धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको इमर्जेन्सीमा बिरामी कुरुवाले पासको लागि  ५०० रुपैयाँ धरौटी राख्नुपर्ने विषयमा ‘कपुरी’ले समाचार प्रकाशित गरेपछि प्रतिष्ठानकी प्रवक्ता डा.अञ्जु प्रधानले प्रष्टीकरण दिएकी छन् ।  

'कपुरी'लाई इमेलमा प्राप्त प्रष्टीकरणमा प्रवक्ता प्रधानले धरौटीको पक्षमा तर्क गर्दै भनेकी छन् ‘दैनिक २ सय भन्दा बढी बिरामीहरू इमर्जेन्सीमा आउने गरेका छन् । बाहिरबाट आएका मानिसहरूले इमर्जेन्सीमा उपचारार्थ ल्याइएका बिरामीहरूलाई सङ्क्रमण हुने लगायत भिडभाडका कारण बिरामीलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधालाई सहज रूपमा पुर्‍याउन सहयोग पुग्नेछ ।’ 

प्रवक्ता प्रधानका अनुसार बिरामी लिएर आउने, आफन्त लगायत अन्य मानिसहरूको भिडलाई व्यवस्थापन गरी बिरामीलाई सहज रूपमा गुणस्तरीय एवं प्रभावकारी उपचार सेवा प्रदान गर्ने उद्देश्यले प्रतिष्ठानले एक जना बिरामीका लागि एक जना मात्र कुरुवा रहन पाउने व्यवस्था गरिएको छ । 

इमर्जेन्सीमा आएका बिरामीहरू सामान्य घाउ चोटपटक लगायत अङ्गभङ्ग लगायत अति संवेदनशील अवस्थाका समेत बिरामी आउने गरेकाले एक जना मात्र कुरुवाको व्यवस्थाले बिरामीलाई उपचारमा सहज हुने प्रतिष्ठानको विश्वास रहेको बताइएको छ । 

बिरामी कुरुवा पास बापत लिइने धरौटी बापतको रकम ५ सय बिरामी डिस्चार्ज भएपछि वा वार्डमा भर्ना भएपछि इमर्जेन्सी बिल काउन्टरबाट नै फिर्ता गरिने व्यवस्था मिलाइएको छ । कुरुवालाई उपलब्ध गराइएको भिजिटर पास कुरुवा परिवर्तनका लागि पनि प्रयोग गर्न सकिने छ । आर्थिक अवस्था कमजोर भएकाहरूका लागि निःशुल्कको समेत व्यवस्था मिलाइएको छ । 

नयाँ व्यवस्थाले इमर्जेन्सीमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरूलाई बिरामी उपचार सेवा पुर्‍याउन सहज भएको उल्लेख गर्दै बिरामीको अवस्था अनुसार एक जना भन्दा बढी कुरुवा बस्नु पर्ने भएमा इमर्जेन्सीमा कार्यरत चिकित्सकको सिफारिसमा कुरुवा पास उपलब्ध गराइने व्यवस्था समेत मिलाइएको छ ।

‘कपुरी’ले बिरामी कुरुवा पासको व्यवस्था उचित भएता पनि त्यस बापत ५०० रुपैयाँ अग्रिम धरौटी बुझाउनु पर्ने कुरामा सरोकारवालाहरूले गरेका गुनासोलाई प्रकाशमा ल्याएको हो । बिरामी कुरुवा पासकै लागि निजी अस्पतालहरूले त्यस्तो धरौटी लिने चलन नपाइएको समाचारमा उल्लेख छ । यस बारे सामाजिक सञ्जालमा पनि टिप्पणीहरू आइरहेका छन् ।

BP-Emergency-Notice