चतरा : वराहक्षेत्र नगरपालिकाद्वारा सञ्चालित वराहक्षेत्र नगर अस्पतालको सेवा र प्रशासन व्यवस्थापनको रूप फेरिँदै गएको छ । कुनै समय जर्जर अवस्थामा रहेका अस्पतालमा हाल विभिन्न सेवाहरू थपिएका छन् । त्यस्तै व्यवस्थापन समितिले अस्पतालको नाममा रहेको आर्थिक दायित्व पनि घटाउँदै गइरहेको छ । 
२०७६ जेठ १३ गते स्थापना भएको उक्त नगर अस्पताल २०७९ सालको जेठसम्म आइपुग्दा लेखा परीक्षणको रिपोर्टका आधारमा करिब ५० लाख आर्थिक दायित्व र सेवाहरू समेत ठप्प हुने स्थितिमा पुगेको थियो । 
नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको अस्पताल व्यवस्थापनमा भएको लापरबाहीका कारण सेवाग्राहीहरूले सास्ती खेप्न बाध्य थिए । सेवाग्राहीहरूको चाप भएपनि व्यवस्थापनको कमजोरीका कारण जनशक्ति र सेवाहरू बिस्तार गर्न सकिएको थिएन । २०७९ सालमा आइपुग्दा अस्पतालले कर्मचारी, औषधी व्यवसायी र अन्य पक्षलाई दिनु पर्ने दायित्व रकम तिर्ने नसक्ने अवस्थामा पुगेको थियो । 
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात् नगर प्रमुखको जिम्मेवारी पाएका रमेश कार्कीले अस्पतालको व्यवस्थापन पक्षलाई प्राथमिकताका साथ राखेर काम सुरु गरेर । नगर अस्पतालको विधान अनुसार व्यवस्थापन समितिको अध्यक्ष नगर प्रमुख रहने व्यवस्था रहेको छ । नगर प्रमुख कार्कीले व्यवस्थापन समितिको अध्यक्ष पदको जिम्मेवारी लिए पछि अस्पतालको सेवा र प्रशासन व्यवस्थापनको रूप नै फेरिएको छ । 
हाल अस्पतालमा सेवाहरू थपिएका छन् भने व्यवस्थापन समितिले अस्पतालको नाममा रहेको आर्थिक दायित्व पनि घटाउँदै गइरहेको छ । अस्पतालका सहायक व्यवस्थापक दिवस विष्टका अनुसार नयाँ समितिले लेखा परीक्षण रिपोर्टका आधारमा ४० लाख रकम दायित्व भुक्तानी गरी सकिएको छ भने अब १० देखि १२ लाख दायित्व रकम रहेको र त्यसको पनि अध्ययन भइरहेको छ । हाल अस्पतालले मासिक करिब ८० देखि ९० लाख सम्मको कारोबार गर्ने र करिब १० लाख रकम नाफा गर्ने विष्टले बताए ।
हाल अस्पतालमा १ सय ७५ देखि २ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उपलब्ध हुँदै आएको ओपिडी सेवालाई बढाएर बिहान ७ बजेदेखि बेलुकाको ७ बजे सार्वजनिक बिदाको दिनमा समेत सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । 
हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ । 
२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, फिजोयोथेरापी सेवा, हप्तामा दुई दिन आइतबार र बुधवार आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भइरहेको छ । हाल अस्पतालमा ३ जना डाक्टर, २ जना एचए त्यस्तै अन्य स्वास्थ्यकर्मी र कर्मचारी गरेर ४१ जना जनशक्ति रहेको छ । 
हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन निर्माण भइरहेको र एमडिजिपि सहित विशेषज्ञ डाक्टर, डेन्टल लगाएका अन्य सेवा थप गर्ने योजना रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए । नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरेको र सम्पूर्ण  नगरवासीलाई स्वास्थ्यको पहुँच सम्म पुर्‍याउन लागि परेको उनले बताए । चक्रघट्टि, चतरा र मधुबनका अस्पतालमा सेवा बिस्तारदेखि सुर्यकुण्डमा स्वास्थ्यकर्मी उपलब्ध र भवनको निर्माणको काम, कोसिपारी स्वास्थ्यकर्मी र भवनको काम भइरहेको र सम्पूर्ण वडाहरूमा स्वास्थ्य संस्थाको स्तरवृद्बि र जनशक्ति व्यवस्थापनमा नगरपालिकाको योजना रहेको कार्कीले बताए।