इटहरी : इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । २ अर्ब १८ करोड ६ लाख १० हजारको अनुमानित बजेट सहित उपमेयर सङ्गीता चौधरीले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । 

भाषा कला र संस्कृति संरक्षणमा जोड दिइएको बजेटमा पूर्वाधार विकाशलाई अगाडी बढाइने उल्लेख गरिएको छ । ऐतिहासिक बहुसङ्ख्यक थारु जातीहरूको सम्पदाको रूपमा ग्रामथानहरूलाई संरक्षण गर्ने देखी थारुलाई 'प्रथम जाति' घोषणा गरिएको छ । 
वार्षिक योजना तथा कार्यक्रमहरूलाई भाद्र महिना भित्र योजना क्यालेन्डर सार्वजनिक गरी पूर्वाधारका कामहरू ज्येष्ठ मसान्त भित्रै सक्ने नीति अवलम्बन गरिने भएको छ । इटहरीमा बाढीको जोखिम न्यूनीकरणको लागि तटबन्ध र डाइभर्सनको कामलाई तीव्रता दिइने उल्लेख छ । 
एसियाली विकाश बैङ्क र इटहरी उपमहानगरपालिकाको साझेदारी हुने भएको छ । पूर्वी सहरी करीडोर कार्यक्रम अन्तरगत सडक, आधुनिक बसपार्क, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य लगायतका महत्त्वपूर्ण परियोजनाहरू सञ्चालन हुने भएका छन् ।
 घर नक्सा पास गर्दा कम्तीमा २ वटा बिरुवा रोप्नुपर्ने व्यवस्था कडाइका साथ लागु गरिने भएको छ । जसको लागि बहुबर्षे, पारिजात, बुद्ध चित्त, रुद्राक्ष, आँप, निम लगायत बिरुवा हुर्काएपछि मात्र घर सम्पन्नता दिइने भएको हो ।
'घाटसम्म सरकार' कार्यक्रम अन्तरगत २ वटा शवबाहन खरिद गरी शवलाई घर देखि स्थानीय घाटसम्म निःशुल्क पुर्याउने व्यवस्था गरिने भएको छ । दुई हजार विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने र बिमामा आबद्ध भएका व्यक्तिहरूको वडा स्तरीय स्वास्थ्य केन्द्रबाट रेफर गर्ने प्रक्रिया सुरु गरिने उल्लेख छ । 
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको शिक्षण र सिकाइलाई क्रमशः विस्तार गरिनेछ गरिँदै लगिने भएको छ । 
मदरसा शिक्षालाई मूलधारमा समेटिने र सबै सामुदायिक विद्यालयहरूमा आधारभूत तथा प्राविधिक पुस्तकालयको व्यवस्था मिलाइने भएको छ । बाल शिक्षक र विद्यालयका कर्मचारीलाई स्थानीय तहबाट उपलब्ध हुने तलबमा १५ प्रतिशतले वृद्धि गरिएको छ । 
कृषि उपजहरूलाई खेरजान नदिन ९ नम्बर वडामा शितभण्डार निर्माण गर्ने देखी कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई जोड दिइने भएको छ । किसानको घरदैलोमै सेवा पुर्‍याउन निःशुल्क रूपमा पशु स्वास्थ्य शिविर कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । 
पत्रकारको लागि फिचर लेखन तालिम, फेलोसिप लेखन तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । पत्रकार महासङ्घ सुनसरीको भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको चौधरीले बताइन् । 
मोबाइल एप निर्माण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइने र नगर सरकारको वेब पेजबाटै गतिविधिहरू सार्वजनिक गरिने भएको छ । 'उपमेयर आत्मनिर्भर कार्यक्रम' लाई सहकारी संस्था मार्फत 'एक सहकारी एक सिप' का आधारमा निरन्तरता दिइने भएको छ । 
सुकुम्वासी अव्यवस्थित बसोबासीहरू मध्ये भूमि आयोगले प्रमाणीकरण गरेकाहरूलाई पुर्जा वितरण गरिने र जनता बस्तीको समस्या समाधानका निम्ति प्रदेश सरकार मार्फत सङ्घीय सरकारसँग ठोस पहल र प्रयत्न गरिने भएको छ ।
उद्यमशीलता विकास तालिम सञ्चालन गरी “म पनि उद्यमी बन्छु” कार्यक्रम मार्फत वैदेशिक रोजगारीबाट फर्केका युवा तथा नयाँ युवालाई व्यवसायी तथा उद्यमी बन्न उत्प्रेरित गरिने बजेटमा उल्लेख छ । 
जब्दी मन्दिर, कचना मन्दिर, भवानीपुर, मुक्ति धामलगायतका स्थानलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने कार्यक्रम सार्वनीक भएको छ । पकलीमा रहेको थारु जातिको ऐतिहासिकता बोकेको भन्सीया पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उल्लेख छ । इटहरीमा लाग्ने सिरुवा मेलाहरूको प्रवर्द्धन तथा प्रचार प्रसार गरी सांस्कृतिक मेला, पर्व एवं जात्राहरूको सञ्चालन, प्रवर्द्धन र संरक्षण गरिने भएको छ ।
सर्वोत्कृष्ट, उत्कृष्ट तथा इटहरी उपमहानगर कर्मचारी पुरस्कारबाट ५१,०००/-, रु. ३१,०००/- र रु. १८,०००/- नगदबाट पुरस्कृत गर्ने कार्यको थालनी गरिने भएको छ । कर्मचारी तथा जनप्रतिनिधिहरूको लागि सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम सञ्चालनमा ल्याइने उल्लेख छ । 
असुल उपर गर्नुपर्ने खालका बेरुजु सम्बन्धित व्यक्ति तथा संस्थाहरूबाट नियमानुसार अशुल उपर गर्ने नीति अवलम्बन गरिने भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूले समयमा नै पेस्की तथा बेरुजु फर्छ्यौट नगरेमा पारिश्रमिक, तलब भत्ता समेत रोक्का गरी असुल उपर गरिने योजना सार्वजनिक भएको छ ।  खरिद प्रक्रियालाई प्रतिस्पर्धी, पारदर्शी र गुणस्तरीय बनाउँदै लगिने उल्लेख छ । 
बेलाबेलामा सार्वजनिक सुनुवाइको आयोजना गरी जनगुनासोको सम्बोधन गर्ने परिपाटीको विकास गरिने उपमेयर चौधरीले बताइन् ।  स्थानिय तह भित्र रहेका बेरोजगार व्यक्तिहरूको सूचि सङ्कलन गरी रोजगार व्यवस्थापन प्रणाली विकाश गर्ने उनले उल्लेख गरेकी छिन्।