धरान : लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले धरानमा नाटक घर निर्माण तथा चलचित्र विकासको लागि तयार गरिएको १५ बुद्धे प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेका छन् ।
धरान नाटक घर निर्माण उपभोक्ता समिति तथा चलचित्र महासङ्घ, प्रदेश १ को संयुक्त आयोजनामा आइतबार गठबन्धनले प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेको हो । प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्दै मेयरका प्रत्याशी किशोर राईले –‘कला, संस्कृति, साहित्य धरानको गहना हो, यसको विकासको लागि निर्माणाधीन नाटक घर सांस्कृतिक संरचना भएकोले प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेका हौ भने ।’ उनले प्रतिज्ञा पत्रमा उल्लेख बुँदाहरू गठबन्धनका तर्फबाट पालना गर्ने बताए । उनले स्थानीय सरकारले नाटकलाई प्राथमिकतामा राखेर प्रत्येक वडामा नाटक घर बनाउन सकिने कुरामा जोड दिए ।
यसै गरी, उपमेयरका प्रत्याशी आइन्द्र विक्रम बेघाले प्रतिज्ञा पत्रमा उल्लेखित सबै बुँदाहरू धरानको कला संस्कृति तथा साहित्यको जगेर्ना गर्ने खालको भएकोले
कला, साहित्य र संस्कृतिको विकासमा राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर काम गर्ने बताए । उनले भने–धरानको विकास हुने कुरामा हाम्रो कुनै आपत्ति हुँदैन बरु सहयोग गरेर जान्छौँ ।’ कार्यक्रमको अध्यक्षता नाटक घर निर्माण समितिका अध्यक्ष प्रेम सुब्बाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष गोपाल देवानले राखेको थिए । कार्यक्रमको सञ्चालन सचिव अरुण प्रधानले गरेका थिए ।


































































