इटहरी : नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले इटहरी उपमहानगरपालिकामा साङ्केतिक भाषामा सङ्कल्प पत्र सार्वजनिक गरेको छ। ४ दलीय गठबन्धनले घोषणापत्रका संक्षिप्त विवरण समेटेर साङ्केतिक भाषामा सार्वजनिक गरेको हो। त्यससँगै क्युआर कोड मार्फत पनि सङ्कल्प पत्र हेर्न मिल्ने बनाइएको छ। 

साङ्केतिक भाषाकी शिक्षिका समेत रहेकी जानुका पोखरेलले संकल्पपत्र अनुवाद गरेकी हुन् । इटहरीमा काँग्रेस सहित नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्रको गठबन्धन छ । 
काँग्रेस नगर सचिव विक्रम घिमिरेका अनुसार सानो सङ्ख्यामा रहेका अपाङ्ग नागरिकले समेत बुझ्ने गरी सङ्कल्प पत्र सार्वजनिक गरिएको हो। लोकतन्त्रमा सम्पूर्ण नागरिकको हक बराबर हुने भएकाले सबैले बुझ्ने भाषामा सङ्कल्प पत्र ल्याइएको उनले प्रष्ट पारे। आफूहरूले अपाङ्गको लागि विशेष व्यवस्था मिलाउने उद्घोष गरेको उल्लेख गरे । इटहरीमा लगभग २ प्रतिशत जनसङ्ख्या अपाङ्ग रहेको र त्यसमध्ये सबैभन्दा धेरै दृष्टिविहीन र बहिरा बढी भएकाले उनीहरूलाई समेटिएको उनले बताए । 
गठबन्धनले जारी गरेको सङ्कल्प पत्रमा समग्र इटहरीको गुरुयोजना बनाएर व्यापारिक, औद्योगिक, आवसिय र कृषि क्षेत्रमा वर्गीकरण गरिने उल्लेख छ। इटहरीको प्रमुख समस्याका रूपमा रहेको बाढी र डुबानको समस्यालाई दीर्घकालीन समाधान गर्ने उपाय सङ्कल्प पत्रमा समावेश गरिएको छ। 
कवि मनु मन्जीलको संयोजकत्वमा तयार भएको सङ्कल्प पत्रमा थारु जातीलाई पहिलो जातीको रूपमा सुचीकृत गरिने उल्लेख छ । थारु भाषालाई विद्यालयमा ऐक्षीक विषयको रूपमा पठनपाठन गर्ने देखी महानगर बनाउने सङ्कल्प सहित प्रविधि र पर्यावरण मैत्री सहरको परिकल्पना गरिएको छ। 
गुनासो सुन्ने डेस्क स्थापना गर्ने देखी आन्दोलन र विरोध गर्ने टाउन स्क्वायर निर्माण गर्ने गठबन्धनले प्रतिबद्धता जनाएका छन् । शैक्षिक क्षेत्रको बजेटमा दोब्बर वृद्धि गर्ने, विद्यालयमा सङ्गीत योग र ध्यानको व्यवस्था मिलाउने, सामुदायिक कलेजबाट स्नातकोत्तर उत्तीर्ण गर्ने दलित, सीमान्तकृत र छात्रालाई प्रोत्साहन स्वरूप १० हजार दिने उल्लेख छ। 
इटहरी अस्पतालमा भेन्टिलेटर सहितको आइसियु सेवा उपलब्ध गराइने, सुविधा सम्पन्न अस्पतालको लागि निजी तथा सामाजिक संस्थासँग सहकार्य गर्ने देखी भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा उपलब्ध गराउने सङ्कल्प गठबन्धनले गरेको छ। 
तालीमको नामका कार्यकर्तालाई पैसा बाढ्ने प्रथाको अन्त्य गर्दै स्किल स्कुल स्थापना गरेर युवालाई सीपयुक्त बनाउने सङ्कल्प पत्रमा उल्लेख छ । बिजुली तथा इन्टरनेटको तार भूमिगत गरी इटहरीलाई सुन्दर बनाउने लक्ष्य राखिएको छ । खोला किनारमा साइकल लेन निर्माण गरी बिरुवा रोपेर ग्रिन बेल्ट निर्माण गरिने भएको छ । प्लास्टिक मुक्त इटहरी बनाउने, सार्वजनिक ऐलानी जग्गामा नगर पार्क स्थापना गर्ने र एक घर दुई बिरुवा अभियान अगाडी बढाउने उद्देश्य राखिएको छ। 
इटहरी लगानी सम्मेलन र युवा उद्यमी सम्मेलनको आयोजना गर्ने, सृजनशील युवालाई काम गर्ने वातावरण मिलाउन 'को वर्कीङ स्पेस' को स्थापना गरिने र मोबाइलबाटै कर तिर्ने व्यवस्था मिलाउने सङ्कल्प पत्रमा उल्लेख छ । ज्येष्ठ नागरिक भजन प्रतियोगिताको आयोजना गरी वृद्ध वृद्धालाई उत्प्रेरणा दिने कार्यक्रम गठबन्धनले सार्वजनिक गरेको छ। 
त्यसका साथै ७ बुँदामा नगर्ने विषयलाई समेटिएको छ। उपमहानगरको सेवामा भेदभाव नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग नगर्ने, कानुन बाहिर आर्थिक र व्यक्तिगत प्रभावमा नपर्ने, नातेदार र परिवारका मान्छेलाई सल्लाहकार, विज्ञ, कर्मचारी नियुक्ति नगर्ने, हचुवाको भरमा निर्णय नगर्ने, वित्तीय अनुशासनको उल्लङ्घन नगर्ने, महिला हिंसा तथा विकृति विसङ्गतिलाई प्रोत्साहन हुने काम नगर्ने प्रतिबद्धता गरिएको छ। 
कार्यक्रममा सम्बोधन गर्दै गठबन्धनबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले आफू सङ्कल्प पत्र कार्यनयनमा प्रतिबद्ध भएको बताए। जनताले छुन सक्ने वा महसुस गर्ने सक्ने स्थानीय सरकार आफूहरूले बनाउन लागेको बताउँदै उनले हरेक पल सङ्कल्प पत्र सम्झाउन आग्रह गरे। थारु, लिम्बु तथा कुनै जनजाति जनप्रतिनिधि भएकै भरमा त्यस जातीको संरक्षण नहुने विगतको इतिहास भएकाले अब आफू थारु, तथा जनजाति भाषा तथा कलाको संरक्षणको पहरेदार हुने प्रष्ट पारे। 
उपमेयरका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशव कुमार विष्टले गठबन्धन कुनै हालतमा असफल नहुने बताए। आफू एक स्तर तल झरेर भए पनि इटहरीको विकाशको साक्षी बन्न तयार भएको बताउँदै उनले अबको ५ वर्ष इटहरीको लागि स्वर्णिम काल बन्ने उल्लेख गरे।