धरान : तिन दशक अघिका साहित्यिक गोष्ठीहरूमा कविता वाचन गर्न नछुट्ने गरेका त्यस बेलाका युवा कवि प्रदीपप्रसाद आचार्य लामो समय हराएपछि एकै साथ १०१ कविताको सँगालो ‘मनको बहाब’ लिएर सार्वजनिक भएका छन् ।

२०५० को दशकमा कविता गोष्ठीहरूमा कविता सुनाउने त्यस बेलाका युवा पुस्ताका प्रदीप आचार्य आशुकवि भएको ‘मनको बहाब’ कविता संग्रेहका समीक्षक साहित्यकार गिरिराज आचार्यले बताए । उक्त कविता संग्रह गएको शनिवार एक समारोह बिच भाषा विद प्राडा टंक न्यौपाने विमोचन गरेका हुन्  ।

युवा अवस्थामा कविता गोष्ठीहरूमा देखा परिरहने प्रदीप बिचमा हराएका थिए । पछिल्लो युवा पुस्ताले बिर्सिएका कवि आचार्य कविता संग्रहको विमोचन सहित धरानको साहित्यिक क्षेत्र पूनः सार्वजनिक भएका हुन् ।

‘मनको बहाब’मा संग्रहीत प्रदीपका कविताहरू मानवीय समवेदनालाई प्रभावित पार्दै आएको सामाजिक, राजनीतिक, नैतिक मूल्यका चिन्तनमा केन्द्रित पाइन्छन् । कविताहरूमा व्यंग्य, असन्तुष्टि, सुख र दुःखका आवेगहरू प्रकट भएका छन् ।

संग्रह विमोचनको अवसरमा समीक्षकहरूले उक्त धारणा प्रकट गरेका हुन् । समारोहमा साहित्यकार प्राडा. गोपालप्रसाद भण्डारी, गिरिराज आचार्य, हरिप्रसाद दाहाल र डा. महानन्द तिम्सिनाले समीक्षा गरेका थिए । कार्यक्रममा प्रदेश सभाकी सांसद यशोदा कायस्थ विशेष अतिथि थिइन् ।

प्रदीपप्रसाद आचार्य साहित्यिक श्रष्टाहरुको पारिवारीक पृष्टभूमिमा हुर्किएका कवि हुन् । उनका पिता स्वर्गीय कालीप्रसाद आचार्य स्वयं कवि थिए । उनले ८० वर्षको उमेरमा ‘मेरो फूलबारी’ कविता संग्रह प्रकाशित गरेका थिए ।

नेपाली साहित्यको इतिहासमा पहिलो नाटक लेखिका शुभद्रादेवी दंगाल धरानकै आचार्य परिवारकी चेली हुन् । उनले पहिलो नेपाली महिला नाटक लेखिकाको रूपमा ‘कलंकिनी’ नाटक प्रकाशीत गरेको गिरिराज आचार्यले बताए ।

विमोचन कार्यक्रम कौडिन्य आचार्य गोत्रीय समाजकी अध्यक्ष अम्बिका आचार्यको सभापतित्वमा भएको थियो । १०१ रुपया मूल्य रहेको ११४ पृष्टको कविता संग्रह समाजकी अध्यक्षले प्रकाशित गरेकी हुन् ।

विमोचनको अवसरमा डा. आनन्द आचार्य, डा. रमेश घिमिरे, डा. पशुपति चौधरी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, राजश्व कार्यालय प्रमुख गोविन्द आचार्य लगायत उपस्थित थिए । कार्यक्रम सञ्चालन बिष्णु बरालले गरेका थिए ।