इटहरी : कोशी प्रदेशमा राजनीतिक स्थिरताको लागि ठुला दलहरूले गठबन्धनको नयाँ अभ्यास सुरु गर्न प्रयत्न गरिरहेका छन् । हाल नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन सरकार गठनमै असफल भएपछि नयाँ विकल्पबारे बहस सुरु भएको हो ।

बारम्बार सरकार गिराउने र बनाउने खेलले प्रदेशको आर्थिक तथा राजनीतिक अस्थिरता चुलिएको छ । सोही बिचमा सङ्घीय संसद् अन्तरगत विकाश तथा प्रविधि समितिको सभापति पाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी सरकारमा सहभागी हुने आङ्कलन गरिएको हो । राप्रपाले हालको गठबन्धनलाई सहयोग गर्ने अनुमान गरिएको थियो ।

त्यही बिचमा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार लिङदेनले  कोशीको सरकारमा राप्रपाले काँग्रेसलाई सहयोग नगर्ने प्रस्ट पारेका छन् । विदेश भ्रमण सकेर नेपाल फर्किएका उनले  कोशी प्रदेशमा सभामुख र मन्त्री लिएर सरकारमा जाने कुरा गर्नु हाँस्यास्पद भएको बताए ।

हाल रहेको गठबन्धनलाई सहयोग गर्ने अध्याय सकिएको बताउँदै लिङ्देनले मुख्यमन्त्री पाउने अवस्था आए पनि आफूहरूले त्यतातर्फ ध्यान नदिएको प्रस्ट पारे ।  कोशी प्रदेशका राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले पनि वर्तमान सरकारमा सहभागी हुन नसक्ने धारणा राखिसकेका छन् ।

हाल काँग्रेस नेतृत्वको गठबन्धनमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी छन् । चार दलीय गठबन्धनमा बहुमत अर्थात् ४७ सांसद भए पनि सभा सञ्चालन गर्ने सभाध्यक्षको अभावमा बहुमत पुग्न सकेको छैन । नेकपा एमाले राप्रपा गठबन्धनमा ४६ सांसद छन् ।

सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधार २ अनुसार सरकार गठन गर्न आदेश दिएपछि काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री दाबी गरेका थिए । थापाले विश्वासको मत लिने बेला धारा १८६ लाई उल्लङ्घन गरेको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

संविधान अनुसार सभाध्यक्षले बराबर मत भएको अवस्थामा मात्र मतदान गर्न पाउने व्यवस्था भएपनि बहुमत पुर्‍याउन सभाध्यक्ष इस्राइल मन्सुरीले मतदान गरेका थिए । अदालतको आदेशले दोस्रो पटक कामचलाउ बनेको सरकारको पक्षमा फैसला नआउने भएपछि नयाँ सरकार गठनको लागि दलहरू लागि परेका छन् ।

राप्रपा फकाउन गठबन्धनले समिति सभापतिमा सघाएको भएपनि राप्रपाले त्यसलाई अस्वीकार गरेको छ । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५० बढी सांसदको समर्थनमा  कोशी प्रदेश सरकार गठन गर्ने दाबी गरेका छन् ।

हाल एमाले राप्रपा बाहेक जनता समाजवादीको १ मत भएपनि एमालेको नेतृत्वमा प्रदेश सरकार गठन हुन्छ । तर ओलीले सङ्केत गर्ने खोजेको दल नेकपा एस देखिएको छ । नेकपा एस सँग ४ सांसद छन् । राप्रपा र एमालेको गठबन्धनमा नेकपा एसलाई सहभागी गराएर सरकार बनाउने ओलीको रणनीति छ ।

ओली नेकपा एसका नेताहरूलाई रिझाउन लागिपरेका छन् । सोमबार ओलीले फेसबुक पेजमा माधव नेपाल सहितको फोटो सेयर गरेका छन् । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकको मन्द मुस्कान सहितका तिन वटै तस्बिरमा माधव नेपाल देखिन्छन् ।

प्रदेश सरकारमा नेकपा एसको साथ लिने मात्र हैन केन्द्रीय गठबन्धनमा हलचल हुने गरी ओलीले गतिविधि अगाडी बढाएका छन् । ओलीले मात्र हैन नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल पनि प्रदेश सरकारमा एमालेसँग मिल्न सकिने धारणा राख्छन् । सोमबार बिबिसी नेपाली सेवाको साँझपखमा कुरा गर्दै खनालले  कोशी प्रदेशमा ओलीको नेतृत्व नभएकाले एमालेसँग मिल्न सकिने बताए ।

नेपाली काँग्रेस नव उदारवादी पार्टी रहेको बताउँदै उनले वामपन्थीहरू एक हुनुपर्ने धारणा राखे । केन्द्रीय गठबन्धनले संविधान रक्षा गर्न नसकेको बताउँदै उनले एमाले प्रति नरम भाव व्यक्त गरे । सङ्घीयतामा प्रदेश र केन्द्रमा फरक फरक गठबन्धन हुनसक्ने सङ्केत गरे ।

नेकपा एसका नेता राजेन्द्र कुमार राईले एमालेसँग मिल्ने सम्भावना नरहेको बताएका छन् । केन्द्रीय समीकरण फेरबदल भए नेकपा एस एमाले नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना छ । राई सहभागी भएको गठबन्धनमा राप्रपा वा एमालेले सभा सञ्चालन नगरे बहुमत पुर्‍याउन समस्या छ । एमाले सहितको गठबन्धनमा नेकपा एस सहभागी भए प्रदेशको मुख्यमन्त्रीमा पुनः हिक्मत कुमार कार्की बहाल रहने सम्भावना देखिएको छ ।