इटहरी : इटहरीको प्रमुख व्यापारिक क्षेत्र सङ्गीत चोकमा व्यापार गर्दै आएका दीपक खड्का व्यवसायीक सुरक्षाको अनुभूति चाहन्छन् । भरखरै जनप्रतिनिधि ठुलठुला सपना बाँडेर त आए तर आफूहरूको व्यावसायिक सुरक्षा हुन्छ कि हुँदैन उनको चिन्ताको विषय बनेको छ ।
स्थानीय निर्वाचनमा वडा देखी नै युवा नेतृत्व निर्वाचित भएकाले व्यवसायीक सुरक्षामा नयाँ आशा पलाएको उनी बताउँछन् । उनकै पसल अगाडि पाँच वर्षसम्म बन्द रहेको ढल केही दिनमै निर्माण भएपछि उनी खुसी छन् । जनप्रतिनिधिको सुरुवाती कामले उनलाई उत्साहित त बनायो तर यो फैलिएर व्यावसायिक सुरक्षा सम्म पुग्छ कि पुग्दैन ? उनीजस्ता आम व्यवसायीको अपेक्षा छ । जनप्रतिनिधिले व्यापारी र व्यवसायी सँग छलफल पछि सोही अनुसार नीतिगत सहजता दिलाउनुपर्नेमा उनको जोड छ । 
व्यापारीलाई चासोको विषय बनेको अर्के पक्ष हो नगर सरकारले उठाउने कर । यसका सम्बन्धमा कर कार्यालय र व्यापारी सँग छलफल गरेर दोहोरो कर प्रणालीमा भएको संशय हटाउनुपर्ने उनको भनाई छ । अहिले इटहरीमा व्यापारीको लागि सुरक्षित अवस्था नभएको बताउँदै खड्काले सङ्गीत चौकमा सुरक्षाकर्मी समेत व्यवस्थापन मिलाउनुपर्ने धारणा राखे । जहाँ नगर प्रहरी वा जनपद दुबैलाई परिचालन गरी सुरक्षा व्यवस्था मिलाउन सकिन्छ ।
करका विषयमा आफ्नो भोगाई सुनाउँदै ६ वर्षदेखि इटहरीमै सिटी सफारी चलाइरहेका इटहरी-२ का टिकाराम नेपाल अहिले केही राहत महसुस भएको बताउँछन् । अघिल्लो वर्षसम्म सडकमा जबरजस्ती कर उठाउने उपमहानगरपालिकाले यस पटक त्यस्तो दुःख नदिएको उनको भनाई छ । सफारी चालकलाई ट्राफिक प्रहरी देखी कर सङ्कलकको डर हुने गरेको उनको अनुभव छ । परिवारको मुख्य श्रोतको रूपमा रहेको सफारीबाट दैनिक ८ सय देखी एक हजारसम्म आम्दानी हुने गरेको उनले बताए ।
itahari-janta-2“इटहरीमा गरिखान पाउनु नै ठुलो कुरा हो, हाम्रो ठुलो माग केही छैन । सहज तरीकाले मान्छे बोक्न पाए हुन्छ । अहिलेका मेयर उपमेयरले बाढी र डुबानको डर हटाउनुपर्‍यो । अनि अरू त्यस्तो केही छैन ।,” उनले भने “ए अनि अर्को कुरा हामीलाई पार्किङको समस्या छ । बजारमा बाइक र कारको पार्किङ मिलायो भने सफारी चलाउन सजिलो हुन्छ ।” 
यसअघि इटहरीको ४ नम्बर वडामा स्मार्ट पार्किङ निर्माण गर्ने भन्दै उपमहानगरपालिकाले २ कट्ठा १० धुर जग्गामा ६ तल्लाको स्मार्ट पार्किङ निर्माण गर्न लागेको छ । १० करोड लागत अनुमान गरिएको पार्किङ निर्माणको प्रक्रिया सुरु भएको छैन ।   
सडक किनारामा सेकुवा विक्री गरिरहेका सन्तोष श्रेष्ठको ठुलो आशा छैन । इटहरीको बजार व्यवस्थित गरी धुलो मुक्त बजार बनाउँदा आफूहरू धेरै खुसी हुने उनको भनाई छ । इटहरी ६ नम्बर वडाका उनी रात्रिकालीन बजारको आसमा छन् । साँझ पर्ने बित्तिकै प्रहरीले खेदाउने गरेको उनको दुखेको छ । इटहरीमा स्ट्रिट फुडको कन्सेप्ट नयाँ भए पनि धेरै सम्भावना भएको उनको भनाई छ । त्यसको लागि रात्रिकालीन बजार भए रोजगारीका अवसरहरू बढ्ने उनको विश्वास छ । 
उपमहानगरपालिकाले रात्रिकालीन बजारको लागि यसअघि नै २२ लाख बढी खर्च गरिसकेको छ । ४० लाख बजेट विनियोजन गरेको उपमहानगरले आधा बढी रकम खर्च गरेको हो । इटहरी ४ र ६ मा पर्ने आइतबारे लाइनलाई २०७६ कार्त्तिक भित्रमा रात्रिकालीन बजार बनाउने भन्दै थालिएको तयारी पुरा भएको छैन । 
इटहरीको पश्चिम लाइनमा साइकलमा भेटिएका कमल कुमार चौधरीको पनि ठुलो आशा छैन । कार्पेन्टर व्यवसाय गर्दै आएका उनी शिक्षा र स्वास्थ्यमा सरकारले हेरिदिनुपर्ने बताउँछन् । छोरालाई मन्टेश्वरीमै पढाउन धेरै खर्च लागेको भन्दै सस्तोमा राम्रो शिक्षा हुनुपर्ने उनको अपेक्षा छ। पैसा नभए उपचार गर्नै नसक्ने र रोग पत्ता लगाउन पनि महँगो भएकाले छिमेकमा धेरै जना रोग पालेको बसेको उनको भनाई छ । 
नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै इटहरी अस्पतालबाट मात्र पाइने स्वास्थ्य बिमाको रेफर वडा स्तरीय स्वास्थ्य चौकीबाटै लिन पाइने व्यवस्था भएको छ । अहिले २४ सै घण्टा सेवा प्रवाह गरेको इटहरी अस्पतालमा १५ शय्याको भेन्टिलेटर र आइसियु सहितको सेवा सुरु हुने भएको छ ।  
उता नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले इटहरीमा सुविधा सम्पन्न अस्पताल निर्माणमा लागेको बताए । इटहरीको आवश्यकता अस्पताल भएको आफूले महसुस गरेकाले निजी क्षेत्र सँगको सहकार्यमा सुविधा सम्पन्न अस्पताल बनाइने र विपन्न वर्गको उपचारमा विशेष राहत प्याकेज ल्याइने उनले प्रस्ट पारे । शिक्षा क्षेत्रको विकाशमा विज्ञ समिति गठन गरेर ग्रामीण क्षेत्रको शिक्षालाई शिशु कक्षा देखी नै प्रभावकारी बनाइने उनको भनाई छ। महँगो शिक्षा सबैको पहुँचमा नभएकाले निःशुल्क र गुणस्तरीय शिक्षा आफ्नो प्राथमिकतामा परेको उनले सुनाए ।
जनताको चिन्ता र चासो अनुसार नै आफूहरू काम गर्न प्रतिबद्धता भएको उनले बताए ।