धरान : बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्तालाई आगमी वैशाख १५ गते देखि क्रमिक रूपमा भुक्तानी सेवा सुरु गर्ने जनाएको छ । 

बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो । रकम भुक्तानी गर्दा साना बचतकर्ता, ज्येष्ठ नागरिक, स्वास्थ्योपचार, शिक्षा लगायतका आवश्यकतालाई प्राथमिकतामा राखिएको अध्यक्ष मानबहादुर विश्वकर्माले बताए ।

कोभिडको महामारी, वित्तीय क्षेत्रमा तरलताको अभावका कारण उत्पन्न निक्षेप र भुक्तानीमा असन्तुलन पैदा भएर बचतकर्ताले चाहे जति रकम भुक्तान गर्न नसक्दा असहज परिस्थिति उत्पन्न भएको उनले बताए । पत्रकार सम्मेलनमा उनले भने ‘ठुला रकमका निक्षेपकर्तालाई क्रमिक रूपमा भुक्तानीको व्यवस्था मिलाउने छौं।’ 

भुक्तानी सन्तुलनमा यसअघि कहिले काहीँ समस्या आउँदा पनि सहकारीले निश्चित रकम झिक्न अग्रिम जानकारी गराउने नियम अपनाएको बताउँदै अध्यक्ष विश्वकर्माले यसपालि भुक्तानी असन्तुलन असहज रूपमा आइपरेकाले बचतकर्ताहरूलाई कठिनाइको सामना गर्नु परेकोमा क्षमा याचना समेत गरे ।   

उनका अनुसार सहकारीले शेयर सदस्यहरूका उद्योग, व्यवसायमा गरेको ऋण लगानी असुली ढिलाइ भएको तथा कोरोना महामारी र वित्तीय क्षेत्रमा तरलताको अभावका कारण वैकल्पिक व्यवस्था गर्न नसक्दा निक्षेपकर्ताको साँवा व्याज भुक्तानीमा ढिलाइ भएको बताए । सहकारीको ऋण लगानी सहितको कारोबार सहकारी ऐन २०७४ नियमावली २०७५ बमोजिम सञ्चालन भएको उनको दाबी छ ।

बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले पत्रकार सम्मेलनमा बराह सहकारी बराह ग्रुपकै कर्मचारीहरू समेत शेयर सदस्य भएकोले सहकारीको निक्षेपमा बराह ग्रुप जमानी रहने बताए । ग्रुपमा आबद्ध उद्योग व्यवसायमा पनि सहकारीको लगानी रहेकाले त्यसको जमानी बराह ग्रुपले लिने बताउँदै उनले भने ‘अहिलेको समस्यामा सहकारीलाई बराह ग्रुपले सहयोग गर्छ ।’

बराह ग्रुपमा सहकारीको लगानी यति प्रतिशत नै छ भन्ने तथ्याङ्क तयार नगरिएको बताउँदै उनले धरान–८ स्थित गोर्खा डिपार्टमेन्टको भवन खरिदमा सहकारीको कुनै लगानी नभएको स्पष्ट गरे । उनले भने ‘गोर्खा डिपार्टमेन्ट विशुद्ध बराह ग्रुपको लगानीमा खरिद गरिएको हो ।’ त्यसमा कुल १ अर्ब १ करोड रुपैयाँ लगानी भएको अध्यक्ष लामिछानेले बताए ।

बराह सहकारीका धेरै निक्षेपकर्ताले बराह इण्डष्ट्रिजमै रकम लगानी गरेको अर्थमा लिने गरेका छन् । बराह इण्डष्ट्रिज सहितका उद्यमहरूमा संलग्न कर्मचारी लगानीकर्ता सहकारीका शेयर सदस्य रहेकाले पनि यस्तो देखिएको हो । कानुनी रूपमा छुट्टै कारोबार भएता पनि ‘बराह ग्रुप’ले सहकारीको निक्षेपको जमानत लिने कुराले निक्षेपकर्ताहरुलाई पत्रकार सम्मेलनले राहतको सन्देश दिएको छ ।   

कतिपय सहकारी डुबेको अवस्थामा सञ्चालकहरू फरार हुने घटना पनि भएका छन् । बराह सहकारीले भने प्रतिकुल परिस्थितिमा पनि पत्रकार सम्मेलनको आयोजना गरी वास्तविकता जानकारी गराउँदै निक्षेप ढिलो चाँडो भुक्तान गर्ने प्रतिबद्धता जनाएको हो । पाँच हजार बढी शेयर सदस्य रहेको सहकारीमा आर्थिक वर्ष २०७७/०७८ मा कुल ७२ करोड ४९ लाख निक्षेप रहेकोमा कुल ऋण लगानी अङ्क ७९ करोड ३२ लाख ४४ हजार रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Baraha-Bigyapti