धरान : आर्थिक वर्ष २०८०/०८१ को राष्ट्रिय बजेटमा धरानकालागि तत्काल आवश्यक योजना तथा बजेट विनियोजन गराउन ६ राजनीतिक दलका स्थानिय नेताहरू आज आइतबार बिहान सङ्घीय राजधानी काठमान्डु प्रस्थान गरेका छन् ।
प्रतिनिधि मण्डलमा सहभागी नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एमाले, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले प्रस्थान गर्न अघि प्रधानमन्त्री पुष्पकमल दाहाल सहित सम्बद्ध मन्त्रीहरूलाई माग गर्ने ३० वटा योजना तथा बजेटको सूचि सार्वजनिक गरे ।
सार्वजनिक गरिएका प्रस्तावहरूको पहिलो नम्बरमा धरानको खानेपानी समस्याको समाधानको विषय राखेका छन् । धरानको खानेपानी समस्या समाधान गर्न तत्काल १० वटा डिप बोरिङ पूर्वाधारका लागि ५ अर्ब माग गरिने छ । खानेपानी सहित धरानको दिर्घकालिन विकासको स्थायित्व लागि कोसी वा धरान-तमोर सुरुङ मार्गको खानेपानी आयोजनामा २० अर्ब रुपया बजे विनियोजन गर्न माग गरिने छ ।
यसैगरी धरान रङ्गशाला पूर्वाधार विकास, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट, प्यारापिट, बहुउद्देश्यीय कबर्ड हललाई ४० करोड, भक्तराज कन्दंवा क्रिकेट रङ्गशाला धरान-१५ निर्माण १० करोड,  सञ्चार ग्राम निर्माण धरान वराहक्षेत्र १० करोड रुपया बजेट माग गरिने छ ।
पिण्डेश्वर क्याम्पसलाई बहुभाषिक कलेजमा विकास गर्न धरान ५ करोड, कोशी नदी, वराहक्षेत्र, चतराधाम क्षेत्रमा तटबन्ध निर्माण १० करोड, धरान सहरी क्षेत्रको बिद्युत् प्रसारण लाइनलाई भूमिगत बनाउन २५ करोड माग गरिने छ ।
धरान-धनकुटा १३३ केभी प्रसारण हाइटेन्सन लाइनको एलाइन्मेन्ट परिवर्तन गरिने छ । मदन भण्डारी लोकमार्गको एलाईमेन्ट परिवर्तन गरी बस्ती छेउबाट लैजान माग गरिने छ । सर्दु खोला तटबन्धका लागि १० करोड र सेउती तटबन्ध धरान-रामधुनीका लागि १० करोड माग गरिने छ ।
सुनसरी खोला १० करोड, धरान-६ स्थित धरान औद्योगिक ग्राम पूर्वाधार विकासका लागि १० करोड, धरान-५ मा प्रादेशिक प्रदर्शनी केन्द्रका लागि १० करोड, धरान-१३ स्थित बिपी पार्कको गुरुयोजना बमोजिम निर्माण कार्य पुरा गर्न ८ करोड, धरान सभागृह स्थित नाटक घर निर्माण ५ करोड, सप्तरङ्गी पार्क पूर्वाधार विकासका लागि ५ करोड माग गरिने छ ।
चतरा वराहक्षेत्रको पूर्वाधार विकास कार्यक्रम २० करोड, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिर तथा ऐतिहासिक विजयपुर क्षेत्र, विष्णुपादुका मन्दिर क्षेत्रको संरक्षण तथा विकासका लागि १० करोड, धरान-१४ हात्तीसार स्थित बहुजातीय सङ्ग्रहालय निर्माणका लागि २० करोड माग गरिने छ । विजयपुर दरबार क्षेत्र संरक्षण १० करोड रुपया माग गरिने छ ।
दलित सङ्ग्रहालय निर्माण धरान-२० का लागि ५ करोड, अमाहा सिमसार, रासताल पर्यटन, भरौल वराहक्षेत्र नगरपालिकाका ३ करोड, धरान-मङ्गलवारे-विष्णुपादुका आहाने धनकुटा-तमोर कोरिडोर सम्म सडक निर्माण, धरान हरियाली इंचोल सडक धरान-१९ हरियाली देखि शङ्करबेली ईचोल सडक निर्माणका लागि १० करोड रुपया माग गरिने छ ।
तरहरा-कुमार-पाञ्चायन-तीनकुने सडक निर्माण १० करोड, चतरा मिलन चोक देखी सुर्यकुण्ड बरडाडा सडक ५ करोड, धरान मङ्गलवारे विष्णुपादुका आहाले धनकुटा तमोर कोरिडोर सम्म सडक निर्माण ५० करोड, चतरा मिलन चोक देखी सुर्यकुण्ड बरडाडा सडक ५ करोड माग गरिने छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक अवस्था हाल १ अर्ब २८ करोड ऋणात्मक रहेकोले  शिक्षक, कर्मचारीको वृत्ति: विकासका लागि थप ७५ करोड आवश्यक भएकोले सरकारबाट २ अर्ब ३ करोड अनुदान माग गरिने छ ।
प्रतिष्ठानको स्तरोन्नति, एमआरआई मेसिन खरिद, कार्डीयोलोजी र अंकोलोजी अस्पतालको काम रोकिएको काम अगाडी बढाउन, आइसियु र डायलिसिस सेवा विस्तार गर्न सहित १ अर्ब माग गरिने छ । धरान विमानस्थल जग्गा व्यवस्थापनको लागि २ अर्ब माग गरिने छ ।
धरान चिण्डेडाँडा सडक १० करोड, धरान-चतरा-त्रिवेणी टकसार भोजपुर सडक निर्माण ५० करोड रुपया, धरान क्षेत्रको कोशी राजमार्ग मापदण्ड, ट्राफिक कार्यालय भवन निर्माणको योजनाका प्रस्ताव सहितका योजना प्रतिनिधि मण्डलले प्रधानमन्त्री एवं सम्बद्ध मन्त्रीहरूलाई भेटेर बजेटमा समावेश गर्न माग गर्ने बताइएको छ ।