धरान : बिमा बोर्डले वीपी प्रतिष्ठानलाई रेफरल सेन्टर अस्पताल कायम गरेपछि स्वास्थ्य विमामा आबद्ध धरानवासीका लागि प्रथम सेवा विन्दुको रूपमा वीपी अब १ महिना ८ दिन मात्र रहने छ ।
असोज मसान्त पछि स्वास्थ्य बिमा गरेका बिरामीहरूले सिधै वीपीमा प्रवेश पाउने छैनन्, उनीहरूले वीपी बाहेकका स्वास्थ्य केन्द्र, अस्पतालको रेफर लिएर जानु पर्नेछ । धरानमा वैकल्पिक व्यवस्था नभए रेफर लिन इटहरी, वराहक्षेत्र, इनरुवा पुग्नुपर्ने अवस्था आउन सक्छ ।
वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले धरानमा वैकल्पिक व्यवस्था नभए सम्म अवधि बढाउन बिमा बोर्डसँग आग्रह गर्दा असोज मसान्त भन्दा अवधि नबढाउने जवाफ दिएको बताएका छन् । यसअघि साउन देखी नै प्रथम सेवा बिन्दु हट्ने निर्णय धरानको सर्वदलीय प्रयासबाट असोज सम्म थपिएको थियो ।
उपकुलपतिमा नियुक्त भएपछि पहिलो पटक आज आइतबार धरानका सञ्चारकर्मीहरूसँग अनौपचारिक भेटघाटमा उनले भने ‘रेफरका लागि धरानको कुनै स्वास्थ्य चौकीलाई स्तर वृद्धि गरेर प्रथम सेवा केन्द्र बनाउन बिमा बोर्डले सुझाव दिएको छ ।’ रेफरका लागि स्तर वृद्धि गरिने धरान उपमहानगरपालिकाको स्वास्थ्य केन्द्रलाई प्रतिष्ठानले प्राविधिक सहयोग गर्न उनले बताए ।
वीपी प्रथम सेवा विन्दुबाट हटेपछि धरानमा नगर अस्पताल चाहिन्छ भन्ने कुराले धरान अस्पतालमा नगर अस्पताल बन्नु पर्ने माग भइरहेको कुरा सहमति जनाउँदै उपकुलपति श्रेष्ठले भने ‘धरानमा नगर अस्पताल आवश्यक छ ।’
आसरा सुधार केन्द्रको भवन निर्माणको उदाहरण दिँदै तिनै तहको सरकार, स्थानीय नागरिक समाजको साझेदारीमा पुरानो अस्पतालमा धरान अस्पतालमा नगर अस्पताल निर्माण र सञ्चालन गर्न वीपी प्रतिष्ठान तयार रहेको बताए । नगर अस्पतालको निर्माण अघि जग्गाको स्वामित्वको छलफल गर्न नसकिने उपकुलपति श्रेष्ठको भनाई छ ।
उनले भने ‘वीपी प्रतिष्ठान धरानको हो, नगर अस्पताल धरानकै हुन्छ, सबै कुरा धरान र धरानेको भएपछि स्वामित्वको विवाद किन ?’ मन्त्री परिषद्को निर्णयबाट पुरानो अस्पतालको जग्गा वीपीको स्वामित्वमा आएकोले मन्त्री परिषद्को निर्णयमा जे पनि हुनसक्ने भएकाले स्वामित्वको कुरा उपकुलपति तथा प्रतिष्ठानसँग नजोड्न उपकुलपति श्रेष्ठको आग्रह थियो ।
उनले स्वास्थ्य बिमा गरेका बिरामीहरूका सहजताका लागि धरानमा स्वास्थ्य केन्द्र स्तर वृद्धि गर्न आवश्यक छलफल गर्न स्थानीय सरकार धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ सँग चाँडै भेट गर्ने बताए । छलफलमा नगर अस्पतालको मोडालिटीका बारेमा पनि कुरा हुने उपकुलपतिको भनाई थियो ।
उपकुलपति कार्यालयको बैठक कक्षमा भएको भेटघाटमा उनले वीपी प्रतिष्ठानमा सुधारको सुरुआत सरसफाइबाट गर्ने उल्लेख गर्दै वीपी अस्पताललाई सिंगापुरको अस्पताल जस्तो सफा बनाउने आफ्नो इच्छा रहेको बताए ।
प्रा.डा श्रेष्ठले भने ‘सघन उपचार कक्ष अगाडि सुन्तला खाएर बोक्रा फाल्ने र प्रतिष्ठान हाताभित्र फोहोर व्यवस्थापन सुधार गर्न पनि काम थालिएको छ ।’ प्रतिष्ठान परिसर वरपर फोहोर गरे जरिवानाको व्यवस्था गरिने नियम तर्जुमा गरिने उनको भनाई छ ।
उपकुलपति श्रेष्ठले भने ‘प्रतिष्ठानको समग्र सुधारका लागि सुझाव समिति बनाएका छौँ, यही आधारमा कमीकमजोरी पहिचान गरी सुधार अघि बढाउँछौ ।’ उनले सबै सरोकारवालाहरू सञ्चारकर्मी, नागरिक समाजसँग छलफल नियमित गरिने बताउँदै भने ‘सञ्चारकर्मीहरूको सहयोग र निगरानीले प्रतिष्ठान सुधारको अभियानमा टेवा पुर्याउने विश्वास लिएको छु ।’
भेटघाटमा उपकुलपति नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै प्रा.डा श्रेष्ठलाई पत्रकार महासङ्घका सभापति सन्तोष काफ्ले, वरिष्ठ पत्रकार हर्ष सुब्बा, जनकऋषि राई, महेश श्रेष्ठ, विकास चाम्लिङ राई, रोहित राई कुलुङ लगायतले खादा लगाई दिएका थिए ।