धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी कुर्नका लागि ५ सय रुपैयाँ धरौटी रकम जम्मा गरेर बिरामी कुरुवा पास लिनु पर्ने भएको छ। प्रतिष्ठानले यो नियम आइतबार देखी लागु गरेको हो । बिरामी कुर्न पनि रकम धरौटी राख्नु पर्ने यस्तो नियम अहिले सम्म प्राइभेट अस्पतालहरूमा पनि पाइन्न।
प्रतिष्ठानले गएको माघ १० गते जारी गरेको एक सूचनाको आधारमा आइतबार देखी ५०० रुपैयाँ अग्रिम शुल्कको नियम लागु गरेको हो । प्रतिष्ठानमा ओपिडीको टिकट काट्न नसक्ने विपन्न आर्थिक अवस्थाका बिरामीहरू पनि आउँछन् । औषधी किन्ने पैसा समेत नभएका बिरामीहरूको उपचारका लागि आएका कुरुवाहरू यो नियमले मर्कामा पर्नेछ ।
प्रतिष्ठानको सूचना अनुसार अस्पतालको इमर्जेन्सी वार्डमा अनावश्यक भिडभाड बढेकोले त्यसलाई न्यूनीकरण गर्न त्यहाँ कुरुवा पास अनिवार्य गर्ने नियम लागु गरिएका बुझिन्छ । सूचनामा भनिएको छ ‘प्रतिष्ठानको इमर्जेन्सीमा बिरामीहरू सँग आउने कुरुवाहरूको इमर्जेन्सी भित्र अनावश्यक भिडभाड हुँदा अस्पताल जस्तो संवेदनशील स्थानमा गुणस्तरीय एवं प्रभावकारी असर हुन्छ ।’ तसर्थ मिति २०७९/१०/१५ गते देखी लागु हुने गरी कुरुवा पास लिएका कुरुवाहरूलाई मात्र इमर्जेन्सीमा प्रवेश गर्न दिइने छ । 
उक्त कुरुवा पास बिरामीको नाम दर्ता गराउँदा रु.५०० धरौटी बापतको रकम गरी एक जना बिरामीको लागि एक मात्र कुरुवा पास उपलब्ध हुनेछ, भनी सूचनामा भनिएको छ ।
इमर्जेन्सीमा हुने भिडभाड न्यूनीकरणका लागि कुरुवा पासको नियम उचित भए पनि त्यसको लागि ५०० रुपया रकम अनिवार्य गरिनु भने अनुचित रहेको आम गुनासो पाइएको छ । टाढाबाट आएका बिरामीका विपन्न परिवारले यो थप आर्थिक बोझ धान्न सक्दैनन् । टाढाबाट ल्याइने इमर्जेन्सीका बिरामीको एक भन्दा बढी पारिवारिक सदस्यहरू साथै आएका हुन सक्छन् । उनीहरूलाई अस्पताल बाहिर खाने बस्नेकै समस्या हुनसक्ने भएकाले इमर्जेन्सीमा कुरुवा पास अनिवार्य गरिए पनि ५०० रुपया असुल गरिनु हुन्न भन्ने सरोकारवालाहरूको भनाई छ ।
BP-Emergency-Notice