धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवाका लागि १५ करोड भन्दा बढी मूल्यमा खरिद भएका मेसिनरी उपकरणहरू उपयोग हुन नसकेका कारणले सेवा प्रवाहमा परेको प्रभाव बारे सञ्चार माध्यमहरूमा प्रकाशित समाचारबारे सुधार गरिने प्रतिक्रिया आउनुको सट्टा सूचना लुकाउने नीति तर्फ अग्रसर रहेको देखिएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार सूर्य प्रसाद सङ्ग्रौलाद्वारा आज शुक्रवार जारी विज्ञप्तिले उक्त कुराको पुष्टि गरेको हो । विज्ञप्तिमा ‘हालै मात्र नेपाल सरकारको महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रारम्भिक प्रतिवेदन प्रतिष्ठानमा प्राप्त भएको भनिएकोमा पदाधिकारी समक्ष आइ नपुग्दै अनधिकृत रूपमा स्वीकृति बेगर बाहिर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको’ भन्दै जो कोहीबाट सो कार्य भएको हो २४ घण्टा भित्र लिखित जानकारी नगराए कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने चेतावनी दिइएको छ । 
यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार समाचारमा धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद गरिएका १५ करोड बराबर मूल्यका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा थन्किएका छन् । कतिपय उपकरण त एक पटक पनि प्रयोग नगरी थन्किने गरेको छन् । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदनले खरिद भएका स्वास्थ्य उपकरणका सामग्री पनि कमसल रहेको औँल्याउँदै खरिदमा भएको खर्च उपलब्धि विहीन हुन पुगेको महालेखाले कुरा उल्लेख छ ।
रजिस्ट्रार प्रा.डा. संग्रैलाको विज्ञप्तिमा प्रतिष्ठान विगत केही समय देखी आर्थिक समस्याबाट गुज्रिरहेको  भए पनि कार्यरत पदाधिकारी, शिक्षक, कर्मचारीहरू, ‘स्थानीय नागरिक समाज’ लगायतको दृढ सङ्कल्प तथा प्रयासबाट केही हद सम्म सुधारोन्मुख भइरहेको जानकारी गराइएको छ ।
यस्तो अवस्थामा प्रतिष्ठानमा उपयोग विहीन करोडौँ मूल्यका उपकरणहरू खरिदका लागि जिम्मेदार व्यक्तिका बारेमा स्थानीय नागरिक समाजलाई सुसूचित गराउनु उचित हुने थियो । साथै विगतमा यस्तो कार्य भएको हो भने हाल भएका सुधारका कार्यहरूका बारेमा पनि जानकारी सार्वजनिक गरिनु सामयिक हुने थियो । विज्ञप्तिले भने बिपी प्रतिष्ठानमा हुने गलत कार्यहरूका सूचना लुकाइने प्रयास हुने सङ्केत दिएको छ ।   
प्रकाशित समाचारमा महालेखाको प्रतिवेदन उल्लेख गर्दै ‘प्रतिष्ठानमा रहेका १५ करोड १ लाख ९९ हजार बराबरका विभिन्न स्वास्थ्य उपकरण विभिन्न कारणले सञ्चालनमा रहेको पाइएन । जसबाट सेवा प्रवाहमा प्रभाव परेको छ । सम्झौता बमोजिमको गुणस्तरीय उपकरण आपूर्ति भएको छैन ।’ स्वास्थ्य सेवा प्रवाहका लागि खरिद भएका मेसिनरी उपकरणहरू उपयोग हुन नसकेका कारणले सम्बन्धित आपूर्तिकर्तालाई जिम्मेवार बनाउनुपर्ने उल्लेख भएको कुरा दिइएको छ ।
Bigyapti-from-Registrar---B