धरानको वडा नं १४ मा पर्ने विजयपुर ऐतिहासिक ठाउँ हो । यसको गर्विलो इतिहास छ । करिब सोहौं सताब्दीमा विजयपुर सहर स्थापित भएको मानिन्छ । इतिहासमा विजयपुर किराँतकालीन राजधानी थियो । विजयपुर राजधानी भएको प्रमाण अहिले पनि त्यहाँ भग्नअवशेषहरु भेटिन्छ । यही विजयपुरमा अवस्थित छ, बुढासुब्बा मन्दिर ।
जो कोही यो मन्दिर पुग्दा आनन्दको महसुस हुन्छ । बाँसको झ्याङ, मन्दिरअघि पनि रुख र वरपर पनि प्रकृति । मान्छेहरुको भिडमा पनि तीर्थालुहरुले बजाइ रहने टङटङ घण्टीको आवाजले शान्ति दिलाउछ । हरेक शनिबार यहाँ भक्तजनहरुको घुइचो लाग्छ । फुलपाती चढाउन मात्र होइन, कुखुराको भाले चढाउछन् । यहाँ मगर पुजारी छन् । कुखुराको टाउको मन्दिरमा चढ्छ, पुजारीले टाउको काटेर कुखुराको जीउ फालिदिन्छन् । भक्तजनहरुले आफ्नो कुखुरा चिनेर टिप्नुपर्छ ।
मन्दिरभित्र मुर्ति छैन । माटोको धमिराको ढिस्को जस्तो छ । किराँत इतिहासकार इमानसिं चेम्जोङले यसलाई विजयपुरका राजा बुद्धिकर्ण रायको चिहान भनेका छन् । गोर्खाली राजाले यातना दिएर मरेका बुद्धिकर्णको चिहानबाट निस्केको प्रेतात्माले गाउँलेहरुहरुलाई मद्दत गरेको कुरा केही आध्यात्मवादीहरुले थाह पाए । त्यस दिनदेखि विजयपुरका बासिन्दाहरुले यो बुर्हा(बुढा) सुभाको समाधि हो, यसलाई कुखुरा भालेको भोग दिए बुर्हा(बुढा) सुभाको प्रेतात्माले कुनै न कुनै कुरामा मद्दत गर्नेछ भन्ने विश्वास दिलाएको चेम्जोङको किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास भन्ने पुस्तकमा लेखेका छन् । किराती भाषामा बुर्हा(बुढा) भनेको देवता र सुभा भनेको राजा समान भएको हुनाले बुद्धिकर्ण रायको प्रेतात्मालाई देवता राजा भनि त्यहाँका मानिसहरुले कुखुराको भालेको भोग दिइ पुजा गर्न लागेको सो पुस्तकमा भनिएको छ । चेम्जोङले बुर्हा(बुढा) सुभाकै अप्रभंश भई बुढासुब्बा हुन गएको हो भनेका छन् ।
अहिले यो बुढासुब्बा धरानको प्रसिद्ध तीर्थस्थल भएको छ । यहाँ धरानबाट मात्र होइन, सिक्किम, भुटानतिरबाट पनि आस्था र विश्वास बोकेर मानिसहरु आउछन् । मनोकांक्षा पुरा हुने विश्वास छ । यहाँको बाँसको टुप्पो छैन । कागहरु पनि बुढासुब्बा वरीपरी आउदैनन् । यो अर्को अचम्मको कुरा छ । पहिला युवायुवतीहरुले यी बाँसहरुमा आफ्नो नाम खोप्थे, र प्रेम सफल हुने विश्वास गर्थे । अचेल बाँसमा नाम खोप्न पाइदैन । त्यहाँ मन्दिरमा चढाउने डोरी बाँध्ने चलन छ ।