धरान : मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा धरानमा नेपाली काँग्रेस भित्र अन्तर्घात भएको भन्दै पार्टीका असन्तुष्ट पदाधिकारीहरूको आक्रोश मत्थर भएको छैन । आज धरान स्थित काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा काँग्रेस प्रदेश १ का महामन्त्री तथा चुनावमा सुनसरी-१ (क)का उम्मेदवार उमेश थापाले काँग्रेसमा अन्तर्घात गर्नेहरू आलुको बोरा भित्रको कुहिएको आलु भएको बताउँदै भने ‘कुहिएको आलुलाई बोराभित्रबाट झिकेर नफाले अरूलाई पनि बिगार्छ ।’
नेपाल प्रेस युनियन धरान नगर समन्वय समिति र नेपाली काँग्रेस नगर समितिद्वारा प्रदान गरिदैं आएको गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि रहेका उनले अन्तर्घात गर्नेहरूलाई पत्ता लगाएर पार्टीद्वारा कारबाही गरिने बताएका हुन् । ससाना कुरामा गुटको कुरा गर्ने प्रवृत्ति बढेकाले पार्टी अनुशासन छताछुल्ल भएको, कसैले कसैलाई नटेर्ने अवस्था आएको बताउँदै उनले भने ‘चुनावका बेला कसैलाई नमस्कार नगर्दा, कार्यक्रममा कसैलाई आसन ग्रहण गर्न ढिलो हुँदा गुटको कुरा गर्नेहरूबाट अन्तर्घात भएको छ ।’
अन्तर्घात गर्नेहरूलाई पार्टीको तल्लो निकाय देखी नै छानबिन गरी कारबाही गर्नुपर्ने बताउँदै महामन्त्री थापाले भने ‘म उम्मेदवार हुँ, पार्टीले मलाई पनि सोध्नु पर्‍यो, अन्तर्घात गर्नेहरूको नाम म पनि दिन्छु ।’  उनले चुनावमा अहोरात्र खटेर पार्टीलाई जिताउन राम्रो काम गर्नेहरू पनि रहेकोले इमानदार कार्यकर्ताहरूको पनि पहिचान गरिनुपर्ने बताए । यसपालिको चुनावमा इमानदारीपूर्वक खट्नेहरू लाई अर्को स्थानिय चुनावमा टिकट दिनुका लागि अहिले देखी नै तयारी गर्नुपर्ने उनको भनाई थियो । 
यसअघि सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङले अन्तर्घात भएको कुरालाई पार्टीले वडा समिति तहबाटै छानबिन गर्न सुरु भइसकेको बताउँदै भने ‘पार्टीमा अनुशासन र आचार संहिता कायम गर्न पनि अन्तर्घात गर्नेहरूलाई कारबाही गर्न जरुरी भैसकेको छ ।’ पार्टी अनुशासन नमान्नेहरू बाटै धरानमा काँग्रेस भित्र अन्तर्घात गर्न कार्यकर्तालाई उक्साइएको उनले बताए । 
महासमिति सदस्य तथा धरानका पूर्व मेयर तिलक राईले पार्टीहरू गठबन्धन गरेर चुनाव लड्नु नै पार्टी कार्यकर्ता बिच रहेको मतभेद बढाउने निहुँ बनेको बताउँदै पार्टीमा उम्मेदवारी छनौट प्रक्रिया देखी नै आपसी हानथापले बढवा पाउने गरेको त्यसमा गठबन्धनले निहुँ थपेको धारणा राखे । उनले गठबन्धन आफैमा कहिल्यै पूर्ण नहुने रहेछ भन्ने देखिएको बताउँदै भने ‘पार्टी एकजुट भएको अवस्थामा गठबन्धनै भए पनि काँग्रेसले जित्ने अवस्था बन्थ्यो ।’
काँग्रेसलाई एक ढिक्का भएर चुनावमा जानका लागि पहिले उम्मेदवारी छनोटमा सर्वसम्मत एक जनाको नाम मात्र चयन गर्ने प्रक्रिया अपनाउनु पर्नेमा जोड दिए । धरान उपमहानगरपालिका प्रमुखको  उपचुनावमा काँग्रेसको विजयलाई उदाहरणको रूपमा लिइनुपर्ने बताउँदै उनले उम्मेदवार छनौटमा दश जनाएको नाम पठाउने प्रक्रियाबाट गुटबन्दीले प्राश्चय पाएको धारणा राखे । उनले अबको चुनावमा पनि धेरै जनाको नाम पठाउने हो भने आफ्नो नाम नपठाउने बताउँदै भने ‘मलाई सर्वसम्मत उम्मेदवार बनाउनु हुन्छ भने चुनाव लड्न तयार हुन्छु ।’
काँग्रेसका संस्थापक सुनसरी जिल्ला सचिव गिरिराज आचार्यले यसपालिको चुनावमा गठबन्धनका कारण काँग्रेस मतदाताहरूमा अन्यौलता बढेको बताए । निर्वाचन क्षेत्रमा काँग्रेसको एउटै मात्र उम्मेदवार भएकोले काँग्रेस भित्रका अन्य पार्टीलाई भोट दिन नचाहनेहरू लाई काङ्ग्रेसकै कतिपय अगुवाहरूले झन् भ्रमित तुल्याएको उनको भनाई थियो ।
नेपाली काँग्रेस नगर सभापति श्याम पोखरेले मुखमा राम राम बगलीमा छुराको व्यवहार गर्ने काँग्रेसीहरूका कारण धरानमा काँग्रेस हार्नु परेको बताउँदै भने ‘छातीमा हात राखेर काँग्रेसलाई भोट दिएको बताउन नसक्नेहरू पनि अहिले काँग्रेस भित्रै छन् ।’ काँग्रेसलाई हराउन चाहनेहरूले जेसुकै गरे तापनि देश हाँक्ने पार्टी काँग्रेस नै बनेको बताउँदै पोखरेलले सत्ताको लाभ लिन नचुक्नेहरू शुद्धीकरण नभए सम्म धरानको हरेक चुनावमा अन्तर्घात गर्नै पार्टीमा रहने बताए ।  
प्रेस युनियन धरानका संयोजक मातृका प्रसाद नेपालको सभापतित्वमा भएको समारोहमा युनियनका सुनसरी जिल्ला सभापति पवन अधिकारीले सुनसरीमा प्रेस युनियनले पार्टीलाई सघाउन पुर्‍याउँदै आएको बताए । पत्रकार महासङ्घ सुनसरीका सभापति जनऋषि राईले जिउँदै अवस्थामा सम्मान गर्दै पत्रकारका लागि पुरस्कार स्थापना गरेर पूर्व मेयर राईले उदाहरण प्रस्तुत गरेको बताए । 
उक्त अवसरमा फोटो पत्रकार लक्ष्मण थापालाई २० हजार रुपैयाँ राशिको पुरस्कार प्रमुख अतिथि थापाले प्रदान गरेका थिए । कार्यक्रम सञ्चलन विष्णु बराल र काँग्रेस नगर सचिव जितेन्द्र राईले सञ्चालन गरेका थिए ।
laxman-thapa-photo-next
laxman-thapa-photo