धरान : प्रसिद्ध साहित्यकार तथा मुन्धुमविद् ८३ वर्षीय बैरागी काइँलाले आज धरानमा नागरिक अभिनन्दन गरिएकोमा प्रसन्नता व्यक्त गरेका छन् । आफूले नेपाली कविता साहित्य र मुन्धुममा गरेको सानो कामको ठुलो मल्यांकन गरी बाजागाजा सहित बजार परिक्रमा गराउनु बढी नै सम्मान पाएको अनुभव प्रकट गरे ।
अघि पछि नौमती बाजा, साकेला र च्याब्रुङ नाच सहित उनलाई गाडीको पछाडि खुल्ला राखेर साहित्यकार, बुद्धिजीवीहरूका अभिनन्दन यात्राले धरान बजार परिक्रमा गरेको थियो । धरान-१० स्थित सैनिक भवनमा पुगेर र्‍याली अभिनन्दन समारोहमा परिणत भएको थियो । श्रीमती देवकुमारी नेम्वाङ काइँलाका साथ थिइन् ।
समारोहमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैरागी काइँलालाई अभिनन्दन पत्र हस्तान्तरण गरे । नागरिक अभिनन्दन बेलायत स्थित नेपाली प्रतिभा प्रतिष्ठानले धरानमा गरेको हो । 
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति काइलाले अभिनन्दन ग्रहण गर्दै भने ‘साहित्यले सहिष्णुताको संस्कृति निर्माण गर्नमा भूमिका खेलेको हुन्छ ।’ साहित्यको समष्टिगत अर्थ सद्भाव, मित्रता र एक अर्काको भावना बुझ्ने, बुझाउने सिर्जना हो ।
सद्भावको अभावकै कारण विश्व युद्धहरू भएको बताउँदै उनले भने ‘आआफ्नो भाषा, संस्कृतिको विकाशमा सबैले स्वतन्त्र रूपमा लाग्न पाउनु पर्छ भनेरै आफू लिम्बु भाषा, संस्कृतिमा सानै भए पनि काम गर्न लागेको हुँ ।’ यसै गरी आदिवासी जातिका अगुवाहरूले आआफ्ना भाषा, संस्कृतिको विकासमा लाग्नु पर्ने उनले आग्रह गरे ।
नेपाली साहित्यमा तेस्रो आयाम मार्फत बौद्धिक तर्कको उठाएको बताउँदै उनले भने ‘बौद्धिक कुराले ज्ञान बढाउँछ ।’ मौखिक परम्परामा रहँदा मिसावट बढ्न लागेको लिम्बु मुन्धुमलाई सङ्कलन गरी शुद्ध मुन्धुमहरू लिखित रूपमा र नेपालीमा अनुवाद समेत गरी प्रकाशित गरेको बताउँदै भने ‘यी कामहरू ठुला हुन जस्तो मलाई लाग्दैन ।’
गीत गाएर सुनाउने सृष्टिको कथा भएकोले मुन्धुम फलाक्ने गायकलाई लिम्बु भाषामा ‘साम्बा’ र गीतलाई साम्लो भनिएको उल्लेख गर्दै ‘वेदहरूमा पनि सामवेद छ, साम भनेको गाउनु हो, गाएर सुनाउने वेद भएकोले सामवेद भनिएको हो ।’
समारोहमा काइँलाको योगदान बारे नेपाली साहित्यका समालोचक प्राध्यापक डा.गोविन्दराज भट्टराईले अभिनन्दन चर्चा गर्दै वैरागी काइँला नेपाली साहित्यका दिवङ्गत महाकवि सहित मूर्धन्य साहित्यकारहरूको लहरमा चर्चामा आएका कान्छो र जीवित साहित्यकार भएको बताए ।
पश्चिमी दुनियाँमा वैज्ञानिक बहस चलिरहेको बेला नेपाली साहित्यमा विज्ञानको अवधारण भित्र्याउँदै सुरु भएको तेस्रो आयामेली आन्दोलनका प्रमुख स्रष्टाका रूपमा वैरागी काइँलाको ख्याति स्थापित भएको डा.भट्टराईले उल्लेख गरे ।
पछिल्लो समय नेपाली साहित्यमा लिम्बु भाषा, संस्कृतिका मिथक, बिम्बहरू प्रयोग गरेर नेपालीत्वको नयाँ मान्यता स्थापना गर्ने प्रेरणा वैरागी काइँलाबाट नयाँ पुस्ताका कवि, साहित्यकारहरूले पाएको उनले बताए । 
डा.भट्टराईले भने ‘काइँलाका साहित्यले नेपाली साहित्यलाई विश्व साहित्य सम्म पुर्‍याउन सक्छ ।’ उनका अनुसार यसै प्रयासमा वैरागी काइँलाका कविता, साहित्य अङ्ग्रेजीमा अनुवाद गरी १५० पृष्ठको पुस्तक तयार गरिएको छ । प्रकाशकको टुङ्गो लाग्ने बित्तिकै उनको अङ्ग्रेजी सङ्ग्रह प्रकाशित हुनेछ ।
bairagee-kaila-abhinandan-2