इटहरी : विराटनगर-१२ कि कौसिला ऋषिदेवलाई बर्खामा पानी र हिउँदमा सितको डर छैन । घरै नभएको कारण कसैले होच्याउला वा कमजोर भन्ला भन्ने उनलाई लाग्दैन । आफ्नै नामको जग्गामा घर बनाएर बस्न पाउँला भन्ने नसोचेकी उनी अहिले घरधनी भएकी छिन् । 
लामो समय झुसको छानो भएको घरमा बसेकी उनी अहिले ट्वाइलेट बाथरुम सहितको व्यवस्थित घरमा बस्छिन् । हावाहुरी र डुबान जस्ता प्राकृतिक प्रकोप मात्र हैन जग्गा मालिक वा सरकारले कति बेला हडप्ने हो भन्ने चिन्ता हटेको बताउँछिन् उनी । 
‘अहिले आनन्द भएको छ । मासिक किस्ता तिर्नुपर्छ । पैसा नकमाई हुँदैन । मन्त्री केदार कार्कीले गर्दा घर बनेको हो । तर जग्गाको ऋण चाहिँ तिर्नै पर्छ, उनले भनिन् । 
जग्गाको ऋण तिर्नुपर्ने भएपछि धेरै युवाहरूले मादक पदार्थ सेवन बन्द गरेका छन् । पहिला दैनिक कमाएको पैसाले मासु र रक्सी खाने बानिपरेका युवाहरू अहिले बचत गर्न थालेका छन् । 
उनका श्रीमान् रमेश ऋषिदेव एकीकृत बस्तीको १५ नम्बरको घरमा बस्ने गरेको बताउँछन् । अर्काको जमिनमा धेरै वर्ष बसेर काम गरेको बताउँदै उनले अब आफ्नै जमिनमा बस्न पाएकोमा खुसी व्यक्त गरे ।
सोही बस्तीकी शान्ति ऋणदेवले पनि आफ्नै लालपुर्जा भएकोमा खुसी व्यक्त गरिन् । कार्कीले धेरै जोडबल गरेपछि आफूहरू जग्गा किन्न तयार भएको उनको भनाई छ । अहिले जग्गा किस्तामा किनेर घर बनाउन आफ्नो खर्च नभएपछि उनी हर्षित छिन् । उनी जस्तै १४५ सुकुम्वासीले घर पाएका छन् । 
कार्की सरकारमा जानु अगावै उनले सकुम्बासीलाई लालपुर्जा र घर उपलब्ध गराएका थिए । मन्त्री कार्की, विराटनगर महानगरपालिका, ह्याविट्याट फर नेपाल र सहारा नेपालको संयुक्त लगानीमा एकीकृत बस्ती निर्माण भएको हो । 
जग्गाको मूल्य किस्ताबन्दीमा तिर्ने गरी उनीहरू सहमत भएका थिए । सुरुमा निक्कै समस्या बुझेका उनीहरू अहिले खुसी छन् । कहिले कसले हटाउने होला भन्ने चिन्ता नभएको बताउँछिन् कौसीला ।
जीवन विकाश समाज वित्तीय संस्थाले १४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको छ । हरेकले सोही ऋणले जग्गा खरिद गरेका छन् । घर निर्माणमा ह्याविट्याटले प्रत्येक घरलाई १ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।  
sukumbasi-brt-ghar