सुनसरी : कोसी गाउँपालिका-६ श्रीपुरका सूर्य नारायण यादव पेसाले भेटेरिनरी डाक्टर हुन् । गाउँ घरमा गाई बस्तु बिरामी हुँदा औषधी उपचारलागि कुदिरहन्छन् । लामो समय पशु उपचारमा खटेका यादवलाई भेट्न भने समस्या हुने गरेको छ । गाउँका स्थानीय उनलाई कहिले घरमै लिन आउँछन् । मोबाइलको टावर हुँदो हो त उनलाई मोबाइलमै सम्पर्क गरेर बोलाउँथे । मोबाइलमा फोन नलाग्ने लागि हाले पनि नबुझिने समस्या कारण उनी हैरान छन् । सुगम जिल्लामा बसे पनि उनलाई मोबाइलमा कुरा गर्न पूर्व पश्चिम राजमार्ग निस्किनु पर्ने बाध्यता छ । त्यस्तै सोही ठाउँकी पार्वती देवी सरदारको समस्या पनि उस्तै छ । सुगम जिल्लाका नागरिकमा परे पनि टेलिफोनमा कुरा गर्नु पर्दा घर छोडेर हिँड्नु पर्ने । नेटवर्क आइहाले पनि काम नगर्ने कारण उनी कहिले टावर बन्ला भन्ने पखाईमा छिन् ।
यो समस्या दुई जना मन्त्री पाएको निर्वाचन क्षेत्र को हो । एक जना सङ्घीय सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र अर्का प्रदेश एकका तत्कालीन वन वातावरण तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियैतको हो । यस क्षेत्रमा हरेक निर्वाचनमा यस ठाउँको चुनावी एजेन्डा नै टावर निर्माण बन्ने गर्छ । त्यही आश्वासनले दुवै जनाले जितेर मन्त्री समेत भए अझ सञ्चार प्रविधि मन्त्री पनि भए तर अवस्था उस्तै छ । 
कोसी गाउँपालिका वडा नम्बर ४,५,६,७,८ का विभिन्न भाग र विशेष गरी श्रीपुर हरिपुर र भारतीय सिमाना जोडिएका क्षेत्रका २० हजार नागरिक यस्तो समस्या भोग्न बाध्य छन् ।  नेपाल टेलिकम र एनसेलको टावरले काम नगर्दा सो क्षेत्रका नागरिकले सास्ती खेप्दै आएका छन् । सप्तकोसी नदिको बाँध फुटेर आफ्नो घर खेत गुमाएर जसोतसो बसेका उनीहरू सरकारी पक्षले गरेको बेवास्ताले थप दुखी छन् । 
सञ्चार प्रविधिले यति छिटो फड्को मारिसक्दा आफुँहरुले सामान्य टेलिफोन गर्नकै लागि एक घण्टा सम्म हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय हरिनारायण ऋषिदेव बताउँछन् । 
चुनावमा जिल्ला बाहिरबाट आएर यही समस्यालाई समाधान गर्ने आश्वासन दिएका मन्त्री कार्कीले कुनै पहल नगरेको आरोप लगाए । उनले चुनाव जितेर गएपछि गाउँ नफर्किने नेताका कारण आज गाउँका एउटा पनि टावर नभएको गुनासो गरे । 
उक्त पाँच वटा वडाका करिब २० हजार नागरिकले देशमा तिन तहको सरकार भएको आभास गर्न पाएका छैनन् । ‘हामी त के हो र हजुर जो आउँछ भोट पाउँछ जान्छ, समस्या जस्तो त्यस्तै छ ।’ स्थानीय गुर्सन मियाँ भने “हामी ५ वर्षको अवधिमा प्रदेश र सङ्घीय सरकारमा दुई मन्त्री पायो तर हामीले के पायौँ,” उनी प्रश्न गर्छन् । आफ्नो स्वार्थ पूर्ति गर्न मात्रै चुनाव जित्ने गरेको उनको आरोप छ । 
गाउँमा कोही बिरामी परे एम्बुलेन्सलाई सम्पर्क गर्दा फोन नलाग्ने र चालकको घरमै पुगेर बोलाउनु पर्ने अवस्था रहेको श्रीपुरका छुदारु यादव बताउँछन् । बाटोको सहज छ राजमार्गबाट नजिकै पर्छ तर खोइ टावर ? उनी भन्छन् । ‘गाउँमा आपतविपत पर्दा सुरुमा प्रहरीलाई जानकारी गराउनु पर्ने हो तर फोन नै नलागेपछि कसरी बोलाउनु ।’ 
सञ्चार सुविधाको पहुँच राम्रो नहुँदा स्थानीय मात्रै हैन विद्यालयमा पठनपाठन गर्ने बालबालिकाले समेत पिडा भोग्दै आएका छन् । गाउँकै एक विद्यालयमा कक्षा आठमा अध्ययनरत कुन्दन कुमार यादव सरकारले दिएको सार्वजनिक बिदाको दिन समेत विद्यालय गएको स्मरण गर्छन् । 
mobile-network-2विद्यालयले गाउँमा टेलिफोन मार्फत बन्द हुने जानकारी गराउन खोजे पनि टेलिफोन नलागेको उनी बताउँछन् । देशमा के भइरहेको छ त्यो त परको कुरा हो, म पढ्ने विद्यालय बन्द छ कि खुल्ला छ त्यो समेत थाहा हुन्न । जसले गर्दा विद्यालय पुगेर फर्किनुको विकल्प नरहेको उनको भनाई छ । 
कोसी गाउँपालिका उपाध्यक्ष अनिता देवी यादव धेरै जसो ठाउँमा टावरले काम नगर्दा फोन नलाग्ने अवस्था रहेको बताउँछिन् । विशेष गरी वडा नम्बर ४,५,६,७,८ का गाउँ र सिमानाका तिर समस्या रहेको उनको भनाई छ । 
"यसको म आफै पीडित हो, म घर गए भने मेरो मोबाइलमा फोन नै लाग्दैन, धेरै जनताले काम पर्दा फोन गर्नु हुन्छ म सँग सम्पर्क नै हुँदैन," उपाध्यक्ष यादवले भनिन् । लामो समय देखि टावरको समस्या रहेका उक्त वडाहरूमा टावर राख्ने काम अघि बढेको बताइन् । उनले ४ र ५ को दुई ठाउँका जग्गा खोजी भइसकेको बताउँदै केही वर्ष भित्र नेटवर्कको समस्या लिएर जनताले गुनासो गर्ने ठाउँ नहुने बताइन् ।