आज प्रहरी दिवस मनाइँदै छ । आज ६६ औ प्रहरी दिवस विविध कार्यक्रम गरी देश भरी मनाइदैछ ।
विक्रम सम्बत २०१२ साल असोज ३१ गते जारी भएको “प्रहरी ऐन २०१२” ले प्रहरी सङ्गठनलाई वैधानिकता प्रदान गरेकोले उक्त दिनलाई नेपाल प्रहरीले हरेक वर्ष “प्रहरी दिवसको” रूपमा मनाउँदै आइरहेको छ ।
नेपाल प्रहरीको विकास क्रमलाई हेर्दा बि.सं. १९५५ मा अमिनी पुलिसको व्यवस्था गरेको पाईन्छ । यसले अदालत सरह सजाय पनि गर्न सक्दथ्यो ।
बि.सं. १९६७ मा काठमाण्डौमा कोतवाली प्रहरी स्थापना गरी चोरी, डाँका नियन्त्रण र बन्दुक इजाजत पत्र दिने आदि काम सुम्पिएको थियो ।
बि.सं. १९७४ मा काठमाडौँ बाहिर पनि वीरगन्ज, नेपालको पूर्वी तथा पश्चिमी भागहरूमा पुलिस गोश्वाराको व्यवस्थालाई विस्तार गर्यो ।
बि.सं. १९९१ साल पौष २७ गते पुलिस गोश्वारा सवाल प्रचलनमा आयो र यसमा प्रहरीको काम–कर्तव्यहरू परिभाषित गर्यो ।
काठमाडौँ स्थित पुलिस गोश्वारालाई केन्द्रीय कार्यालयको रूपमा सदर पुलिस, लिच्छिवीकालमा प्रहरीलाई दण्ड नायक, सर्वदण्डनायक, विषय, बिषयपति, गौल्मिक, प्रतिहार, महाप्रतिहार, आदि शब्दहरूले पुकारिन्थ्यो ।
यी शब्दहरूले तत्कालीन समयको प्रहरी तथा न्याय सम्पादन कार्यलाई प्रतिनिधित्व गर्दथ्यो भने मल्लकालमा निरीक्षक भन्ने गरिन्थ्यो । त्यसपश्चात् बाइसे-चौबिसे राज्यमा दरोगा भनी प्रहरीलाई सम्बोधन गरेको पाईन्छ । नेपालको एकीकरण पश्चात् तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पालामा प्रहरीको कार्य समेत सैनिकबाटै हुने गरेको पाईन्छ ।
बि.सं. १९९५ साल अगाडी नै नेपाल अधिराज्यको मध्य पहाडी इलाकामा ८ वटा स्थानमा अदालतको व्यवस्था गरिएको थियो र ती अदालतको मातहतमा विभिन्न चौकीहरू पनि रहेको पाईन्छ । जसले आफ्नो ईलाकामा शान्ति सुरक्षा कायम राख्ने र अदालतबाट आदेश भएको व्यक्तिलाई पक्राउ गरी दाखिला गराउने काम गर्दथे । चौकीमा रहने प्रहरी कर्मचारीहरू चौकीदार कहलाईन्थे ।
राणाकलामा मिलिसिया बडा हाकिमको अन्तरगत राखी राणा शासनका विरोधीलाई दबाउने कार्य भएको पाईन्छ ।
बि.सं. १९४० सालदेखि १९५० को दशकमा थुप्रै थाना चौकीहरू विस्तार गरिए । थाना चौकीको अगाडी पुलिस शब्द जोड्ने प्रचलन पनि यसै दशकमा वीर समसेर राणाको पालामा सुरु भएको थियो ।
श्री ३ चन्द्र शम्सेर बेलायत भ्रमणको समयमा बेलायती प्रहरी व्यवस्थाबाट निकै प्रभावित भई नेपाल फर्के पश्चात् प्रहरी व्यवस्थालाई सुधार गर्ने प्रयास गरेको पाईन्छ, जस अनुरूप गोश्वारामा परिणत भएपछि सङ्गठन विस्तारको क्रममा बि.सं. १९९२ सालमा डोटी सिलगढीमा पुलिस गोश्वारा, १९९३ मा बेथरी र बुटवलमा पुलिस इन्स्पेक्टर अफिस स्थापना भयो ।
बि.सं. १९९५ सालमा सवारी नियन्त्रणको लागि तत्कालीन शाही नेपाली सेनाको राम दल पल्टन प्रहरीमा काज खटी आएको थियो ।
बि.सं. २००४ सालदेखि क्षेत्रको आधारमा पूर्वतर्फ जनकपूरमा र पश्चिमतर्फ बहादुर गन्जमा सुपरिटेन्डेन्ट अफिस खडा गरियो ।
बि.सं. २००७ सालमा राणा शासन विरुद्ध क्रान्तिमा संलग्न मुक्ति सेनालाई क्रान्ति पश्चात् रक्षा दल नामकरण गरी प्रहरी सेवामा प्रवेश गराइएको थियो ।
बि.सं. २००८ सालमा नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूबाट सङ्गठित रूपमा परिचालन गर्न प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मेवारी प्रदान गरियो ।
बि.सं. २००९ सालमा मुक्ति सेनाबाट खटी आएकाहरूबाट बग्गीखानामा ट्राफिकको कार्य सुरु गरियो ।
बि.सं. २०१० सालमा वग्गीखाना प्रहरीलाई हस्तान्तरण गरियो ।
बि.सं. २०१२ सालमा प्रहरी व्यवस्थामा विद्यमान कमजोरीलाई हटाई सङ्गठनात्मक रूपले सुदृढ पार्न तत्कालीन राजा श्री ५ महेन्द्र शाहबाट प्रहरी सुधार सुझाव आयोगको गठन भई यसै आयोगको सुझावको आधारमा त्यसै वर्ष नेपाल पुलिस फोर्सलाई वैधानिकता प्रदान गरियो फलस्वरूप २०१२ साल आश्विन ३१ गते प्रहरी ऐन जारी भई नेपाल प्रहरीको बिधिवत स्थापना भएको हो ।
२०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन, १० बर्षे सशस्त्र द्वन्दकाल, २०६२÷०६३ को जनआन्दोलन, तराई–मधेस आन्दोलन साथै विभिन्न कालखण्डमा भएका चुनावी अभियानहरूमा पर्याप्त शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरीले सक्रिय र सशक्त क्षमता प्रदर्शन गर्दै राजनीतिक उतारचढावसँगै आएका चुनौतीहरूलाई सामना गर्दै सह्रानीय ढङ्गबाट कार्य सम्पादन गरेको कुरा सबैका सामु छर्लङ्ग रहेको देखिन्छ ।
बि.सं. २०१५ सालमा प्रहरी नियमावली आएको जसमा प्रहरीको काम कर्तव्य उल्लेख, ३ क्षेत्रीय DIG Office, १० एरिया SP अफिस र ३५ जिल्ला पुलिसको स्थापना भएको थियो । बि.सं. २०१७ सालमा १४ अञ्चलमा SP Office र सबै जिल्लामा Police Office को स्थापना भएको थियो ।
बि.सं. २०२४ सालमा इन्टरपोलको एक सयौँ (१०० औँ) सदस्यता प्राप्त र ५ विकास क्षेत्रमा क्षेत्रीय प्रहरी कार्यालयको स्थापना भएको थियो । बि.सं. २०४० सालमा महिला प्रहरी गुल्मको स्थापना भएको थियो ।
बि.सं. २०५२ सालमा अमर प्रहरीको स्मरणको लागि प्रहरी स्मारकको स्थापना जस्ता विभिन्न कालखण्ड पार गर्दै नेपाल प्रहरी आजको यो अवस्थासम्म आइपुगेको हो ।