सुनसरी : सडकमा सवारीको चाप बढ्दै गएपछि गत भदौ १३ गते इटहरी उपमहानगरले सर्वपक्षीय बैठक राख्दै इटहरी चौक आसपास ३ सय मिटर भित्र सडक छेउ कुनै पनि सवारीसाधन पार्किङ गर्न नपाइने निर्णय गर्‍यो । भोलिपल्ट १४ गते बिहान करिब ८ बजे इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलको नेतृत्वमा ट्राफिक प्रहरी प्रदेश एकका प्रमुख प्रहरी उपरीक्षक महतो, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्का, शसस्त्र प्रहरी लगायतको जम्बो टोली सडक किनार खाली गर्दै निस्कियो।
उक्त टोली गरेको कामको सर्वत्र प्रशंसा भयो । तर नियम कार्यान्वयनमा आएको १ महिना नबित्दै आफैले गरेको निर्णयबाट उपमहानगर पछि हटेको छ । सडक खाली गराउने भने पनि सवारी धनीलाई सवारीसाधन कहाँ पार्किङ गराउने भन्ने विकल्प दिन नसक्दा उपमहानगर आफैले गरेको निर्णयबाट पछि हटेको हो । ३ सय मिटर आसपास पार्किङ गर्न नपाइने निर्णयलाई उल्टाएर २ सय मिटर आसपास पार्किङ गर्न नपाइने भनिएको छ । साथै पैदलयात्री हिँड्ने फुटपाथमा पार्किङ गर्न नदिएपछि सवारी चालकले पाउनु सम्मको दु:ख पाएका छन् । जबरजस्त निर्णय कार्यान्वयन गराउने बहानामा कहाँ पार्किङ गर्ने भन्ने स्थान तोक्न उपमहानगर चुकेको छ । चौक आसपास बैङ्क तथा वित्तीय संस्था धेरै छन् । सेवा लिन आएका सेवाग्राही कहाँ पार्किङ गर्ने भन्ने अन्योलमा भेटिन्छन् । दुई सय मिटर भित्र पैदलयात्री हिँड्ने फुटपाथमा पार्किङ गरे ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ । यसरी गरिएको निर्णय पैदलयात्री तथा सवारी धनी सन्तुष्ट छैनन्  । 
इटहरी पाँच घर भएका राजुबाबु ढकाल उपमहानगरले हचुवाको भरमा निर्णय गरेको टिप्पणी गर्छन् । उनी यो निर्णयले उपमहानगर आफैलाई हानी हुने बताउँछन् । ‘विकल्प बिनाको विकास टिक्न सक्दैन, सुरुमा विकल्प दिनु पर्छ अनि निर्णय कार्यान्वयन गर्ने हो ।’ उनी भन्छन् “एक महिना अघि पैदल यात्रीलाई हिँड्न जति सहज थियो त्यो आज भएको छैन । पैदलयात्री हिँड्ने ठाउँमा गाडीको लाइन छ, सवारी कुद्ने बिच सडकमा पैदलयात्री हिँड्न बाध्य छन् ।” उनले तत्काल विकल्प सहितको विकास गर्नु पर्ने बताए । 
त्यस्तै इटहरी ४ घर भएकी सबिता चौधरी पनि उपमहानगरको निर्णयले सास्ती पाएको बताउँछिन् । सडक बिचबाट हिँड्दा कति बेला गाडीले हान्ला भन्ने जोखिम रहेको चौधरीको भनाई छ । निर्णय राम्रो हो तर पार्किङ कहाँ गर्ने रु पैदलयात्री, अशक्त, अपाङ्ग कहाँबाट हिँड्ने रु जनतालाई सेवा दिने नाममा अनावश्यक सास्ती  उनको तर्क छ । 
यो निर्णयबाट पैदलयात्री, सवारी धनी मात्रै हैन मुख्य चौकमा व्यापार व्यवसाय गर्ने व्यापारी समेत सन्तुष्ट छैनन् । हतारोमा गरिएको निर्णयले व्यापार व्यवसाय चौपट भएको व्यापारी राजन न्यौपाने बताउँछन् । नियम बनाउनु पूर्व कसरी व्यवस्थापन गर्ने भन्ने सामान्य ज्ञान नहुँदा ग्राहकले सवारीसाधन पार्किङका लागि अन्यत्र जानु पर्दा सोचे अनुसारको व्यापार नभएको उनले बताए । अन्य वर्ष चाडपर्वको समयमा कपडा बिक्री हुने गरेको भए पनि यो वर्ष शून्य जस्तै गरेको न्यौपानेको भनाई छ । 
चौतर्फी विरोध पछि आफ्नै निर्णयबाट पछि हटेको उपमहानगर खाली जग्गा खोजीमा लागेको छ । तर चौक आसपास कतै नभएपछि अब कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोख्रेल विकल्पको खोजी भइरहेको बताउँछन् । उनले धरान लाइनमा सबै भन्दा बढी समस्या देखिएको बताए । ६ लेन सडक भित्र पर्ने जग्गा अहिले केही ठाउँमा खाली रहेकाले उक्त स्थानलाई तत्कालका लागि पार्किङको व्यवस्थापन गर्न पहल भइरहेको बताए । "हामीले विकल्प खोजी रहेका छौँ तर सोचेजस्तो र भनेजस्तो खाली क्षेत्र भेटिएको छैन । तत्कालका लागि ६ लेन सडकको केही भाग खाली देखिएकाले सो क्षेत्रलाई पार्किङ गर्ने स्थान बनाउने तयारीमा छौ ।" वडा अध्यक्ष पोख्रेलले भने । 
itahari-sawari-parking-bhad
itahari-sawari-parking