धरान : इतिहास र संस्कृतिको शहर भनिदैं आएको धरानमा त्यही कुरासँग जोडिएको कला, साहित्य, रंगमञ्चीय गतिविधिका भौतिक पूर्वाधार भने शून्य छ ।

तिन वर्षअघि पहिलो पटक सुरु गरिएको ‘धरान नाटक घर’को योजना तिनै तहको सरकारबाट तिरस्कृत भएपछि तिने क्षेत्रका अगुवाहरू अहिले निराश भएका छन् ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत यसपालिको बजेटमा १ रुपैयाँ पनि त्यसको लागि विनियोजन गरेको छैन । प्रदेश र सङ्घीय सरकारलाई बजेटका लागि ध्यानाकर्षण गराउन यहाँका सांसदहरू निकम्मा साबित भएका छन् ।

धरानमा अन्तर्राष्ट्रिय स्तरको कला, साहित्य, रङ्गमञ्चका लागि सभागृह परिसरमा २०७७ सालमा नाटक घरको शिलान्यास तत्कालीन प्रतिनिधि सभा सांसद जयकुमार राईले गरेका थिए ।

तत्कालीन मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीले स्थानीय सरकारको आफ्नै योजना भएको बाँकी प्रदेश र सङ्घीय सरकारमा बजेटको लागि पहल गर्ने वचन दिएका थिए ।

निर्माण पहल समितिका संयोजक वरिष्ठ कलाकार प्रेम सुब्बा भन्छन् ‘तिनै तहको सरकारबाट उपेक्षित भएपछि अलपत्र परेको छ नाटक घर ।’

नाटक घरको जग बेस ढलाईको काम पनि ८० प्रतिशत मात्र सकिएको छ । यो डिपिआर अनुसार १० प्रतिशत सम्म हो । सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको लगानीमा निर्माण भएको थियो ।

गुरु योजनामा कला, साहित्य, रङ्गमञ्च सहित बहुउद्देश्यीय नाटक घरको कुल लागत ७ करोड रुपैयाँ रहेको निर्माण समितिका सहसचिव तथा आर्थिक विभाग प्रमुख नवीन मेन्याङवोले बताए ।

उनका अनुसार नाटक घर निर्माणका लागि आर्थिक वर्ष ०७७/७८ मा सङ्घीय र स्थानीय सरकारले  ४० लाख र १८ लाख रुपैयाँ बजेट छुट्यायो ।

दोस्रो पटक सङ्घीय सरकारले ११ लाख गरी जम्मा ६९ लाख रकम विनियोजन गरेको निर्माण समितिका सहसचिव मेन्याङवोले बताए ।

आर्थिक वर्ष ०७९/०८० सङ्घीय बजेटको रातो किताबमा नाटक घर समावेश त भयो बजेट १ रुपैयाँ पनि विनियोजन भएन । स्थानीय सरकार धरान उपमहानगरपालिकाले पनि बजेट विनियोजन गरेन ।

यसअघिको बजेटले जग उठाउने लगायत बेस ढलाई समेत गरी १० प्रतिशत काम मात्र सकिएको छ, त्यसयता भने नाटक घर निर्माणको काम अलपत्र रहेको उनले बताए ।

यसपालि धरानका मेयर हर्क सम्पाङले बजेट बनिरहेको समय गएको महिना ‘धरानमा कला, साहित्य, रङ्गमञ्चको लागि भवन नभएकोमा’ चिन्ता जनाउँदै पत्रकारहरुसंग केही गर्ने धारणा प्रकट गरेका थिए ।

तर स्थानीय सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेपछि बजेटमा १ रुपैयाँ पनि विनियोजन भएन । उनले चाहेको भए नाटक घरलाई बहुवर्षिय योजनामा पार्न सक्थे । बजेटमा नपरेपछि नाटक घर स्थानीय सरकारकै योजनामा पनि परेन ।

सङ्घीय सरकारको बजेटमा दुई पटक रकम विनियोजन भएको तर यसपालि नभएको उल्लेख्य गर्दै निर्माण समितिका आर्थिक प्रमुख मेन्याङबोले भने ‘कला संस्कृति र रङ्गमञ्चलाई हेर्ने दृष्टिकोण तिनै तहका सरकारमा बस्नेहरू सांसद मन्त्रीको नियत ठिक नभएकोले नाटक घरलाई बजेट विनियोजन नभएको हो ।’

उनले स्थानीय सरकारले नै उपेक्षित गरेकाले अन्तिम विकल्प स्वरूप मेयर हर्क साम्पाङ सँग एकचोटी अनुरोध गर्न जाने तयारी गरेको बताए । अनुरोध गर्दा पनि नभए धरान उपमहानगरपालिकालाई नै निर्माण कार्य जिम्मा दिने मनस्थितिमा पुगेको उनको भनाई छ ।

२०७७ मा धरान उपमहानगरपालिकाले धरान-८ स्थित सभागृहमा २ कट्ठा जग्गा उपलब्ध गराएपछि नाटक घर बनाउने योजना अघि बढेको थियो ।

प्राविधिक रूपमा सभागृहका लागि नयाँ भवन संरचना निर्माण गर्दा कुनै असर नपुग्ने गरी नाटक घर बनाउन उपयुक्त ठहर गरिएको थियो ।

उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सहित सरोकारवाला सबैसँगको पहलमा निर्माण सुरु भएको हो ।

Natak-Ghar-1