चतरा : श्रावण महिनालाई भगवान् श्री महादेव भोलेनाथको मन पर्ने महिनाको रूपमा लिने गरिन्छ । लुतो फाल्ने, खिर खाने दिन श्रावण महिनामा नै पर्दछन्। अझ विशेषतः श्रावण महिना भर हुने बोलबमको महिमाले यस महिनाको महत्त्व बढाएको छ । सनातन काल देखि हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र महिनाको रूपमा श्रावण महिनालाई लिने गरिन्छ । 
शुद्ध पहेँलो वस्त्र लगाएर देश भरका शक्तिपिठहरुमा श्रावण महिनाको सोमवार विशेष रूपमा भक्तजनको ठुलो घुइँचो लाग्ने गर्दछ । काठमाडौँमा बाग्मती नदीको जल पशुपतिनाथमा, झापाको कन्काई नदीको जल शिवसतासी धाममा, खोटाङ हलेशीमा दुधकोशि नदीको जल, सुनसरी चतराधाम स्थित कोसीको जल धरानको पिण्डेश्वरमा चढाउने प्रचलनको छ । बोलबम मेला भर्न श्रावण महिना भर सुनसरीको चतराधाम देखि धरानको पिण्डेश्वर सम्म धार्मिक तीर्थाटन गर्ने आन्तरिक र बाह्य धार्मिक पर्यटकको आगमन हुने गर्दछन् ।
श्रावण महिनाभर नै भक्तजनहरूको आगमन हुने चतरामा विशेष रूपमा आइतबार साँझदेखि बाक्लो रूपमा बोलबम भर्न भक्तजनहरू आउने गर्दछन् । आइतबार साँझ चतराधाम स्थित सप्तकोसीको जल लिएर धरानमा रहेको पिण्डेश्वर बाबाधाममा चढाउने गर्दछन् । श्रावण महिनाभर नै चतराधाममा मेला लाग्ने गर्दछ । 
चतरामा मेला संस्थागत रूपमा समिति गठन गरेर २०४० सालबाट लगाउन थालिएको संस्थापक बोलबम मेला व्यवस्थापन समितिका सचिव कृष्ण कटेल बताउँछन् । यस वर्ष  नगरपालिकाले बोलबम मेलाको लागि उपमेयर नन्दकुमारी राईको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ । केही आवश्यक उपसमिति समेत गठन गरेको । बोलबम मेलालाई थप व्यवस्थापन गर्न औलिया बाबा मठ तथा छिन्नामस्त संरक्षण मञ्च, वराहक्षेत्र संरक्षण मञ्च लगायत सङ्घ संस्थाहरू लागि परेका छन् ।
कोरोनाले सुस्ताएको वराहक्षेत्रको मेला पर्वलाई यस वर्षको बोलबम मेलाले उकास्न सहयोग पुराउने अपेक्षा गरिएको नगर प्रमुख रमेश कार्कीले बताए। मेलालाई व्यवस्थित, भव्य, सभ्य बनाउने सबै संयन्त्र प्रयोग गरिने नगर प्रमुख कार्कीले बताए ।
जगद्गुरु पीठ चतराधाम नेपालका महासचिव प्रह्लाद भट्टराईका अनुसार रुदाकक्षणिक क्षेत्र हरिको क्षेत्र चतरा र हरको क्षेत्र धरान भएकोले चतरा र धरान हरिहर क्षेत्र हुन । हरि भनेको विष्णु र हर भनेको शिव भएकाले पनि चतराधाममा रहेको कोकाकौशिको जल धरानको शिवको भूमि पिण्डेश्वरमा चढाउने परम्परा रहेको भट्टराई बताउँछन् । सप्तकोसीमा अविरल बग्ने पवित्र कोकाकौशि जलको महत्त्व पुराणमा समेत उल्लेख भएको तथा पिण्डेश्वरको महत्त्व महाकुम्भ मेलामा समेत झल्कने भएकाले चतरा क्षेत्र र धरानको पिण्डेश्वरको महत्त्व अपार रहेको उनको भनाइ छ ।