धरान : नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति प्रसिद्ध साहित्यकार तथा मुन्धुमविद् बैरागी काइँलालाई धरानमा नागरिक अभिनन्दन गरिने भएको छ । अभिनन्दन बेलायत स्थित नेपाली प्रतिभा प्रतिष्ठानले गर्न लागेको हो । 
आउँदो चैत ४ गते महिला समूहको नौमती बाजा सहित सांस्कृतिक झाँकीका बिच काइँलालाई नगर परिक्रमा गराई धरान-१० स्थित सैनिक भवनमा अभिनन्दन समारोहमा अभिनन्दित गरिने प्रतिष्ठानका अध्यक्ष गणेश राईले बताए ।
राईका अनुसार वैरागी काइँलालाई नेपाली कविता एवं याक्थुङ मुन्धुमको खोज अन्वेषण, लेखन, अनुवादमा पुर्‍याएको अतुलनीय योगदान बापत नागरिक अभिनन्दन गर्ने निर्णय गरिएको हो । वैरागी काइँला नेपाली साहित्यमा तेस्रो आयामेली आन्दोलनका कविका रूपमा प्रसिद्ध छन् । उनका आयमेली कविताहरू 'वैरागी काइँलाका कविताहरू', 'अन्धा मान्छेहरू र हात्ती' कृतिमा प्रकाशित छन् ।
काइँलाले ‘फूल पात पतकर’, ‘तेस्रो आयाम’, ‘समकालीन साहित्य’, ‘जर्नल अफ लिम्बू लिटरेचर एन्ड कल्चर’, ‘राष्ट्रिय भाषाको कविता सँगालो’, ‘लिम्बू ग्रन्थ सूची’, ‘सयपत्री: लिम्बू लोककथा विशेषाङ्क’, ‘लिम्बू भाषा तथा साहित्य विचार’, लिम्बू–नेपाली-अङ्ग्रेजी शब्दकोश’, ‘किरात मिक्हन साम्लो’, ‘महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थको भजनमाला’,लगायतको सम्पादन गरेका छन् ।
काइँलाका मुन्धुम अध्ययन अनुसन्धानका कृतिहरू दर्जन बढी छन् । लिम्बू र नेपाली भाषामा ‘साप्पोःक् चोमेनः लिम्बू जातिमा कोखपूजा’, ‘साम्सोघा मुन्धुम : प्रेतात्माको आख्यान र अनुष्ठान’, ‘नाहेन् मुन्धुम : ईर्ष्या र आँखीडाहीको आख्यान र अनुष्ठान’, ‘ससिक् मुन्धुम : मोच मार्ने आख्यान र अनुष्ठान’, ‘तङ्सिङ तक्मा मुन्धुम : आख्यान र अनुष्ठान’ उनका महत्त्वपूर्ण कृतिहरू हुन् ।
यस्तै ‘चइःत् मुन्धुम: सृष्टिवर्णन’, ‘मुजिङ्नामा खेयङ्नामा मुन्धुम’, ‘नाम्सामि-केसामि मुन्धुम’, खाप्पुनामा मेल्लङ्हाङ्मा र लुप्लिनामा वदन्नामा मुन्धुम’, ‘पाजाइबा मुन्धुम’, ‘लाहादाङ्ना-सुहाम्फेबा मुन्धुम’ र ‘नवाकोइत् मुन्धुम’ गरी मुन्धुमका दर्जन कृति प्रकाशित छन् ।
उनको सह लेखनमा ‘लिम्बू व्याकरण: याक्थुङ् हुप्पाःन’ र ‘याक्थुङ् हुप्पाःनः लिम्बू व्याकरण’ पनि प्रकाशित छन् । वैरागी काइँलाले बुवा सुब्बा खड्गबहादुरले लेखेका ‘किरात मिक्हन साम्लो : किरात जागरण गीत’को नेपाली भाषामा अनुवाद पनि गरेका छन् ।
नेपाली साहित्यको उच्च सम्मान जगदम्बा श्री पुरस्कारबाट सम्मानित भैसकेका काइँला साझा पुरस्कार, गोरखा दक्षिण बाहु, रत्न-शोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार, राष्ट्रिय कला श्री सम्मान, आदिवासी गीति सम्मान, हरिहर शास्त्री-सावित्रीदेवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कारबाट समेत सम्मानित भएका छन् । 
सोही अवसरमा नेपाली प्रतिभा प्रतिष्ठानले सङ्गीत साधक, गायक दीप श्रेष्ठलाई नगद ५० हजार रुपैयाँको प्रतिभा सम्मान र चर्चित कवि सुदीप पाख्रिनलाई नगद १ लाख रुपैयाँको प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । समारोहमा झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा र उपत्यकाका करिब ३ सय साहित्यकारहरु जमघट हुने प्रतिष्ठानका उपाध्यक्ष टङ्क वनेमले बताए ।