धरान : अढाई महिना अघि धरानमा देखिएको डेङगुको प्रकोप नियन्त्रणमा नआएकै अवस्थामा भाइरल ज्वरोको महामारी फैलिएको छ ।

डेङगु सङ्क्रमणमा उचित उपचार नभए मानिसको मृत्यु पनि हुनसक्छ । भाइरल ज्वरो मौसमी महामारी भएकाले समयमा उपचार भए पीडित चाँडै निको हुन्छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता अनुसार डेङगु लामखुट्टेको टोकाइबाट फैलिएको हो । यस बेला अविरल वर्षातका कारण भाइरल ज्वरो (सिजनल ज्वरो) पनि फैलिएको छ ।

उनले भने ‘डेंङगुका बिरामी ह्वात्तै बढेको बेला धरानमा झन् प्रतिदिन हरेक घरमा २ जना बिरामीको सङ्ख्या बढेर समस्याले विकराल रूप लिएको छ ।’

डेङगु र भाइरल ज्वरोको भिन्नता र यसको लक्षण छुट्टिने बारेमा पीडितहरू अनभिज्ञ छन् । डेङगु लागेको हो होइन भनी निजी ल्याबहरूमा चेकजाँच गराउन जाँदा १५०० रुपैयाँ सम्म लिने गरेका पाइएको छ ।

धरान-१ का सुशील मास्केले भने ‘ज्वरो आएपछि डेङगु होकि भनेर जँचाउन प्राइभेट ल्याबमा गएको १५०० रुपैयाँ लाग्ने भने पछि मैले चेकजाँच गराइन् ।’

उनका अनुसार ३ दिन सिटामोल खाएपछि आफै निको भयो । उनले भने ‘मलाई डेङगो हो कि भाइरल ज्वरो लागेको हो छुट्याउन पाइन् ।’

सामाजिक सञ्जालमा स्थानिय सरकारको व्यापक आलोचन

महामारीको रूपमा फैलिएको बिरामीको रोकथामको कार्यमा स्थानिय सरकार धरान उपमहानगरपालिका असफल साबित भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचन गर्न थालिएको छ ।

नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोखरेलले मेयर हर्क साम्पाङको नाम उल्लेख नगरी लेखेका छन् ‘धरान अहिले डेङगुले आक्रान्त छ, गीत गाउँछ र फेक आइडीबाट गाली गर्न लगाउँछ भनेर सबै जना तैँ चुप मै चुप भएको अवस्था छन्।’

स्वास्थ्य महाशाखाका अनुसार भाइरल ज्वरो ‘मौसम अनुसार धेरै मानिसलाई एकै पटक देखा पर्ने तर जटिल प्रकारको रोग होइन ।’

भाइरल ज्वरोले सबैलाई असर गर्ने तर सिरियस रोग नभएकाले  चिकित्सकको सल्लाहमा उपचार गर्दा हुन्छ । उनले भने ‘भाइरल ज्वरोको स्पेसल उपचार हुँदैन सामान्य उपचार गर्दा हुन्छ ।’

धरानमा भाइरल ज्वरो र डेङगुको मुख्य कारण पानी जम्मा भएर बस्नु साथै घर घरमा खानेपानी खुला राखिनु महामारी फैलिनुको मुख्य कारण भएको उनको भनाई छ ।

व्यापार व्यवसायकालागि आवतजावत, भौगोलिक बनावटमा धरानमा जङ्गली एरिया बढी भएको सहर भएकाले लामखुट्टेको वृद्धि धेरै भएकाले लामखुट्टेबाट सङ्क्रमणको जोखिम रहेको महाशाखाका प्रमुख उमेश मेहताको भनाई छ ।

उनका अनुसार जनताको दबाबलाई जनप्रतिनिधीहरुले थाम्न नसकेको कारण नागरिकलाई सान्त्वना दिनका लागि मात्र फगिङ (धुवा उडाउने कार्य) सञ्चालन भएको भन्दै लामखुट्टे नष्ट गर्न फगिङको कुनै भूमिका नभएको मेहताले बताए ।

फगिङले दिर्घरोगीहरु दम रोगी, बालबालिका, गर्भवती महिला,चराचुरुङ्गी लगायतले प्रत्यक्ष असर गर्ने स्वास्थ्य शाखाको भनाई छ ।

स्वास्थ्य  शाखाको अनुसार प्रमुख र प्रभावकारी उपाय नै सर्च एण्ड डिस्ट्रोईड लार्भा खोजी गर्दै नष्ट गर्नु नै रहेको बताइएको छ । तर उपमहानगरपालिका, वडा कार्यालयहरूबाट उक्त अभियान चलाइएको छैन ।