सङ्घीय राजधानी काठमान्डुको नयाँ बानेश्वर सडकमै प्रेमप्रसाद आचार्यले आत्मदाह स्वरूप शरीरमा आगो लगाएको भयानक दृश्यले विश्वभरिको ध्यानाकृष्ट गरेको छ । यस्तो भयानक घटना देख्नु संसारकै मानव जातिका लागि दुर्भाग्यपूर्ण हो । तसर्थ यो घट्नाले विश्वमा नेपालको स्थितिलाई नङ्ग्याएको छ ।
आचार्यको साढे ६ हजार शब्द लामो ‘सुसाइड नोट’ लेखेका छन् । उनको त्यो आत्मालाप काल्पनिक कथा होइन । मुलुकमा विद्यमान विसङ्गतिले ‘भविष्यको कर्णधार’ भनिँदै आएका युवाहरूलाई आत्मदाह गर्ने मनस्थितिमा पुर्याएको बयान हो ।
३६ वर्षीय प्रेमप्रसाद आचार्य नेपालका परिवर्तनका लागि भएको दोस्रो जनआन्दोलन हुँदा २० वर्षका थिए । त्यो परिवर्तनले कस्तो स्थिति ल्याउला भन्ने उनले त्यस बेला परिकल्पना गरेका थिए होला । झन्डै दुई दशक मुलुकको शासन तन्त्र भोगपछि कहालीलाग्दो अनुभव हो उनको त्यो सुसाइड नोट’ ।
उनले लेखेका छन् ‘कृषि जन्य बस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम ४ पटक अनुदान पाउ भनी निवेदन दिइयो । सर्टलिष्टमा परिन्थ्यो । अनुगमन गर्न आउँदा तपाइको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक बस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि अनुदानको नतिजा आउने बेला कहिले मेरो कम्पनीको नाम नहुने ।’
अनि लेखेका छन् ‘मेरा वडाका तत्कालीन वडा अध्यक्ष टेक बहादुर राई ज्युको साङ्पाङ डेरीले ३ लाख र १० लाख गरी दुई वर्ष लगातार अनुदान खाए । तेस्रो वर्ष उनकै साङ्पाङ बङ्गुर फार्मले २५ लाख अनुदान खायो । मेरै आँखा अगाडी इलामकै मैनाली जीको साङ्ग्रिला टी स्टेटले इन्फास्ट्रक्चर डेभलपमेन्ट, अर्ग्यानिक प्रमाणीकरण र गाडी गरी एकै वर्ष एकै उद्योग एकै सरकारबाट २०/२५ लाख अनुदान खायो, हामी चिल्लै ।’
कृषिमा मात्र होइन, छात्रवृत्ति देखी राज्यबाट पाउने प्रायः सबै सुविधाहरू पहुँच, कमिसन, घुसको आधारमा बिचौलियाको हातमा गएको छ । सङ्घीय संविधानले गाउँ गाउँमा सिंह दरबार आउने नेताहरूले भाषण गरेका थिए । त्यसको अर्थ राज्यको सेवा सुविधा समान वितरण गाउँ सम्म पुग्ने आशा गरिएको थियो । तर सिंहदरबारमा हुने भ्रष्टाचारमा चैँ गाउँ गाउँ वडा वडामा पुगेको छ ।
राजनीतिक दलका नेताहरू भ्रष्टाचारको धुवाँधार विरोध गर्छन् । सत्तामा बसेकाहरू कारबाही गर्छौ भन्छन् । भ्रष्टाचारको गुनासो लिएर गए ‘प्रमाण ल्याउनुस् म कारबाही गर्छु’ भन्छन् । यसरी आम जनतालाई प्रायः वडा देखी माथिल्लो तह सम्म घुस खुवाएर भ्रष्टाचारमा संलग्न गराउने काम राज्य तन्त्रले गरिरहेको छ ।
आचार्यले लेखेका छन्, माग अनुसार अन्तर्वार्ता दिइयो पास भइयो तर राम्रो कमाइ हुने ठाउँमा भिसा नै नदिने । म्यानपावरकै आफ्ना र पहुँचवाला घुसाइहाल्ने । प्रिमेडिकल क्युआर कोड भन्दै पैसा असुल्ने । कतारमा मन्त्रालयमा ड्राइभरको लागि छानिएको थिए । महिनाको १० हजार रियाल तलब थियो, तर म्यानपावरले ८ लाख माग्यो लागत । काहाबाट ल्याउने त्यत्रो पैसा ?
मुलुकमा ठुलो परिवर्तन आएको दुई दशक लाग्न आँट्यो । भ्रष्टाचार बाहेक रोजगारी मूलक सरकारी, गैरसरकारी क्षेत्रको विकास रत्तीभर हुन सकेको छैन । वैदेशिक रोजगारीको एक मात्र विकल्पमा पनि घुसको तगारो लागेको छ । कृषि पेसा वा व्यवसायको विकल्प खोज्दा पनि भ्रष्टाचार, घुस र पहुँचले इमान्दारीता पूर्वक गरी खान दिने अवस्था छैन ।
यस्तो अवस्थामा प्रेमप्रसाद आचार्यको ‘आत्मदाह’ एकल विद्रोहको भयानक रूप हो । मुलुकमा भ्रष्टाचार, हत्या, बलात्कार, बेथिति अन्यायका विरुद्ध आन्दोलनहरू नहुने गरेको होइन । त्यस्ता आन्दोलनहरू लाई राजनीतिक दलहरूले आफ्नो स्वार्थमा प्रयोग गर्दै आएकाले प्रायः परिणाममुखी बन्न सकेको पाइन्न ।
सत्तामा नरहुञ्जाल सडकमा उठेको सवाललाई ‘क्रान्तिकारी’ भएर चर्काउनेहरू पार्टी सत्ताको नजिक पुगेपछि आन्दोलन तुहाउने गरेको चलन नेपालमा सामान्य बनेको छ । अहिले प्रहरी हत्याका आरोपी प्रतिनिधि सभा सांसदमै उपस्थित भएको चर्चाले यसको पुष्टि गर्दछ ।
यस्तो अवस्थामा आम मानिस जसको कतै पहुँच छैन, जसमाथि अन्याय भएको छ तर, सुनवाइ गर्ने ठाउँ पाउँदैन उसले एकल विद्रोहको विकल्प बाहेक अपनाउने कुनै बाटो देख्दैन । अहिले देशमा पीडित नागरिकहरूको एकल विद्रोहको उकुस मुकुस प्रेमप्रसाद प्रकरणले सार्वजनिक गरेको छ । यो नेपालको लागि दुर्भाग्यपूर्ण मानिनु पर्दछ र राज्य सत्ताको जिम्मा लिएका पार्टी नेताहरू, सरकारले यसलाई गम्भीर लज्जाको रूपमा लिएर तत्काल सुधारका काम थाल्नु पर्दछ ।