धरान : धरानको बराह ग्रुपले सञ्चालन गरेको सहकारीका बचतकर्ताहरूले आज बराहमा नगद भुक्तानीको माग गर्दै घेराउ गरेका छन् ।

बराह बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेडले चैत्र १ गते एक सूचना जारी गरी चैत २२ गतेदेखि बचतकर्ताहरूलाई नगद भुक्तानी गर्ने भनेको थियो । सोही सूचना अनुसार आज बिहानै देखि ठुलो सङ्ख्यामा बचतकर्ताहरू भेला भएर बराह कम्प्लेक्स घेराउ गरेका हुन् ।

बराहले चैत्र १ गतेको सूचना अनुसार आज रकम भुक्तानी नगरेको भन्दै बचतकर्ताहरू आक्रोशित भएका थिए। बिहानै देखि बचतकर्ताहरूको भिड बढेपछि प्रहरी समेत परिचालन गर्नुपरेको थियो ।  बचतकर्ताहरूले खातामा भएको आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग बचतकर्ताहरूले गरिरहेका छन् । 

केही समय देखि बराह सहकारी आर्थिक सङ्कटमा रहेको र बचतकर्ताहरूको रकम चेक मार्फत सटही गर्न खोज्दा पनि रकम भुक्तानी गर्न नसकिरहेकोमा आज रकम भुक्तानी गर्ने भनेर सूचना जारी गरेको थियो । बराह धरान र धरानेको भन्दै विश्वास गर्न बराह ग्रुपले आग्रह गर्दै आएको छ ।

बचतकर्ताहरूको समस्या समाधान गर्न बराह लागि रहेको बराह ग्रुपका शिव लामिछानेले बचतकर्ताहरूलाई आग्रह गरे । ऋण लगानी असुल गर्ने, ऋण लगानी नउठे धितो लिलाम गर्ने लगायत आवश्यक प्रक्रिया अपनाएर पनि लगानी उठाउने र बचतकर्ताहरूको रकम फिर्ता गर्ने बराह सहकारीले जनाएको छ ।

आज रकम भुक्तानी गर्न नसकेकोमा क्षमा माग्दै बराह सहकारीले एक सूचना जारी गरी आउँदो वैशाख १५ गते देखि बचतकर्ताहरूको रकम भुक्तानी गर्ने जनाएको छ । देशभरमा बैकहरूमा ठुला कारोबारहरू नभएको कारण बराहमा पनि समस्या देखिएको बताइएको छ । यसबारेमा बराहका सम्बन्धित अधिकारीहरूलाई टेलिफोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन । 

Braha-1Braha-3Braha-2