धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको छुट्टै डेङगु क्लिनिकमा परीक्षण गर्न आएका बिरामीहरू मध्ये ७९ दशमलव ३५ प्रतिशतमा डेङगुको सङ्क्रमण देखिएको छ ।

धरानमा डेङगुको सङ्क्रमण अनियन्त्रित हुनका साथै भाइरल ज्वरोको महामारी पनि बढेपछि प्रतिष्ठानले शुक्रवार देखी छुट्टै आपत्कालीन डेङगु क्लिनिक सञ्चालन गरेको छ ।

प्रतिष्ठानका सह-प्रवक्ता डा.चुणामणी पोखरेलका अनुसार क्लिनिक सुरु भएको असार २९ देखि ३१ गतेसम्म १२१ जनाको परीक्षण गरिएकोमा ९६ जना अर्थात् ७९ दशमलव ३५ प्रतिशतमा डेङगु सङ्क्रमण देखिएको हो ।

परीक्षण गरिएकामा बालक देखि वृद्धसम्म सबै उमेर समूहका बिरामीहरू छन् । केही गर्भवती महिलाहरू पनि छन् । परीक्षण गराउन आउनेहरूको आधारमा धरान वडा १५, १७ र ११ का बढी सङ्क्रमित देखिएको छ ।

प्रतिष्ठानको जनरल ओपिडी भवन अगाडि टेन्ट लगाएर छुट्टै डेङगु क्लिनिक सञ्चालन गरिएको हो । क्लिनिकमा बिरामीहरूको निःशुल्क परीक्षण गरिन्छ ।

क्लिनिक आइतबार देखि शुक्रवारसम्म  बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिवार बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालनमा रहने प्रतिष्ठानले जनाएको छ ।

क्लिनिक प्रतिष्ठान र धरान उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको हो । प्रतिष्ठान अनुसार उपमहानगरपालिकाले ५ सय थान डेङगु परीक्षण किट उपलब्ध गराएको छ । परीक्षणका लागि आएका बिरामीहरूले टेन्ट, कुर्सी दिएका हुन् ।

प्रतिष्ठानबाट क्लिनिक सञ्चालनका लागि आवश्यक जनशक्ति चिकित्सक, नर्स, पारामेडिक्स लगायत उपलब्ध गराइएको छ ।

डेङगु जँचाउन बिरामीले ओपिडी टिकट लिई क्लिनिकमा जानुपर्ने व्यवस्था गरिएको छ । क्लिनिकमा र्यापीड किटमा डेङगुको परीक्षण गरिन्छ । यो प्रविधिमा बिरामीलाई डेङगु भए नभएको तुरुन्तै पत्ता लाग्ने प्रतिष्ठानले जनाएको छ ।

परीक्षणबाट डेंगु सङ्क्रमित देखिएमा अन्य आवश्यक परीक्षणका लागि प्रतिष्ठानको ल्याबमा पठाइने व्यवस्था छ । घातक हुनसक्ने लक्षणहरू देखिए तत्काल इमर्जेन्सीमा उपचार गरिने व्यवस्था छ ।

घातक लक्षणहरूमा रक्तचापमा कमी, मुटुको धड्कन बढेको गिजा तथा शरीरमा आएका डाबरहरुबाट रक्तस्राव हुनु, छिनछिनमा वान्ता हुनु, पेट दुख्नु आदि भएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परीक्षणबाट डेंगु देखिएका तर स्वाभाविक लक्षणहरू मात्र देखिएका बिरामीलाई परामर्श दिई घर पठाउने वा अवस्था हेरि प्रतिष्ठानमै उपचार गरिने व्यवस्था गरिएको छ ।

डेङगुको स्वाभाविक लक्षणहरूमा उच्च ज्वरो, शरीर तथा हाडजोर्नीहरुको दुखाई, वाकवाकी, पखाला, कमजोरी, शरीरमा डाबर देखापर्ने गरेको बताइएको छ ।

धरानमा महामारीको रूपमा फैलिएको डेंङगुको परीक्षण ५ सय थान किट पर्याप्त नहुने भएकाले थप किटका लागि उपमहानगरपालिका, प्रदेश स्वास्थ्य मन्त्रालय, सङ्घीय स्वास्थ्य मन्त्रालयमा पहल गरिएको छ ।

तत्काल उपमहानगरपालिकाबाट थप २ सय थान र सङ्घीय स्वास्थ्य मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँबाट २ हजार थान परीक्षण किट उपलब्ध गराउने आश्वासन पाएको वक्तव्यमा उल्लेख छ ।