण्डौको पशुपती बनकालीनमा २०६० सालमा रोडमा बसेर गीत गाउँदा एक प्रहरी अधिकृतले तेरो मुन्टो चुँडाएर फालिदिन्छु सम्म भनेको तितो स्मरण अहिले सम्म पनि विर्सेका छैनन् ।

कतिपय स्थानमा गाउँघरका मानिसले पनि बचन लाउने गर्दथे, धेरै चित्त दुख्थ्यो म सहन्थेँ ”नेपाल भारतका धेरै ठाउँहरू हिँड्दा धेरै दुःख,भोक र प्यास, तिता बचन सहेर लोकसभाकामा निरन्तरता दिएको उनी बताउँछन् ।

कति दिन त म भोकै बसेको छु, । कति दिन पानी खाएर दिन कटाएको छु । कति दिन सुख्खा चिउरा खाएर गीत सङ्गीतलाई जोगाउँदा आज स्वास्थ्यलाई असर पुग्यो तर, स्वास्थ्यमा सुधार आए पनि भित्र देखी आवाज निकालेर गीत गाउन मलाइ असहज हुन्छ । पहिलाको जस्तो सजिलो नभएको गन्धर्व बताउँछन् ।

पृथ्वीनारायण शाहको पालाका त्यस अघि राजाको पालामा सत्य घटनामा आधारित हत्याहरू र पर्वहरूको जानकारी लोकगाथा बनाएर गन्धर्वले सुनाउने चलन थियो । सूचना जस्तै हुन्थ्यो । तर, गन्धर्वले भने अहिले प्रविधि सँगै आधुनिक बाजा बजाउँछन् ।

पछि त सांरगी के हो ? भन्छन् होला ? ‘सारङ्गी गन्धर्वहरूको मात्र हैन नेपालको सान मान र पहिचान हो तर, अहिले आधुनिक बाजालाई मञ्च र स्टेज छ तर, लोकबाजालाई मात्र सडक ’ त्यसैले सारङ्गी जर्गेना गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न राज्यले सहयोग नगरेको उनी बताउँछन् ।

२०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिङकेवुङके राँगोलाई बोलको गीत रेकर्ड गरेका थिए । पारिश्रमिक बापत उनले त्यति बेला २५ सय पाएका थिए । २०६० सालमा नेपालमा सांरगी बाध्य वादनमा दोस्रो भएर पुरस्कृत समेत भएका थिए ।

मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी र विद्यादेवी भण्डारीको साथमा समेत एकताका सांरगी बजाएर हिँडेको उनी बताउँछन् । पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई पनि रिङकेवुङके राँगोलाई बोलको गीत गाएर नचाएको उनी पुरानो कुरा सम्झन्छन् ।

गन्धर्वले भने 'गीतको सर्जकहरूले पाउनु पर्ने जुन रोयल्टी बापतको रकम हुन्छ त्यो मैले नपाएको तर, आफूले गाएका गीतहरू अझ रेडियो टेलिभिजनमा प्रसारण हुँदा पनि दर्शक देखी रोयल्टी चैँ हात परेको छैन।'