हर्ष सुब्बा
धरान: बाँस काटिनु, त्यसमा पनि झ्याङहरूबाट ढलापडा, सुखडखडा बाँस हटाउनु ठुलै समाचार होइन । तर धरान स्थित बुढासुब्बा मन्दिर परिसरको टुप्पो बिनाको बाँस काट्नु उभौली पर्व नै पर्खनु पर्दछ । कहिल्यै नकाटिने घारीहरूबाट सुकेका, ढलेका बाँस हटाउने काम पनि वर्षमा एक पटक मात्र हुने गर्दछ । काटिएका बाँसका टुक्राहरू प्रसादको रूपमा बाँडिने भएकाले बुढासुब्बा को बाँस काटिनु पर्वको तयारीको सङ्केत बन्दै आएको छ। 
सात्रौं पुस्ताका वर्तमान पुजारी उत्तम आले मगर भन्छन्  ‘भक्तजनहरू बाँसका टुक्रा घरमा राख्दा अनिष्टबाट रक्षा हुने विश्वास गर्दछन्, भक्तजनहरूलाई उभौलीका दिन हुने विशेष पूजापछि हामी प्रसादका रूपमा बाँसका हाँगाहरू वितरण गर्दछौ ।’वडा १४ विजयपुरको वडाध्यक्षका एमाले उम्मेदवार पनि रहेका पुजारी आले आइतबार मतगणनाको व्यस्तताका बिच झ्याङमा सुकेका, ढलेर अड्याएर राखिएका बाँसका बोटहरू कटाउन भ्याइरहेका थिए । 
सोमवार बैशाखै पूर्णिमा उभौलीका दिन परेकाले पुजारी आलेका दाजुभाइ परिवार विशेष पूजा तयारीको चटारोमा छन् । पुजारी आलेका अनुसार उभौलीका दिन सत्रौँ पुस्ता अघि बुढासुब्बा मन्दिरमा पूजाआजा गर्न तत्कालीन राजाले प्रदान गरेको ताम्रपत्रको निशान, चाँदीको मुकुट सहित ढोल, झ्याम्टा सहितको लावा लस्कर पुजारीको घरबाट मन्दिर पुग्ने गर्दछ । घरको थानमा राखिएको निशान छापाको पूजाआजा गरी बुढासुब्बा को समाधिका ढिस्कोमा चाँदीको मुकुट पहिर्‍याई विशेष पूजा सम्पन्न गरिन्छ ।   
पुजारी आलेका अनुसार पुर्खाहरूलाई पूजाआजाको लागि प्रदान गरिएको निशान नेपाल एकीकरण भन्दा अघिको अघिको हो । पुरातत्त्व विभागबाट आएका विज्ञहरूले उक्त निशान राजा पृथ्वी नारायण शाह भन्दा अघिको भएको पुष्टि गरेको उनको भनाई छ । आले सँग त्यस बेलाका तरबार जन्य हातहतियारहरू पनि छन् । तर, निशानमा संवत् भने उल्लेख नभएको उनले बताए ।
लिम्बुवानको सांस्कृतिक इतिहासका अनुसन्धाता डा कमल तिगेलाले भने ‘उक्त निशान सेनकालमा सेनवंशी राजाले दिएको हुनसक्छ ।’ उनका अनुसार सेनकालमा राजाहरूले श्याहा मोहर चलाउने गर्दथे । श्याहा मोहरमा कालो मसीको रङ्ग प्रयोग हुन्थ्यो । पृथ्वी नारायण शाह काल देखी शाह राजाहरूले लालमोहर चलाउन थाले । त्यसमा रातो मसीको रङ्ग प्रयोग हुन्थ्यो । बुढासुब्बा धार्मिक स्थलको उत्पत्ति, स्थापनाको किम्बदन्ती र इतिहासका बारेमा अध्येताहरूका छुट्टाछुट्टै तर्कहरू पाइन्छन् ।
‘बाँसका हाँगा, टुक्राहरू प्रसादको रूपमा त्यो पनि विशेष अवसरमा मात्र पाइने बुढासुब्बा संसारको एक मात्र धार्मिक स्थल हो’ विजयपुरका नर्सरी विज्ञ प्रेमप्रसाद पराजुलीका अनुसार यहाँको बारेमा कमैलाई जानकारी भएको बताउँदै टुप्पो बिनाको बाँस भएकोले पनि बुढासुब्बा को बाँसको बेग्लै महत्त्व भएको उनको भनाई छ । संसारका जुनसुकै ठाउँमा भएका नेपालीका लागि आस्थाको एउटा केन्द्र बुढासुब्बास्थलमा वैशाखे पूर्णिमामा महोत्सव मनाउनु पर्ने उल्लेख गर्दै उनले भने  ‘तर बुढासुब्बामा यो अवसर ओझेलमा पर्दै आएको छ ।’
पछिल्लो समय बाँसका झ्याङहरूका बिच बिचमा बाँसका बोट ठाडै सुब्न थालेकामा पराजुली चिन्तित छन् । पानीको कमीका कारण बाँस सुक्न थालेको भनी उनले दुई महिना अघि दाताहरूलाई हारगुहार गरी खानेपानीको ट्याङ्करमा ल्याएर बाँसका झ्याङहरूमा पानी लगाए । विज्ञहरूले भने मन्दिर परिसरमा सिमेन्टका संरचना बढेपछि माटोमा जराको पहुँच घटेकाले बुढासुब्बा को बाँस जोखिममा परेको बताएका छन् । यसको संरक्षणका लागि धरान उपमहानगरपालिकाले योजना स्वीकृत गरेको मेयर तिलक राईको भनाई छ।