इटहरी : सुनसरीमा नेपाली काँग्रेस कमजोर अवस्थामा पुगेको छ । मङ्सिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद परिणाम निकाले पछि काँग्रेसको प्रभाव कमजोर बनेको हो । 
स्थानीय तह निर्वाचनमा १२ मध्ये ७ पालिका विजयी भएको काँग्रेस आम निर्वाचनमा ४  मध्ये १ क्षेत्रमा मात्र विजयी भयो । काँग्रेसका संस्थापक नेता  बिपी कोइराला र राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाले समेत चुनाव लडेको जिल्ला हो सुनसरी । २०७४ को निर्वाचनमा वाम गठबन्धनका बाबजुद ४ मध्ये ३ क्षेत्रमा काँग्रेस विजयी भएको थियो । यस पटक लोकतान्त्रिक वाम गठबन्धन गरेको काँग्रेस आफै कमजोर अवस्थामा पुग्यो । काँग्रेस पराजयको जस र अपजस कसले लिने भन्नेमा नेताहरूमा मत भिन्नता देखिएको छ । 
केन्द्रीय सदस्य राजीव कोइराला सबैले आ-आफ्नो ठाउँबाट मेहनत गरे पनि सकारात्मक परिणाम नभएको बताउँछन् । पूर्व जिल्ला सभापति समेत रहेका कोइराला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा पराजित भए । 
काँग्रेसको १४ औँ महाधिवेशन लगायत विगतका निर्वाचनको प्रभाव आम निर्वाचनमा देखिएको उनले बताए । ‘क्षेत्रीय रूपमा उम्मेदवार व्यवस्थापन गर्न नसक्नु नेतृत्वको गल्ती हो । त्यसमा पनि देवानगंज गाउँपालिका र इटहरी उपमहानगरपालिका भित्र उम्मेदवार नहुँदा कार्यकर्तामा उत्साह देखिएन ।,’ उनले भने, ‘गठबन्धन भित्र पनि सहजीकरण भएन । नेताहरूको लिडेढिपीको कारण पनि यो अवस्था आएको हो । केन्द्रीय नेतृत्वको बलजफतीले मात्र स्थानीय मत आकर्षित नहुने सन्देश निर्वाचन परिणामले दिएको छ ।’
देशव्यापी रूपमा फैलिएको राष्ट्रिय स्वतन्त्र पार्टीको लहरका कारण पनि काँग्रेसको अवस्था कमजोर हुन पुगेको सुनसरी क्षेत्र नम्बर ३ का सभापति मेहदी हुसेनले बताए । यसको विषयमा नेतृत्वले आ-आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्ने उनको तर्क छ । आफू क्षेत्रीय सभापति भएकाले आफ्नो क्षेत्रको जिम्मा लिन तयार भएको उनले प्रस्ट पारे । पालीकाको जिम्मेवारी सम्हालेका सभापति देखी वडा समितिले समेत बराबर अपजस लिनुपर्ने उनको बुझाई छ । 
हरिनगर गाउँपालिका अध्यक्ष तथा काँग्रेस नेता गफार अन्सारी सबैले जिम्मेवारी अनुसारको जस लिनुपर्ने बताउँछन् । यसअघि राजीव कोइराला सभापति हुँदा वाम गठबन्धनलाई पराजित गरेको काँग्रेस यस पटक जिल्ला नेतृत्वकै कारण कमजोर बनेको उनको तर्क छ । कोइरालाले सबैलाई मिलाएर लगेको बताउँदै उनले यस पटक जिल्ला नेतृत्वले प्रभावकारी भूमिका देखाउन नसकेको आरोप लगाए । आफूले सक्दो मेहनत गरेको स्मरण गर्दै उनले अब सबैले गल्ती सच्याएर जानुपर्ने धारणा राखे । 
धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा महाधिवेशन प्रतिनिधि तिलक राई वडा देखिनै निर्मम समीक्षा हुनुपर्ने बताउँछन् । जिल्ला वा क्षेत्रको समितिले मात्र अपजस लिने कुरा जायज नहुने उनको तर्क छ । नेताहरूले यस विषयमा छलफल गर्नुपर्ने बताउँदै उनले जुनसुकै कारणले पराजय भए पनि त्यसको समीक्षा जरुरी रहेको बताए । काँग्रेस कमजोर नभएको जिकिर गरेका राईले समयको बहाव र चुनावी सरगर्मीमा देखिएको केही घटनाक्रमले मत परिणाम प्रभावित भएको प्रस्ट पारे । 
सुनसरीको ४ क्षेत्र मध्ये १ नम्बर क्षेत्रमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले उम्मेदवारी दिएको थियो । २ मा सिताराम मेहता, ३ मा विजय कुमार गच्छदार र ४ मा ज्ञानेन्द्र बहादुर कार्की काँग्रेसबाट उम्मेदवार भएका थिए । त्यसमध्ये कार्कीले ११२ को झिनो मतान्तरका साथ विजयी भए । यसअघि ७ हजार बढी मतान्तरले विजयी भएका कार्कीलाई साख जोगाउनै हम्मे हम्मे पर्‍यो । 
कार्की र गच्छदार जस्ता केन्द्रीय नेताले महाधिवेशनको समयमा वडा र क्षेत्रीय समितिमा समेत हस्तक्षेप गरेको कार्यकर्ताको गुनासो छ । क्षेत्र नं.२ को उम्मेदवार रहेका सिताराम मेहताको क्षेत्रमा पर्ने देवानगञ्ज र इटहरीमा काँग्रेसले प्रतिनिधित्व पाउन सकेन । त्यसको अलावा मेहता ३ पटक सांसद भएर पनि स्थानीय विकाशमा काम नगरेको स्वयम् कार्यकर्ताले प्रचार गरेका थिए ।