धरान : अघिल्ला वर्ष झैँ धरान-२ माछाभौडी स्थित बिरोज ताम्राकारको घरमा बिहीबार मानिसको भीड थियो । यसपालि पनि भीड लाग्नुका कारण त्यहाँबाट १० वर्षीय एक बालक लाखे बनेर निस्कने तयारी भइरहेको थियो ।
नाग पञ्चमीका दिनदेखि कृष्ण जन्माष्टमीसम्म हरेक वर्ष उनको घरमा भीड लाग्छ । ताम्राकार झिगु लाखे समूहका सचिव हुन् । नाग पञ्चमीको चौथो दिन साँझ ६ बजे लाखे निकाल्नु पर्ने भएकाले त्यसको हतार थियो । तयारीको भ्याइनभ्याइ बिच सबैको आकर्षणको केन्द्र विन्दुमा थिए दिप्सन ताम्राकार ।
१० वर्षीय दिप्सनको साहस र इच्छाशक्तिले भरिएको अनुहार देखेर जोकोही एक छिन अडिएर हेर्थे । कक्षा ४ मा पढ्ने दिप्सन दिनभर स्कुलमा अध्ययन गरेर आएर साँझ लाखेको पहिरन लगाएर नाच्न निस्किने तयारीमा थिए ।
बच्चा पनि लाखे नाच्छन् र ? भन्ने धेरैलाई लाग्न सक्छ । तर १० वर्षीय दिप्सन उमेरले सानो भएपनि उनको लाखे नाच तुलनात्मक रूपमा ठुला लाखे सरह छ । चन्चले उमेर भएपनि नाच परिपक्व छ । लाखे नाचका लागि उमेर हद वा कुनै मापदण्ड तोकिएको छैन ।
तर संस्कृति विपरीत कार्य गर्न भने मनाही छ । लाखे नाच नेवार समुदायको सांस्कृतिक परम्परा भएतापनि अहिले अन्य जातिका मानिसहरू पनि लाखे नाच्ने गरेका छन् । झिगु लाखे समूहका सचिव बिरोज भन्छन् ‘नेवार समुदाय बाहिरका मानिसहरूको लाखे नाचले हाम्रो संस्कृतिको प्रवर्धन भएको महसुस हुन्छ र गर्व लाग्छ ।’
तर, लाखे नाचको नाममा विकृति, विसङगती बढ्दै गएको, लाखेको नाममा पैसा उठाउने क्रियाकलाप बढ्न थालेपछि नेवा: देय् दबू धरान उपमहानगर समितिमा दर्ता भएर सूचीकृत भएका लाखे समूहले मात्रै लाखे नाच देखाउन पाउने नियम कार्यान्वयन भएको सचिव ताम्राकारले बताए ।
दिप्सनको अनुभव
दिप्सनले नाग पञ्चमीको चौथो दिनसम्म आइपुग्दा चौथो पटक लाखे नाच्दै थिए । पहिलो नाच सम्झिँदै उनी भन्छन् ‘पहिलेदेखि नै मलाई लाखे बन्ने रहर थियो । पोहोर लाखे बन्नै पाइन तर यो वर्ष ठुलो बाबाहरूले लाखेको मुकुट बनाइदिनु भयो । दादाहरू लाखे नाचेको देखेर मैले आफैँ नाच्न सिकेको थिए, यसपालि मेरो चाहना पुरा भयो ।’
पहिलो पटक लाखेको पहिरन लगाएर नाच्दा कुनै समस्या भएन, भोलिपल्ट भने उनी थला परे । उनले भने ‘पहिलो दिन निकै उत्साह थियो, धरान बजार मज्जाले घुमे, दुई घण्टासम्म खाली खुट्टा नाच्दा म त भोलिपल्ट उठ्नै सकिनँ ।’ तर हजुरआमाले हौसला दिएकाले ऊर्जा आएको उनले सुनाए ।
दिप्सनले ५ वर्षको हुँदा पहिलो पटक लाखे नाचेको देखेका थिए । लाखेको नजिक जान निकै डर लाग्थ्यो । तर लुकिलुकी लाखेको नाच हेर्ने गर्थे । अनि घरमा नक्कल गर्थे । हजुरआमासँग लाखेको कथा सुन्थे । यसरी उनमा लाखे नाच्ने रहर झन् बढ्दै गयो ।
उनले १० वर्षकै उमेरमा मनको रहर पूरा गर्ने मौका पाए । परिवार सदस्यहरू पनि लाखे बनेका कारण उनमा लाखे बन्ने इच्छाशक्ति बलियो थियो । सानै उमेरमा गह्रौँ मुकुट, बाजाको तालमा ताल मिलाएर नाच्नुपर्ने चुनौती भएपनि उनले कुशलतापूर्वक लाखे नाचेर देखाए ।
उनको अबोध मस्तिष्कमा कहिल्यै ‘गाह्रो छ, सक्दिन होला’ भन्ने लागेन । दिप्सनकी हजुरआमा लक्ष्मीमाया ताम्राकारले भनिन् ‘खै, अरू बच्चाहरू रहर मात्र गर्छन्, मौका पाउँदा नरभस हुन्छ, मेरो नातिको इच्छाशक्तिले नै उसको रहर पूरा भएको हो ।’
लाखे र लाखेको पहिरन
‘म मानव होइन, म दानव पनि होइन, म मानव हुन नसकेको दानव हुँ । म दानव हुन नसकेको मानव हुँ, म लाखे हुँ ।’ यो लाखेको भनाइ हो । अर्थात् सारा सृष्टिमा एउटै मात्र स्वरूप भएको कोही छैन भनिएको हो । मान्छे राम्रो र नराम्रोको मिश्रण हो । असल र खराबको मिश्रण हो । हरेक व्यक्तिभित्र मानव र दानव दुवै हुन्छ र यही सन्देश लाखेको मुखुण्डोले दिने संस्कृतिविद्हरूको भनाई छ ।
सेतै फुलेको कपाल र रगतभन्दा रातो मुख । रातो मुखमा निक्खर काला ठुलठुला आँखाका नानीहरू र आँ गरेको मुख । दाँतको माथिल्लो लहरमा बाघको झैँ दुइटा धारिला दाह्रा र पहेँला कानमा कुण्डल । आँखीभौँ घना झाडीझैँ बाक्लो र निधारमा शिवको तेस्रो नेत्र जस्तै टिलिक्क टल्केको त्रिशूल ।
लाखेले रातो वस्त्र लगाएको हुन्छ । माथि बुट्टेदार रातो जामा, तल सादा रातो सुरुवाल । जामाको अगाडि भागमा ठ्याक्कै छातीमाथि पहेँलो रङको षट्कोण । कम्मरमा रातो पेटी लगाएको हुन्छ जसमा चाँदीका बुट्टा कुँदिएका हुन्छन् । पेटीको तल्लो किनारमा घुंघलाहरू झुन्डिएका हुन्छन् ।
लाखेको दुवै हातको नाडीमा रातो कपडा बेरिएको हुन्छ । उसले हात हल्लाउँदै नाच्दा त्यो रातो कपडा लडाइँमा सेनाको ध्वजाझैँ हावामा लहराउँछ ।