इटहरी : जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीले इटहरीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत सङ्कलन गरेको जानकारी दिएको छ।
कार्यक्रमका प्रमुख अतिथिको रूपमा इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं.६ का वडाध्यक्ष दिवस पोख्रेल रहेका थिए। उद्घाटन सत्रमा उनले रक्तदान अत्यन्तै महत्त्वपूर्ण सामाजिक कार्य भएको उल्लेख गर्दै यस्तो अभियानमा निरन्तर सहभागिताका लागि सबैलाई आह्वान गरे।
विशिष्ट अतिथिमा रेडक्रस सोसाइटी इटहरी शाखाका सभापति दिनेश भट्टराई, राष्ट्रिय जागृति क्लबका कोषाध्यक्ष अनुरोध थापा, देशबन्धु कार्की, रबिन गौतम तथा कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समितिका सहसंयोजक कृष्ण शाह सहभागी थिए। त्यस्तै अन्य अतिथिहरूमध्ये व्यवसायी मणिन्द्र कटुवाल, उमनाथ दाहाल, नेपाली काँग्रेस इटहरी नगर सचिव विक्रम घिमिरे, प्रेम राजगिरी, रविन अधिकारी, रमेश श्रेष्ठ तथा पत्रकार ध्रुव ढकाल, दीपक कार्की, अर्जुन सुवेदीलगायत उपस्थित रहेका थिए।
कार्यक्रमका संयोजक केशव गिरीले बिहानैदेखि रक्तदानमा सक्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष धन्यवाद ज्ञापन गरे। उनले प्रमुख सल्लाहकार अनुरोध थापाको सक्रियतामा कार्यक्रम सभ्य र भव्य बनेको भन्दै कृतज्ञता प्रकट गरे।
नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक टोलीले रक्त सङ्कलन कार्य सम्पन्न गरेको थियो। सो अवसरमा बिरामीका आफन्तहरू अस्पतालको पुर्जी बोकेर आवश्यकता रगतका लागि समेत कार्यक्रम स्थल पुगेका थिए।
रक्तदान कार्यक्रममा विभिन्न सङ्घ-संस्था, उद्योग-व्यवसाय, युवा व्यवसायी तथा पत्रकारहरूले पनि उपस्थित भएर रक्तदान गरेका थिए।
सङ्घका अध्यक्ष तेजबहादुर पुरीले सहकार्य र सहभागिताका लागि सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि पर्यटनसँगै सामाजिक सेवामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।